सम्झनाको पोखरीमा बल्छी खेल्न मन लाग्छ । यस्तो बल्छीमा थरिथरिका माछा पर्छन् । तीमध्येका छानी छानी अभिव्यक्त गर्न मन लाग्छ । यस वर्षको फागुन १२ गते सोमबार मेरो निमित्त जीवनको अविस्मरणीय दिन रह्यो । यस दिन धनकुटा नगरको वडा नम्बर ३, लाँकुरेमा रहेको जनता आधारभूत विद्यालयमा एउटा समारोह भयो । त्यो समारोह थियो, छात्रवृत्ति वितरणको । विद्यालयका प्रधानाध्यापक नीलबहादुर बुढाथोकीको सम्मानमा प्रस्तावित (अक्षय कोष निर्माण नभइसकेको अवस्थाले स्थापित नभनिएको) छात्रवृत्ति सोही विद्यालयमा अध्ययनरत चार जना नानीबाबुहरूले पाए । विद्यालय सञ्चालक समितिका पदाधिकारीहरूसहितको समारोहमा कक्षा ४ का असिल कार्की र भूमिका मल्ल, कक्षा ७ का सुशील शाही अनि कक्षा ८ की अनिशा राईलाई प्राप्त भयो । बधाई र शुभआशीर्वाद छ, छात्रवृत्ति पाउने जेहन्दार नानी बाबुहरूलाई !
यो छात्रवृत्ति यसै शैक्षिक सत्रदेखि लागू हुने गरी यो लेखकले सञ्चालनमा ल्याएको हो । नील सरको सम्मानमा मैले यो छात्रवृत्ति सञ्चालनमा ल्याएँ, विद्यार्थी जीवनमा उहाँले लगाउनु भएको ऋण तिरिनसक्नुको छ । यस्तो गुणवान गुरुको सम्मान गर्न पाउँदा मेरा जीवनयात्राका पाइलाहरू उत्साहले उचालिएका छन् । मनमा उज्यालो घाम लागेको छ । अक्षय कोष स्थापनापछि म सन्तुष्टिको लामो सास फेर्नेछु । अहिले चाहिँ छात्रवृत्ति वितरण शुरुमात्र गरियो, अक्षय कोष स्थापना नगरीकनै ।
मैले पाएको छात्रवृत्ति
मैले पनि विद्यालय र कलेज जीवनमा तीन पटक छात्रवृत्ति पाएँ । कक्षा ७ मा तत्कालीन भाषा निमावि (हालः भाषा क्याम्पस)मा पढिरहेको बेला तीन जनालाई छात्रवृत्ति प्राप्त भएको थियो । कक्षाका प्रथम रामप्रसाद वाग्ले (हालः नेपाल सरकारका उपसचिव), द्वितीय म आफू र तृतीया मेनुका कार्कीलाई ८०÷८० रुपैयाँ छात्रवृत्ति स्वरूप हात लागेको थियो । विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णबहादुर कार्कीको हातबाट मैले जीवनमा पहिलो पटक छात्रवृत्ति पाएको हुँ । यो रकम कसरी जुट्यो वा कसले सौजन्य गरे, मैले अहिलेसम्म कृष्ण सरलाई सोधेको छैन ।
आईए प्रथम वर्ष धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र बीए प्रथम वर्ष महेन्द्र बहुमुखी क्याम्पस, धरानमा पढ्दा निःशुल्क वृत्ति पाएँ । यो पनि मेरो विद्यार्थी जीवनको महŒवपूर्ण उपलब्धि थियो । जनता आधारभूत विद्यालयका चार जना नानीबाबुले यसरी छात्रवृत्ति ग्रहण गरिरहेको बेला मैले मेरो विद्यार्थी जीवनको विगत पनि सम्झेँ । माथि उल्लिखित मैले पाएको छात्रवृत्ति भन्दा ठूलो महŒव राख्ने छात्रवृत्ति मैले आजभन्दा ३१ वर्षअघि नील सरबाट पाइसकेको छु । त्यसैले म उहाँप्रति ऋणी छु ।
पढाइको सेरोफेरो
