भण्टाबारी/ कोशी गाउँपालिका–१ लौकहीस्थित मुसहर बस्तीकी सोनुदेवी सदा उमेरका हिसाबले कापी, किताब बोकेर विद्यालय जाँदै गरेको हुनुुपर्ने हो तर उनी १७ वर्षको उमेरमा डेढ वर्र्षीया बच्चाकी आमा बनिसकेकी छन् । १४ वर्षकै कलिलो उमेरमा विहे गरेकी उनको काखमा सानी छोरी छिन् भने पेटमा ८ महिनाको गर्भ ।

सोही मुसहर बस्तीकी अन्नदी देवी ऋषिदेव १६ वर्षकी भइन् । १३ वर्षकै उमेरमा विहे गरेकी उनीसँग हाल २ वर्षीय छोरा छन् । अन्नदीका श्रीमान् विकास ऋषिदेव दुई वर्षदेखि वैदेशिक रोजगारमा छन् । त्यसैगरी लौकही मुसहर बस्तीकै केली सदा १८ वर्षकै उमेरमा डेढ वर्र्षीया छोरी र एक महिने छोराकी आमा बनिसकेकी छन् । उनको पनि ४ वर्षअघि १३ वर्षकै उमेरमा विहे भएको हो । सोनुदेवी, अन्नदी र केली सदा केही प्रतिनिधिपात्र मात्र हुन् ।

कोशी गाउँपालिका मात्र होइन, सुनसरी जिल्लाकै दलित बस्तीको अवस्था यस्तै छ । सरकारले विवाह गर्न महिलालाई कम्तीमा २० वर्ष पुग्नुपर्ने कानून बनाए पनि ग्रामीण भेगमा बसोबास गर्ने दलित समुदायले १२ देखि १५ वर्षकै उमेरमा विवाह गरिदिने गरेका छन् । जिल्लाको इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिकामा रहेका दलित समुदायले कक्षा ६, ७ र ८ पढ्ने उमेरमै छोरीको विहे गरिदिने गरेका हुन् ।

सुनसरीको ग्रामीण क्षेत्रमा रहेका सदा, ऋषिदेव र मुखिया बस्तीमा अहिले बालविवाह गर्ने र किशोरी हुनासाथ सुत्केरी हुनेको कमी छैन । आफूले पढाएका धेरै विद्यार्थी किशोरी अवस्थामै आमा बनेको कोशी मावि हरिपुरका शिक्षक चित्रनारायण पाठक बताउँछन् । दलित अभिभावकले छोरीलाई जसोतसो कक्षा ८ सम्म विद्यालय पढाए पनि त्यसपछि अधिकांशको विहे गरिदिने गरेका छन् । ५ कक्षादेखि ७ कक्षासम्म दलित समुदायका बालिका अध्ययन गर्न आए पनि त्यसपछि धेरै नआउने गरेको शिक्षक पाठकले बताए ।

‘हाम्रोतिर यस्तै चलन छ’ १७ वर्षीया केलीले भनिन्, ‘प्रायःजसो सबैले विद्यालय पढ्दापढ्दै मागीविवाह गर्छन् ।’ कलिलो उमेरमै विवाह गरेपछि सन्तान जन्माउने, घरपरिवार चलाउने र दैनिक हातमुख जोर्नकै लागि जीवन व्यतीत गर्ने गरेका छन् उनीहरू । जीवनको भाग्यरेखा कोर्ने उमेरमै विवाह गरिदिँदा आमासँगै बच्चाको समेत शारीरिक अवस्था निकै कमजोर हुन्छ ।

दलित बस्तीमा परम्परागत चलनका कारण बालविवाह हुने गरेको कोशी गाउँपालिका वडानम्बर १ की दलित महिला सदस्य परासीदेवी सदा बताउँछिन् । अर्कोतर्फ दुर्गममा आएर कसैले कानूनी ज्ञान नदिने र कानून मिच्नेलाई समेत कारबाही नहुने गरेकोले बालविवाह यथावत् रहेको स्थानीय बुद्धिजीवीको भनाइ छ । यद्यपि २–३ वर्ष पहिलाको तुलनामा अहिले अवस्थामा सुधार आएको वडासदस्य परासीले दाबी गरिन् ।

स्थानीय तहले विभिन्न समयमा गर्दै आएको बालविवाह विरुद्धको चेतनामूलक कार्यक्रमले पहिलेको तुलनामा सुधार आएको उनको भनाइ छ । बालविवाह न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्दै आए पनि समस्या समाधान गर्न स्थानीय सरकारलाई चुनौती रहेको कोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार साहको कथन छ ।

दलित समुदायमा सानै उमेरमा विहे गर्नु प्रमुख कारण हो, गरिबी । अभिभावकले छोरीको विहे गरिदिएपश्चात् व्ययभार कम हुने ठान्दै कलिलैमा जिम्मेवारी पूरा गर्ने चलन दलित समुदायमा यथावत् छ । दलित समुदाय गरिबीका कारण कम उमेरमै विवाह गरिदिँदै आए पनि पछिल्लो समयमा उल्लेख्य मात्रामा बालविवाहमा सुधार आएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले दाबी गरे ।

स्थानीय तहले गरेको चेतनामूलक कार्यक्रमहरूले दलित समुदायमा समेत कम उमेरमा विहे गरिनुहुन्न भन्ने चेतनाको विकास भएकोले बालविवाहमा सुधार आए पनि शून्य अवस्था भने हुन नसकेको उनले बताए । उमेर नपुगेको जोडीको विवाह दर्ता नगर्न प्रत्येक वडामा आफूले निर्देशन दिएको अध्यक्ष अन्सारीको भनाइ छ ।