इटहरी/ इटहरी अस्पतालमा निःशुल्क पाइने औषधि अभाव छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि इटहरीमा अभाव भएको हो ।

इटहरीमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको अस्पतालले जनाएको छ ।

सरकारले ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाए पनि इटहरी अस्पतालमा अहिले अधिकांश औषधि छैनन् । इटहरीको एकमात्र सरकारी अस्पतालमा औषधि अभाव हुँदा यहाँ आउने बिरामीहरू मारमा परेका छन् । अस्पतालमा अधिकांश औषधि नहुँदा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।

इटहरी अस्पतालका डाक्टर मनिषकुमार शर्माले अस्पतालमा निःशुल्क औषधि अभाव हुँदा समस्या पाएको बताए । अहिले सिटामोलसम्म छैन, जीवनजल प्यारासिटामोललगायत केही औषधि छन् । तर अधिकांश औषधि नहुँदा भने सेवाग्राही मारमा परेको स्वीकार गरे । औषधि अभावको कुरा आफूहरूले माथिल्लो निकायसम्म पु¥याएको बताउँदै भने १५ दिनपछि औषधि आउन सक्छ । अहिले अस्पतालले २० लाख बराबरको औषधि किन्ने टेण्डर आह्वान गरिएको बताए ।

आल्मुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधि केही मात्रै स्टक रहेको छ । भिटामिन बी कम्प्लेक्स, जीवन जल, जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ । मौज्दात नरहे पनि औषधिको हाहाकारको अवस्था भने नरहेको अस्पताल प्रशासनले जनाएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधिसमेत बिरामीहरू निजी औषधि पसलबाट किनेर खान बाध्य भएका छन् । यसअघि पनि इटहरीमा पटक–पटक औषधि अभाव हुँदै आएको छ ।

इटहरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी–९ का वडाध्यक्ष भूपेन्द्र बरालले अस्पतालमा औषधि अभाव भएको स्वीकारे । केही वर्षयता अस्पताल सुधारमा आफूहरू लागिपरेको उनले बताए । नेपाल सरकारकै कारण इटहरीमा औषधि अभाव भएको उनको भनाइ थियो ।

डाक्टर पनि अभाव
इटहरी अस्पतालमा अहिले बिरामीको चाप बढे पनि डाक्टर अभाव हुन पुगेको छ । इटहरी उपमहानगरपालिकाभित्रका १९ वटै वडाका बिरामी आउने अस्पतालमा अहिले डाक्टर अभाव छ ।

डाक्टर अभाव हुँदा एकजना डाक्टरले विभिन्न प्रकारका करिब १ सय ५० बिरामीलाई हेर्नु परेको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीको उल्लेखनीय सङ्ख्यामा वृद्धि भइरहेको कारण डाक्टर कम भएको अस्पतालका डाक्टर मनिषकुमार शर्माले बताए ।

अस्पतालमा डाक्टर अभावको कारण समस्या भएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष तथा अस्पताल समितिका सदस्य भीम पौडेलले बताए । ‘अहिले बिरामी बढेका छन्, तर डाक्टरको चरम अभाव छ’–उनले भने ।

अहिले ३ जना डाक्टरको भरमा अस्पताल चल्दै आएको अस्पतालले जनाएको छ । डेण्टलसम्बन्धी उपचारसमेत अस्पतालले शुरु गरेको जनाएको छ ।

अस्पतालमा सेवाग्राही बढ्दै
दुईवर्ष अगाडिसम्म सुनसान हुने अस्पतालमा अहिले सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । केहीवर्ष अगाडिसम्म बिरामीको चाप कम रहेको अस्पतालमा अहिले भीडभाड बढ्न थालेको हो । अस्पतालको सेवा पहिलाको भन्दा राम्रो हुँदै गएको सर्वसाधारणले बताउन थालेका छन् ।

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा शुरु भएसँगै सर्वसाधारणको चाप बढेको असपतालले जनाएको छ । अहिले सरदर दैनिक २ देखि ३ सयसम्म बिरामीहरू अस्पतालमा आउने गरेको अस्पतालका डाक्टर शर्माले बताए ।

२०२४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गतेदेखि इटहरी अस्पतालमा रूपान्तरण भएको हो । १५ शøयाको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेण्टरसहित ५० शøयाको अस्पताल बनाउने इटहरी उपमहानगरले लक्ष्य लिएको जनाएको छ ।