मेरो पढाइको सुरुआत मेरै टोलनेर स्थापित गणेश प्राथमिक विद्यालयबाट प्रारम्भ भयो । धनकुटा नगरको वडा नम्बर ४, गणेश धाराबाट हाम्रो टोलनेर सरेको यहीँ विद्यालय स्थापना र सञ्चालनपछि विद्यालयको सम्मुखबाट मोटर दौडन थालेपछि यो ठाउँको नाम स्कूलडाँडा कहिन पुग्यो । कक्षा ३ सम्मलाई प्राथमिक तहको र निःशुल्क अध्ययन व्यवस्थाका कारण मैले यो विद्यालय पढुञ्जेल कुनै असुविधा भोग्नु परेन । पुस्तक पनि निःशुल्क पाइन्थ्यो । यस विद्यालयमा पढ्दा म कक्षा प्रथम थिएँ ।
त्यसपछि म धनकुटा नगरको साविकको वडा नम्बर २ (हालः वडा नम्बर ३) वारिपात्लेको भाषा निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा भर्ना भएँ । ठ्याक्कै त्यो वर्ष कक्षा ५ सम्मलाई प्राथमिक तहमा राखियो । त्यसबेला शुल्क तिर्नु नपर्ने तर पुस्तक चाहिँ किन्नु पर्ने भयो । कक्षा ५ सम्म सहज रूपमा मेरो पढाइ चल्दै थियो । म यस विद्यालयमा अध्ययनरत हुँदा कक्षाको द्वितीय थिएँ । म भाषा निमाविमा कक्षा ६ मा पुगेर पर्ढा शुरु गर्दा मेरा सङ्कटका दिन शुरु भए । निमावि तहमा निःशुल्क पढ्न नपाइने व्यवस्थाका कारण शुल्क तिर्न धौधौ हुन्थ्यो । बुवाले जसोतसो जुराइदिनु भयो । सेकेन्ड हेण्ड किताबहरू किन्न थालियो । कक्षा ७ मा पढिरहेको बेला बुवा बित्नुभयो, टुहुरो बनाइहाल्नुभयो । सङ्कटमाथि सङ्कट ! थपियो ।
खल्बलिदो थियो, मेरो बालमनोविज्ञान । तर, पढाइमा सम्झौता नगर्ने बानी थियो । बुवाले बित्ने बेलामा आमालाई भन्नुभएछ, कान्छालाई जसरी भए पनि एसएलसी उतार्नू है ! भाषा निमाविमा कक्षा ७ द्वितीय स्थानबाट उत्तीर्ण गरे पनि मैले त्यहाँबाट मेरो चारित्रिक र लब्धाङ्क पत्र हात पार्न सकेको थिइन । कारण थियो, तिर्न बाँकी मासिक शुल्क र परीक्षा शुल्क । यता म आमासँग रोइकराई गर्थेँ । प्रौढावस्थामा प्रवेश भइसकेकी आमा नातागोता छरछिमेक आदिमा सरसापटको लागि दौडँदा दौडँदा रित्तो हात फर्केको देख्दा भक्कानिन्थेँ । बुवाको पेन्सन आमाको नाममा आइसकेको थिएन ।
कसोकसो आमाबाट मैले विद्यालयमा तिर्नुपर्ने शुल्क जुट्यो । ढुक्क भएँ । अब त्यो रकम बोकेर म भाषा निमावितिर लाग्दै थिएँ । अघिल्लो दिन बास बस्न आएका र हाम्रो घरमा असाध्यै आत्मीय साइनो रहेजस्तो गर्ने एक व्यक्ति शुल्क तिर्न मसँगै गइदिने भए । ती व्यक्ति दुई चारदिनअघि पनि दौरा सुरुवाल र कोटमा सजिएर रकस्याक ब्याग भिरेर हाम्रो घरमा बास बस्न आएका थिए । फेरि त्यसको एक दुई दिनपछि फेरि हाम्रो घरमा बास बस्न आए । दोस्रो पटकको बास बसाइमा उनको रकस्याक थिएन, कोट पनि थिएन । दौरा सुरुवालमा आइपुगेका थिए ।
