विराटनगर   / प्रदेश १ सरकारको लगानीमा निर्माण भइरहेको घिनाघाट–विराटचौक चार लेनको सडक आयोजनाको अनुगमन तथा निरीक्षण मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।
प्रदेशको राजधानी जोडिने वैकल्पिक सडकको रूपमा रहेको उक्त सडकको अनुगमन तथा निरीक्षण मुख्यमन्त्री राईले शुक्रबार गरेका हुन् । राईले गत भदौमा उक्त सडकको शिलान्यास गरेका थिए ।
१ अर्ब ४० करोडको लगानीमा २२ दशमलव १५९ किलोमिटर लम्बाइको सडक २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । सडक कालोपत्रेका लागि आवश्यक नाला निर्माण र माटो फिलिङको काम धमाधम भइरहेका बेला आयोजना निर्माण पक्षले केही विषय सहजीकरण गरिदिनुपर्ने आग्रह गर्दै मुख्यमन्त्री राईलाई स्थलगत निरीक्षणका लागि आग्रह गरेको थियो । मुख्यमन्त्री राईले सडक योजना निर्माणका लागि आवश्यक पर्ने सहजीकरण सरकार र सम्बन्धित स्थानीय तहले गरिदिने बताए । उनले घिनाघाट–विराटचौक सडक तोकिएको अवधिमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
भौतिक पूर्वाधार राज्यमन्त्रीसहित सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्य एवम् उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीलाई समेत साथमा लिएर मुख्यमन्त्री राईले सडक निर्माणको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए ।
उनले निर्माणका क्रममा कुनैपनि त्रुटि र तोकिएको मापदण्ड विपरीत काम भए–नभएको कुरालाई आफूले कुनै न कुनै रूपमा निगरानी गरिरहेको बताए । उनले सडक निर्माणमा कमजोरी पाइए कारबाही गर्ने पनि बताए ।
सडक निर्माणका क्रममा विद्युत्का पोल सार्ने, खानेपानी पाइपलाइन व्यवस्थापन, रुख कटान, हरैंचामा रहेको कालीमन्दिर व्यवस्थापन, तेतरियामा कल्भर्ट निर्माणसहित बेलेपुर चौक उत्तर–दक्षिण चार किलोमिटर नाला निर्माणको काम थपिएको छ । जम्मा दूरीको सडकलाई तीनवटा प्याकेजमा विभाजन गरेर काम अगाडि बढिरहेको पूर्वाधार कार्यालयका सिनियर डिभिजन इञ्जिनियर सुशील श्रेष्ठले जानकारी दिए ।
ठेकेदार कम्पनी श्रेष्ठ रमन एपेक्स जेभीले फिलिङ सेक्सनमा ड्रेन परेको, बक्स कल्भर्ट र ह्युम पाइपको माग धेरै भएको, सिंचाइ नरहको व्यवस्थापन, वर्षाको पानी निकास, फण्डेसनमा कालो माटो रहेका कारण आरसीसी र स्टीलको परिमाण बढी आएको भन्दै दश प्रतिशत बजेट (भेरिएसन) थप गर्नुपर्ने माग अगाडि सारेको छ ।
पहिलो चरणमा १०–१० किलोमिटरमा विभाजन गरी निर्माणको काम भइरहेको सडक आयोजनाभित्र चारवटा पुल निर्माणसहित २.१९५ किलोमिटर दूरीका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेको इञ्जिनियर श्रेष्ठले बताए । उनका अनुसार सिङ्घिया, बाङ्गे, नेता चौक र हरैंचामा चारवटा पुल निर्माण गर्नु पर्नेछ ।
चार लेनमा विस्तार गरिने सडकलाई बस्ती क्षेत्रमा ६४ मिटर र बस्ती नभएको क्षेत्रमा ५६ मिटरमा सीमाक्षेत्र कायम गरी मध्यभागबाट दुवैतर्फ ३५–३५ फिट कालोपत्रे गरिनेछ । हालसम्म माटो फिलिङ र नाला निर्माणको काम ८० प्रतिशत सकिएको तथा कल्भर्टको कामहरू ५० प्रतिशत सम्पन्न भइसकेको दाबी गरिएको छ ।
समग्रमा भौतिक प्रगति ३९ प्रतिशत र वित्तीय प्रगति ३०.५ प्रतिशत भइसकेको इञ्जिनियर श्रेष्ठले जानकारी दिए । सडक निर्माणको काम सम्पन्न भएसँगै प्रदेश राजधानी विराटनगरसँग झापासहित पूर्वी पहाडी जिल्लाका बासिन्दाको आउने–जाने मुख्य मार्गको रूपमा प्रयोगमा आउने विश्वास राखिएको छ ।