हाम्रो सामाजिक धरातल परिवेशले विविध रुपमा प्रेमको विश्लेषण गरेको पाइन्छ । तथापि प्रेम दैविदेन भएको हुँदा यो सबैमा निहीत नभए पनि सबैका लागि ग्राह्य छ । जन्मनु संयोग र मृत्यु अवस्यम्भावी भए जस्तै प्रेमको प्रकृति पनि स्वभाविक र अपरिहार्य छ । प्रेम नै सफलताको आधार हो । यसलाई सबैले अपनाउनै पर्छ । प्रेमको सान्दर्भिकता आदिकालदेखि अहिलेसम्म नै अटल छ । तर स्वार्थी प्रेम स्थायी हुन सक्दैन । निस्वार्थ प्रेमका पूर्वयुगीन कथाहरु पनि अमर छन् ।
प्रेम एक व्यक्ति र अर्को व्यक्तिबीच मात्र होइन एक देश र अर्को देशबीच पनि हुन्छ । तर देश र दलहरु बीचको प्रेम परिस्थिति जन्य हुन्छ । आआफ्नै स्वार्थमा अढेको हुन्छ । त्यसैले यो अस्थायी हुन्छ । स्वार्थ बाझिने बित्तिकै तासको घर झंै ढल्छ । नउठ्न पनि सक्छ । प्रेम, प्रेमि र प्रेमिकाबीच मात्र हुँदैन । तर, अहिलेको युवा जमात त्यसैलाई मात्र प्रेम ठान्ने गर्छ । टिनएजरहरुमा प्रेमको परिभाषा गलत छ । गौतम बुद्धको प्रेम महात्मागान्धीको प्रेम, साईबाबाको प्रेमभावले हिंसाको सेखी झारेको छ ।
हिंसाले प्रश्रय पाइरहेको वर्तमान संसारमा प्रेमलाई उदार र जनकल्याणकारी अस्त्रको रुपमा सबैले प्रयोग गर्नु पर्छ । प्रेमास्त्र अचुक छ । यो सधैं सफल छ । मातापिताले आफ्ना सन्तानप्रति राखेको प्रेमभाव सन्तानले मातापिताप्रति राखेको प्रेमभाव र इष्टमित्र र आफ्नो नातागोता बीचको प्रेम भावको अलग्गै महत्व छ । सम्पर्कले स्नेह बढाउँछ र स्नेहले आत्मियता बढाउँछ ।
स्नेहको स्रोत सम्पर्क हो । त्यसैले सम्पर्क नगरे स्नेह नाश हुन्छ । स्नेह बिना प्रेम भाव पनि रहन्न । नाता रगतको मात्र हुँदैन । कतिपय पराय व्यक्तिसँग पनि स्नेह र आत्मियता हुन्छ । कति रगतको सम्बन्ध पनि औपचारिक मात्र देखिन जान्छ । प्रेम जहाँ पनि हुन्छ । जोसँग पनि हुन्छ । तथापि कतिपयले महिला र पुरुषबीचको आत्मीयतालाई मात्र प्रेमको रुपमा व्याख्या गरेका छन् । तर प्रेम त्यतिमा मात्र सिमित छैन । प्रेम उदार छ, व्यापक छ, सर्वग्राहय छ । प्रसिद्ध मनोविज्ञ फ्रायडले काम वासनालाई नै महिला र पुरुष बीचको आकर्षणको तत्व मानेका छन् । यस भनाईमा मत मतान्तर भएपनि धेरैले फ्रायडको उक्त भनाइलाई स्वीकारेका छन् ।
तर पनि विपरीत लिङ्गी बीचको आकर्षण कामवासना मात्र हो भन्नु ठिक होइन । प्रसिद्ध कथाकार विशेश्वर प्रसाद कोइरालाका केही कथाहरु पनि फ्रायड दर्शनबाट प्रभावित देखिन्छ । तथापि बी.पी.कोइरालाको कथाहरु भित्रको मनोवैज्ञानिकता नौलो र मौलिक छन् । यसरी विपरित लिङ्गी बीचको आकर्षण र स्नेहलाई काम वासनाकै आधारमा मूल्याङ्कन गर्नेहरुमध्ये आचार्य रजनीश पनि हुन् । रजनीसको विचारले एकताका संसारभरि नै तहल्का मच्चाएको थियो । उनको मरणोपरान्त पनि उनका अनुयायीहरुले रजनीशको प्रेम दर्शनलाई ओशो दर्शनको रुपमा डोहो¥याई रहेका छन् । त्यस्तै महात्मा गान्धीले पनि खराब मान्छेलाई सुधार्ने मुख्य औषधि प्रेम र स्नेहलाई नै मानेका छन् ।