भोलिपल्ट मेरो शुल्कसहित अभिभावक बनेर भाषा निमाविसम्म पु¥याउने कष्ट तिनैले उठाए । उनले आमालाई मलाई देखाउँदै भने, ‘यो भाइको काम म गरिदिन्छु । मलाई पैसा दिनुहोस् ।’ आमाले पनि विश्वास गरेर ती व्यक्तिलाई पैसा हस्तान्तरण गर्नुभयो । म गमक्क परेर रोकिएको कागजपत्र लिन ती व्यक्तिको पछि लागेँ । ती व्यक्ति तल्लो टोलको एक घरमा पसे । जाँड मगाएर पिए । एक छिन है कान्छा, पिसाब फेरेर आउँछुु भनेर हिँडेको ती व्यक्ति निक्कैबेरसम्म नआउँदा म सशङ्कित भएँ । उनलाई खोज्न बाहिर निस्केँ । यता खोज्यो छैन, उता खोज्यो छैन ।
आमाले मरिमेटेर जुटाइदिनुभएको पैसा लिएर ती व्यक्ति चम्पट ठोकेछन् । म रुँदै घर फर्केँ । त्यसबेला निमावि तहको शुल्क मासिक ७÷८ रुपैयाँ थियो । विलम्ब शुल्क, परीक्षा शुल्क आदि गरेर पूरा एक वर्षको एक सय ५० रुपैयाँ आमाले जुटाउनु भएको थियो । यो रकम एक महिनाको प्रयासमा आमाले फेरि जटाइदिनुभयो र मैले विद्यालयबाट मावि तहको अध्ययनका लागि कागजपत्र पाएँ । कागजपत्र मलाई हस्तान्तरण गरेर मुसुक्क हाँस्दै कृष्ण सरले भन्नुभयो, ‘भाइ † एसएलसी पास गरेपछि यही स्कूलमा आउनू है !
सायद उहाँले मलाई शिक्षक बनाउन चाहनुभएको थियो । मेरो माध्यमिक विद्यालय तहको पढाइ गोकुण्डेश्वर माध्यमिक विद्यालयमा सम्पन्न भयो । बजार क्षेत्रको यस विद्यालयमा अध्ययन शुरु गर्दा मेरो अर्को कहर शुरु भयो । पढाइमा म राम्रो थिएँ । शिक्षक शिक्षिकाले पढाएका पाठ कक्षामै मेरो दिमागमा रेकर्ड भइहाल्थ्यो । कुनै पनि परीक्षा मलाई अप्ठ्यारो लागेन । तर, रेकर्डरजस्तो मेरो दिमाग विद्यालयमा तिर्नुपर्ने मासिक शुल्ककै कारण खल्बलिन्थ्यो । मासिक शुल्क नतिर्नेको हाजिरी कट्टा हुन्थ्यो । यस्तो हाजिरी कटौतीमा म कति परेँ कति ! विद्यार्थीको मनोविज्ञानलाई यसरी नखल्बलाएको भए असाध्यै राम्रो हुृने थियो । विद्यार्थीको मनोविज्ञानलाई संरक्षण गरेकोले म तत्कालीन भाषा निमावि र प्रधानाध्यापक कृष्ण कार्कीलाई सधैँ माथमा राखेर सम्झना गर्ने गर्छु ।
तिरिनसक्नुको ऋण
यसरी दुःख सुख पढ्दै जाँदा कक्षा १० मा पुगियो । त्यो बेलाको एसएलसीको पढाइ दुई वर्षे हुन्थ्यो । परीक्षामा कक्षा ९ र १० को पुस्तकबाट प्रश्न सोधिन्थ्यो ।
कक्षा १० को आधातिर पुग्दा सहपाठीहरूले ट्युसन शुरु गरे । म चाहिँ टुलुटुलु हेर्न बाध्य थिएँ । मेरा प्रतिस्पर्धीमध्ये कोही एक ठाउँले मात्र चित्त नबुझेर तीन ठाउँमा ट्युसन पढ्थे । कोहीले घरमै शिक्षक राखेर ट्युसनको चाँजोपाँजो मिलाएका थिए । तर, म टुलुटुलु हेरिरहेको थिएँ । मासिक शुल्क बढेर उत्पात थियो । आमालाई धेरै दुःख दिनुहुन्न भन्ने मनोविज्ञानलाई पनि सुदृढ पारिरहेको थिएँ । कक्षा ४ देखिका सहपाठी मित्रहरू मुकुन्दप्रसाद भण्डारी र नेत्रप्रसाद रिजालले पनि ट्युसन शुरु गरिसकेका थिए । उनीहरूले भने, ‘ओई † राजकुमार तँ ट्युसन पढ्दैनस् ? उनीहरू यस्तो प्रश्न गरिरहन्थे । म टार्दै जान्थेँ, आज भोलि भन्दै । उनीहरूले एक दिन कर गरे, ‘लौ हिँड् नील सरकोमा जाऊँ ट्युसन पढ्न ।’ उनीहरूले यसो गर्नुको कारण के पनि हो भन्ने लाग्छ, म आफूले जानेसम्मको उनीहरूलाई पनि सिकाइदिन्थेँ ।
