सङ्खुवासभा/ आधारभूततहमा अनिवार्य कम्प्युटर शिक्षा पढाइ भए पनि विद्यार्थीले कम्प्यटर चिन्दैनन् । नक्सामा कम्म्प्युटर हेरेर अध्ययन–अध्यापन भइरहेको कम्प्युटर शिक्षाले गुणस्तरीयता पाएको छैन ।

कक्षा ६ देखि ८ कक्षासम्म पढाइ भए पनि कम्प्युटर ल्याबको अभाव र दक्ष शिक्षक अभावका कारण विद्यार्थीहरूले कम्प्युटर चिन्नै सकेका छैनन् । विद्यार्थीहरूले ३ वर्षमा एक पटक पनि कम्प्युटर छुनसमेत पाइरहेका छैनन् । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. २ को बालायाम्दाङ माविमा चार वर्ष अगाडिदेखि ६ देखि ८ कक्षासम्म अनिवार्य कम्प्युटर शिक्षाअध्यपन शुरु भएको थियो । हालसम्म ५ वटा ब्याचले कक्षा आठ उत्तीर्ण गरिसकेका छन् ।

ती चारैवटा व्याचले कम्प्युटर चलाउन त के छुनसमेत पाएका छैनन् । एउटा किताबका आधारमा परीक्षा लेखे, सबै पास भए । कम्प्युटर सिक्ने रहर धेरै भए पनि छुनसमेत नपाएको पहिलो ब्याचका विद्यार्थी लिहाङ मेवाहाङले बताए । उनले कम्प्युटर नभएका कारण लगातार तीन वर्ष अनिवार्य कम्प्युटर अध्ययन गर्दा एकै पटक छुन नपाएको बताए ।

अर्कोतिर शिक्षकहरूमा समेत कम्प्युटरको व्यावहारिक ज्ञानको अभाव छ । कम्प्युटर ल्याब नभएकाले यस्तो समस्या भएको बालायाम्दाङ माविका प्रधानाध्यापक कर्णबहादुर कुलुङले बताए । कम्प्युटरको व्यावहारिक ज्ञान आवश्यक रहेको तथा विद्यालयको स्रोत नभएकाले ल्याब निर्माण नसकेको हो चाँडै कम्प्युटर ल्याबनिर्माण गरी गुणस्तरीय कक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्रोस मेवाहाङले बताए ।

उनकाअनुसार स्थानीय सरकार तथा अन्य स्रोतबाट कम्प्युटर ल्याबको स्थापना गर्ने पहल भइरहेको छ । दक्ष कम्प्युटर शिक्षकको अभाव रहेको समेत उनले स्वीकारे । आगमी दिनमा दक्ष कम्प्युटर शिक्षकको व्यवस्था गरी व्यवस्थित र गुणस्तरीय कक्षा सञ्चालन गरिने अध्यक्ष मेवाहाङले बताए । हाल विद्यालयमा कार्यालयीय प्रयोजनका लागि २ वटा डेस्कटप र २ वटा ल्यापटप मात्र छ ।

विद्युत् अभावले ल्याब सञ्चालन अवरुद्ध
सङ्खुवासभाको मकालु गाउँपालिका–२ सेदुवाको हिमाद्रि माध्यमिक विद्यालयमा विद्युत् सेवा नहँुदा कम्प्युटरल्याब सञ्चालन अवरुद्ध रहेको छ । आधारभूततहमा अनिवार्य र मावि तहमा ऐच्छिक विषयका रूपमा अध्ययन गर्नुपर्ने कम्प्युटर शिक्षा अधुरै भएको छ । विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि प्रसस्त ल्यापटप भए पनि सदुपयोग हुन सकेको छैन । हिमाद्रि माविमा कम्प्युटर कक्षा सञ्चालनका निमित्त ३० वटा ल्यापटप र दुईवटा डेक्सटप भए पनिदक्ष शिक्षक र विधुत् लाइन नहुँदा त्यसै थन्किएको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार राईले बताए ।

कम्प्युटर कक्षा सञ्चालनका लागि दक्ष शिक्षक र विद्युत् लाइन नहुँदा सदुपयोग हुन नसकेको प्रअ राईले बताए । विद्यालयमा कम्प्युटर विषय पढाइ हुने भए पनि प्रयोगात्मक अभ्यासका लागि दक्ष शिक्षक नहँुदा त्यस्तै थन्किएको विद्यार्थीको गुनासो छ । दक्ष शिक्षक नहुदाँ हामीलाई खोल्न र बन्द गर्न मात्र सिकाइने गरेको कक्षा ९ मा अध्ययरत छात्र दीपेन्द्र राईले गुनासो गरे ।

विषयशिक्षक र विद्युत् लाईन नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा प्रभावकारी नभएको विद्यार्थीले बताए । प्रयोगात्मक विषय शिक्षकले पढाउने मात्र गर्दा पढ्नै गाह्रो हुने गरेको विद्यार्थीले गुनोसो गरे । दक्ष शिक्षक नहुँदा प्रयोगात्मक विषयलाई सैद्धान्तिक रूपमा मात्र पढाइ हुँदा सिकाइ शुन्य रहेको दीपेन्द्रको भनाइ छ । विद्यालयमा कम्प्युटर विषय राखिएको भए पनि प्रयोगात्मक नहुँदा किताबको भरमा मात्र पढ्नुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।

सोलरपावरको भरमा चल्ने भएका कारण उच्च हिमाली क्षेत्रमा धेरै समय घाम नलाग्ने हँुदा ल्यापटपमा पनि चार्ज हुन समस्या भएको विद्यालयका प्रअ राईले बताए । पानी परेको समयमा चार्ज नपुगेर विद्यालयमा रहेको कुनै पनि ल्यापटप खुल्दैन । सोलार चार्ज नभएको समय विद्यार्थीहरू कम्प्युटर प्रयोगशाला पुगेर त्यसै फर्कने गरेको प्रअ राईको भनाइ छ । प्रयोगात्मक ज्ञान लिनुपर्ने विषयमा सैद्धान्तिक ज्ञान मात्र लिनु विद्यार्थीको बाध्यता रहेको छ ।

दुर्गम भएकाले विद्युत् लाइन विस्तार नहुँदा सौर्य बत्तीबाट विद्युतीय सामग्री प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । विद्यालयलाई कोरियाको कोम होङ्गील संस्थाले १९ वटा ल्यापटप निःशुल्क उपलब्ध गराएको थियो । त्यसैगरी बाँकी ११ ल्यापटप र चारवटा डेस्कटप कम्प्युटर विद्यालय आफैले खरिद गरेको हो ।