त्यसैले यी सबै धारणाहरुलाई बेग्ला बेग्दै कसौटीमा घोटेर प्रेमको बास्तविकता बोध गर्नु सर्वथा उचित हुन्छ । हुन त निस्वार्थ प्रेमको चर्चा गर्दा एउटा कुरा मनन योग्य छ । अध्यात्म दर्शनले छोरा छोरीप्रति आमाले गरेको माया प्रेमलाई मात्र निस्वार्थ ठानेको छ । बाँकी सबै माया प्रीति स्वार्थरहित छैनन् । आमाको माया झल्काउने लोककथा यस्तो छ । एउटा प्रेमीले आफ्नी प्रेमिकाको ईच्छा पूरा गर्न आफ्नी आमालाई मारेर आमाको मुटु प्रेमिकालाई उपहार दिन हिंडेछ । बाटोमा ठेस लागेर पछारिएछ ।
उसैबेला उसले हातमा बोकी राखेको उसकी आमाको मुटुबाट आवाज निस्केछ ( बाबु तँलाई त केही भएन ? यो कथाले आमाको सन्तान प्रतिको माया प्रष्ट पारेको छ । साथै अन्धो प्रेमीलाई झापड पनि दिएको छ । केही वर्ष यता नेपालमा पनि १४ फेब्रुअरीलाई विदेशमा झै प्रेम दिवसको रुपमा धेरै युवा युवतीहरु, प्रेमी प्रेमिकाहरुले मनाउने गरेको पाइन्छ । तर, यस्ता गतिविधिहरुले अनुशासनहिनता बढाएर विकृतिको रुप लिँदा समाजमा कुसंस्कार बस्न जाने त्रास पनि उत्तिकै छ ।
प्रेम दिवस मनाउने नाममा दोबाटोमा बसेर चुम्बन लिने दिने गरेको पनि देखिन्छ । यसले आउने पिँढीलाई दिशाबोध गर्न सक्दैन । कतिपय केटाकेटीहरु विद्यालयको पोसाकमै प्रेमालापमा देखिन्छन् । तर, विद्यालय छाडेर दोबाटोकै चौतारामा बसी प्रेम सब्दकै उपहास गरिरहेको दृश्य बाध्यतावश हेर्नु पनि एउटा नियति नै भैसकेको छ । पाश्चात्य मुलुकहरु जस्तै आर्थिक रुपमा विकसित भै सकेपछि यस्ता दृश्यहरु नेपालीहरुका लागि सहज हुन्छन् ।
किनभने यस्ता गतिविधिहरु आर्थिक र सामाजिक विकासको चरमोत्कर्ष रुप हुन् । प्रेमलाई पवित्र राख्न सकियो भने मात्र यसबाट सही परिणाम निस्कन्छ । यसो भएमा प्रेमको नाममा कसैले पनि आफ्नो अमूल्य जीवनलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पु¥याउनु र दुष्परिणाम भोग्नु पर्दैन । हुन त आधुनिक संसारमा यस्ता धेरै रोचक प्रेम प्रसङ्गहरु पाइन्छन् । नोबल पुरस्कार विजेता प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले लेखेका थुप्रै प्रेम पत्रहरु न्यूयोर्क सिटिमा नौ लाख डलरमा लिलाम भए ।
हिटलर सत्तामा आएपछि यहुदी भएका कारण आइन्स्टाइनले जर्मन छाडेर भाग्नुप¥यो । पछि स्वीजरल्याण्डको युरिच पोलिटेक्निकल इस्टिच्युटमामा पढ्दै गर्दा अल्वर्टको सम्पर्क बोस्नियाई छात्रा मिलेबासँग भएकाले दुवैजना बीच प्रेम बढ्दै जान्छ । यो प्रेम विवाह बन्धनमा बाँधिएर पनि अन्त्यमा सम्बन्ध विच्छेदको अवस्थामा पुग्छ । यतिसम्म हुन्छ अल्वर्टले मिलेवासँग प्रस्ताव राख्दै भन्छन् । मिलेवा तिमी मसँग सम्बन्ध विच्छेद गर । बरु मैले पाएको नोबल पुरस्कारको सबै रकम तिमीलाई दिन्छु । आखिर यस्तो अवस्था कसरी सिर्जना हुन्छ ? प्रेम घृणामा परिणत किन र कसरी हुन्छ ? कसैले पनि चित्तबुझदो जवाफ दिन सक्दैनन् ।