म नील सरको ट्युसन विद्यार्थी भएँ । उहाँले अँग्रेजी, गणित र विज्ञान पढाउनुभयो । कागतेको मोतीमान उदास दाइको घरमा डेरामा बस्नुृहुृन्थ्यो । हामी त्यहाँ पढ्न जान्थ्याँै । २०४५ साल भदौ ५ गते भुकम्प जाँदा त्यो घर भत्कियो । नील सर पुरिनुभयो । मोती दाइले पुरिएका मानिसलाई बचाउनुभयो । त्यसको एक दिनअघि मात्र म रामप्रसाद वाग्लेसहितको हाजिरीजवाफ टोलीले जिल्लामा प्रथम स्थान हासिल गरेका थियौँ । मोती दाइको घर भत्केपछि उहाँको काका कैलाशमान उदासको घरजग्गामा एउटा टहरो बनाइयो । त्यहीँ नील सरले बास गर्नुभयो र ट्युसन कक्षालाई निरन्तरता दिनुभयो । ट्युसन पढ्नेको उपस्थिति बाक्लो थियो । सरले हामीले तोकिदिनुभएको शुल्क थियो, मासिक ७५ रुपैयाँ । उहाँलाई मैले एक महिनाको शुल्क तिरेँ । बाँकी शुल्क तिर्न सकिनँ । उहाँले पनि केही भन्नुभएन । सम्भवतः मलाई हीनताबोध नहोस् भनेर होला, मैले एसएसली दिइसकेपछि पनि मलाई आफ्नो डेरामा बोलाइरहनुभयो, अतिरिक्त गणित पढ्नका लागि । यो मैले नील सरबाट पाएको महŒवपूर्ण छात्रवृत्ति थियो ।
आफन्तको अँध्यारो मुख
जोसँग धन थिएन, उनीहरूको मन थियो । जोसँग धन थियो, उनीहरूको मन थिएन । पारिवारिक सदस्यको यस्तो चरित्र दर्शन गर्र्दै मेरो पढाइ अघि बढ्दै थियो । धन हुने आफन्तले मेरो पढाइको विषयमा कहिल्यै चासो राखेनन् । गाह्रो साह्रो पर्दा सहयोगको कुरा त परै जाओस् । धन नभए पनि मन हुने आमाबाट मेरो एसएलसीसम्मको पढाइ दुःखसुख जारी राखेँ । अन्ततः मैले गोकुण्डेश्वर माविबाट २०४५ सालको ब्याचका रूपमा एसएलसीमा उत्तीर्णमध्ये पाँचौ स्थानमा हर्षोल्लास मनाएँ ।
तर, यो हर्षोल्लासमा केही मेरा आफन्त र छिमेकीहरू असाध्यै दुःखी देखिए । कालो माथि हरियो देखिए । हिजो गाह्रो साह्रोमा असहयोग गर्नुको कारण त बल्ल खुल्यो । उनीहरूमा इष्र्याको आवेग रहेछ । इष्र्या गर्नेहरू आगोमा परेजसरी जल्छन्, इष्र्या गरिने चाहिँ फूल भई फक्रिन्छन् । मैले द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा मेरो ट्युसन शिक्षक नील सर कम्ता खुशी हुनुहुन्नथ्यो ।
उनै गुरुको सम्मानमा मैले छात्रवृत्ति सञ्चालन गरेको छु । यस वर्षको छात्रवृत्ति मैले भर्खरै प्रकाशनमा ल्याएको पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ को बिक्रीबाट शुरु गरेको हुँ । योजना छ, विद्याबाटै उपलब्ध अर्थोपार्जनबाट गुरुदेवको सम्मानमा छात्रवृत्ति सञ्चालनार्थ एउटा अक्षयकोश निर्माण गर्न सकूँ । यसरी सम्झनाको पोखरीमा बल्छी खेल्दै भन्न मन लाग्छ, जय, गुरुदेव !