धरान / सङ्घीय सरकारले चैत ५ गतेसम्म कक्षा ९ सम्मको परीक्षा समाप्त गर्न आह्वान गरेसँगै निजी तथा संस्थागत स्कुलहरू तनावबाट गुज्रिरहेका छन् ।
कोरोना भाइरसका कारण वार्षिक क्यालेण्डरभन्दा दुई साताअगावै परीक्षा गर्नका लागि सरकारले आह्वान गरेपछि निजी तथा संस्थागत विद्यालयहरूलाई परीक्षामा तालमेल मिलाउन हम्मे परेको हो ।
विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सरकारले अगाडि नै परीक्षा गर्न निर्देशन गरेपछि सामुदायिक स्कुलभन्दा निजी स्कुलहरू बढी तनावबाट गुज्रिरहेका हुन् । निजी तथा संस्थागत स्कुलहरूले परीक्षाका लागि एक वर्षअगाडि नै वार्षिक क्यालेण्डर तय गरेका हुन्छन् । त्यसअनुरूप चैतको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने गरी बनाएको वार्षिक क्यालेण्डर नै प्रभावित बनेको छ ।
‘चैतको पहिलो साता कोर्ष सक्ने गरी सेड्युल बनाएका थियौं, कोर्ष सकिएको छैन, प्रश्न–पत्रको समस्या उस्तै छ’ युनाइटेड गोर्खा एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पाले भने, ‘बच्चाहरूलाई मानसिक त्रास सिर्जना भएको छ ।’ सरकारले तोकेअनुसार फागुनको २८ गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको उनी बताउँछन् । सरकारको निर्देशन पाएलगत्तै अहिले सार्वजनिक बिदासमेत कटौती गरेर विद्यालय खुल्ला गरिएका छन् । शनिबारसमेत बिदा दिइएको छैन भने आउँदै गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र होलीमा समेत बिदा कटौती गरेर पढाइ सञ्चालन गरिरहेका छन् । जसले गर्दा विद्यार्थीहरूलाई पठन–पाठनमा भार परिरहेको छ ।
‘हरेक हिसाबमा तनाव पक्कै भएको छ, तर यो तनावभन्दा कोरोना भाइरसको तनाव अत्यन्तै विकराल हुने भएकाले सहजरूपमा लिएका छौं’ –एनप्याब्सनका प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठ भन्छन् । उनका अनुसार शनिबार, नारी दिवस, होली कुनै पनि दिन बिदा नदिई विद्यार्थीहरूको कोर्ष पूरा गर्ने तयारी गरिरहेका छौं । ‘फागुमा पनि स्कुल लगाउने भन्दैछौं’ उनले भने, ‘स्कुललाई बर्डन त पक्कै छ तर सरकारले पनि रहरले गरेको होइन भन्नेमा हामी विश्वस्त छौं ।’
कोरोना भाइरसको त्रासकै कारण सरकारले विद्यालयहरूलाई चैत ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न भन्दै तीन दिनअघि उर्दी जारी गरेको थियो । मोरङ प्याब्सनका अध्यक्ष अर्जुन बस्नेत निर्धारित मितिलाई पछाडि सार्नभन्दा अगाडि सार्न ठूलो समस्या हुने गरेको बताउँछन् । ‘मिति पछाडि सार्न खासै समस्या हुँदैन, तर अगाडि ल्याउन गाह्रो हुन्छ’ –उनले भने । कोर्षमा भन्दा पनि विद्यार्थीहरूलाई रिभिजनलगायतमा समस्या आएको उनी बताउँछन् ।
उनका अनुसार कोरोना भाइरसको सङ्क्रमणको डरभन्दा विद्यार्थीहरूमा एक प्रकारको कोर्ष र पढाइका कारणले मानसिक त्रास उत्पन्न गरेको बताए । यता सामुदायिक स्कुलहरूलाई भने निजी तथा संस्थागत विद्यालयलाई जस्तो प्रभाव नपर्ने भएको छ । धरान नगरभरि फागुन २८ गतेदेखि नै परीक्षा गर्ने भनेर माघमै परीक्षाको तालिका सार्वजनिक गरिएको थियो ।
धरान उपमहानगरपालिका परीक्षा समितिका संयोजक इन्द्रमोहन झाका अनुसार माघको २५ गते नै फागुन २८ गतेदेखि परीक्षा गर्ने भनेर रुटिन निकालिएको थियो । त्यसकारण सरकारले गरेको निर्देशनले सामुदायिक विद्यालयको हकमा भने कुनै प्रभाव नपर्ने भएको हो । ‘हामी त दूरदर्शी भयौं, अगाडि नै चैत ५ गतेसम्म परीक्षा सक्ने गरी रुटिन तयार गरेका थियौं’–उनले भने । उनका अनुसार चैत १ गते शनिबारका दिन पनि परीक्षा गर्ने गरी तालिका निर्माण गरिएको थियो । सामुदायिक विद्यालयहरूलाई कुनै पनि समस्या नभएको उनको दाबी छ ।
तर, मोरङ एनप्याब्सनका अध्यक्ष सुनिलदत्त भट्टराईका अनुसार चैत ८–१० गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको अवस्थामा एक्कासि तालिका अगाडि सर्दा असर भएको बताए । ‘सरकारले गरेको निर्णयअनुसार चैत ५ गतेसम्म परीक्षा सक्ने गरी तयारी थालेका छौं, त्यहीअनुसारको सबैलाई परीक्षा गर्न अनुरोध पनि गरिसकेका छौं’–उनले भने ।