प्रख्यात व्यक्तिहरुको प्रेम प्रसंग मध्ये रविन्द्रनाथ ठाकुर र अन्ना पछि ठाकुरले अन्नाको नाम नलिनी राख्छन् । ठाकुरको विवाह नलिनीसँग नभएर मृणालिनीसँग हुन्छ । तर, रविन्द्रनाथले नलिनीसँगको प्रेमलाई अमर प्रेमको संज्ञा दिएका छन् । त्यस्तै प्रेमगाथा वाईरन र डफ, प्रसिद्ध जर्मन कवि गेटे र चार्लो पोमा, पूर्व राष्ट्रपति आइजन हावर र समर्सवि रुसी साम्राज्ञी केथरिन र सर्जियस साल्टिकोफ, बाबर आशा आदि पनि चर्चित छन् तथापि प्रेमको रहस्य कसैले पनि उजागर गर्न सकेको छैन । लियोनार्डो दा भिन्चिले आफ्नो कल्पनामा उतारेको प्रेमिकाको चित्र मोनालिषा संसार प्रसिद्ध भयो । त्यस्तै मुसोलिनी र पेट्रेसियाको प्रेम कथा पनि उल्लेखनीय छ ।
फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट र जोसेफिनको प्रेम पनि अत्यन्तै गहिरो छ । तर, प्रेमिकाले धोका दिएर छाडेपछि नेपोलियनको विवाह अष्ट्रियाकी राजकुमारी मेरी लुइससँग हुन्छ । तथापि नेपोलियनले मर्नुअघि फ्रान्स र जोसेफिन यी दुई शब्द मात्र उच्चारण गरेर मरेका छन् । त्यस्तै, भारतमा मुमताज र शाहजहाँको प्रेमकथा पनि अमर छ । जसले आफ्नी प्रेमिकाको सम्झनामा ताजमहल खडा गरे । महाकवी तुलसी दासले पनि प्रेमिकाकै कारण महाकवि बनेको प्रसङ्ग उल्लेख गरेका छन् । प्रेमलाई आत्मियता र मित्रताको बन्धनले बाँधी राखे मात्र प्रेम अमर हुन्छ ।
प्रेमलाई स्वार्थभन्दा माथि राख्नुपर्छ । प्रेम सबैले गर्छन । तर यसको स्वरुप फरक हुन्छ । कवि महानन्द सापकोटाले पनि प्रेम र पूजा जस्तो जानिन्छ उस्तै गरिन्छ भनेका छन् । इशुले चेतनालाई प्रेमको आधार मानेका छन् । पैगम्बर महम्मदले प्रेम बिनाको धर्मलाई सपनाको महल भनेका छन् । बुद्धले प्रेमलाई शक्ति र भक्ति दुवै मानेका छन् ।
शिव प्रेमका सर्वश्रेष्ठ प्रतीक हुन् । उनले भनेका छन् ( शक्तिशाली बन्न प्रेम चाहिन्छ । यथार्थमा प्रेम नै शक्तिको प्रतिक हो र प्रेम नै शान्तिको प्रतिक हो । प्रेम नै सृष्टिको प्रतीक हो । प्रेम नै विजयको प्रतीक हो । प्रेम नै समाधानको प्रतिक हो । युग परिवर्तन हुन्छ । ऋतु परिवर्तन हुन्छ । काल परिवर्तन हुन्छ ।
तथापि प्रेम अहिलेसम्म जस्ताको तस्तै छ । प्रेमलाई व्यवसाय बनाउन खोजियो भने प्रेम घृणामा परिणत हुन्छ । यति हुँदा हुँदै पनि प्रेमको रहस्य अझै कसैले बुझ्न सकेको छैन । तसर्थ, प्रेमको व्यापकतालाई बुझी सोही अनुरुप व्यवहार गरी प्रेमलाई अमर राखौं र, सच्चा प्रेमलाई व्यवहारमा उतारेर जीवन सफल पारौं ।