इटहरी / इटहरीमा विवाहको तामझाम थियो । जन्तीहरू आइसकेका थिए । भोजभतेरसम्म लगाइएको थियो ।
विवाहको तामझाम भइरहेकै बेला प्रहरी आयो । प्रहरीले भन्यो, ‘विवाह रोक्नुहोस् ।’ आफन्त तथा मुखामुख गर्ने थाले एकै छिनमा सबै गम्भीर मुद्रामा देखिए ।
बिहीबार इटहरी वडा नं. २ मा एक बालिकासँग हुन लागेको विवाह प्रहरीले रद्द गरेको हो । विवाह रोकिए पछि बेहुली लिन पुगेको बेहुला सहितको जन्ती फर्किएको छ । इटहरी वडा नं. २ की नारायणप्रसाद अधिकारीकी कक्षा १० मा अध्ययनरत १८ वर्षे छोरी र सिरहा कर्जना वडा नं. २ बन्दीपुरका २५ वर्षे मुकुन्द पौडेलबीच विवाह रोकिएको हो ।
बेहुला पक्षले झन्डै चालीस जना जन्ती लिएर बेहुलीको घरमा बिहीबार बिहान १० बजे आए । जन्ती आएलगतै प्रहरीको टोली पुग्यो अनि कानूनी रूपमा बन्देज कुरा रोक्न प्रहरी इन्स्पेक्टर रमेश बस्नेत पुगे । उमेर नपुगेको विवाह गर्न मिल्दैन भन्दै अभिभावकहरूलाई सम्झाए र विवाह रोकिएको हो । बेहुला पौडेल पक्षकाले भने विवाहका लागि तयार गरिएको खानपान खाए अनि फर्र्किए । ‘जन्ती आउनासाथ प्रहरीको टोली पुगेर उमेर नपुगीकन विवाह गर्न पाइँदैन भनेर अभिभावकलाई भन्यो अनि रद्द हुन पुग्यो,’ इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले भने । कानून अनुसार विवाह नगर्नु भनेका हौं डिएसपी भण्डारीले भने ।
बेहुलीका बाबु नारायणका अनुसार, केटाकेटीबीच मन पराएपछि विवाह गर्न राजी भएकाले गर्दा संस्कार बमोजिम गर्ने सोच भएको बताए । ‘छोरीले केटा मलाई मन परेको छ, विवाह गरिदिनु नत्र भाग्छु भनेपछि संस्कार अनुसार विवाह गरेको जनाए । कानूनी रूपमा बालविवाह गर्न छुट नभएको जानकारी भए पनि बुढेसकाल लागेकी आमाले नातिनी भाग्दा सामाजिक इज्जतमा दाग लाग्छ भनेपछि संस्कार अनुसार विवाह गर्न लागेको नारायणले जनाए । विवाह रोकिए पछि जन्तीहरू खाना खाएर बेहुली नलिई गएका थिए । कानून अनुसार विवाह गर्नु हुँदैन भनेर दुबै परिवारलाई सम्झाए पछि जन्ती फर्किएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
नेपालमा कानूनतः विवाह गर्ने उमेर २० वर्ष छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ ।
शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ । बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रूपमा पछि परेका मुसहर, चमार, डोम, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ ।