धरान–१ स्थित युरेका आवासीय माविले केही दिन अघि अभिभावक, विद्यार्थी र सर्वसाधारणका लागि ‘कोरोना भाइरसबाट बच्ने केही उपायहरू’ लेखिएको पर्चा वितरण गर्यो ।

पर्चामा ३७ बुँदामा कोरोना भाइरसबाट बच्ने उपायहरूसहित लेखिएको छ, ‘अनावश्यक हल्लाको पछाडि नलागौं, सुझबुझका साथ सतर्क रहौं ।’

युरेकाले वितरण गरेको यो पर्चा विद्यार्थी, अभिभावकसँगै विभिन्न ठाउँमा टाँसिएको पनि देखिन्छ । युरेका सहित अधिकांश विद्यालयमा कोरोनाको त्रासमै अहिले धमाधम परीक्षा चलिरहेको छ । कतिपय विद्वान्ले कोरोनाबाट हालसम्म बालबालिका कमै मात्र प्रभावित भएको भन्दै विद्यालयहरू आत्तिन नहुने बताइरहेका छन् । तर, सरकारले नै विद्यालयहरूलाई चैत ५सम्म परीक्षा सक्न निर्देशन दिएकाले विद्यालयहरू हतारमा परीक्षा सञ्चालनमा जुटेका हुन् । परीक्षाको हतार बीच पनि युरेका जस्तै कतिपय विद्यालयले सचेतना पनि फैलाइरहेका छन् ।

चीनको वुहानबाट शुरु भई अन्यत्र समेत फैलिरहेको कोरोना भाइरसका कारण विश्वभरको जनजीवन प्रभावित बनिरहेको छ ।
नेपाल जस्तो कोरोना प्रत्यक्ष नदेखिएको देशमा पनि कोरोनाको असर देखिन थालेको छ । लाखौं बालबालिका अध्ययनरत शैक्षिक क्षेत्र कोरोनाबाट आतङ्कित अवस्थामा छ ।

कोरोनाका कारण शैक्षिक सत्र २०७७ को सरकारी भर्ना अभियान पूर्णरूपमा असर पर्ने देखिएको छ । कोरोना भाइरसबाट सचेत रहन भन्दै सरकारले चैत ५ गतेसम्ममा परीक्षा सम्पन्न गरेर केही दिन विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ । त्यसैले अहिले विद्यालयहरू हतार हतार परीक्षा सञ्चालन गरिरहेका छन् ।

चैत ६ गतेदेखि सञ्चालन हुने एसईईबाहेकका विद्यालय तहका सबै परीक्षा ५ गतेसम्म सक्ने गरी तयारी भइरहेको छ। परीक्षापछि करिब एक महिना बिदा दिने तयारीमा रहेका सबै निजी विद्यालयले भर्नालगायतका सबै कार्यक्रम एक महिना पछि सार्ने तयारी गरिरहेका छन् ।

विद्यालयहरूले सबै विद्यार्थी र अभिभावकलाई पत्र पठाएर कोरानाबाट सचेत रहन आग्रह गरिसकेका छन् । कोरोनाको त्रासका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त हुने सम्भावना बढेको छ । त्रिविअन्तर्गतका क्याम्पसमा चैत दोस्रो साताबाट परीक्षा हुँदैछ ।

त्यो परीक्षा लिने वा स्थगित गर्ने भन्ने विषयमा त्रिविले कुनै निर्णय गर्न सकेको छैन । अहिले नेपालको उच्च शिक्षासमेत अन्योल देखिएको छ । विद्यालयमा अभिभावक भेला, वार्षिक कार्यक्रम, पिकनिकलगायतका कुनै पनि भीडभाडजन्य कार्यक्रम नगर्न शिक्षा मन्त्रालयले सबै सरोकारवालालाई उर्दी जारी गरिरहेको छ ।

शिक्षा मन्त्रालयले शिक्षण संस्थाहरूलाई गरेको अनुरोध
१. विद्यालय र शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्बन्धमा देहायका कार्य गरी सचेतना जगाउने कार्यक्रम गर्ने

२.विद्यार्थीलाई हरेक दिन संक्रमणबाट बच्ने उपायबारे बताउने,

३. कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने,

४.सङ्क्रमणबाट बच्ने उपायहरू सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबाट पढ्न र छलफल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने,

५.कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने,

६.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका वेबसाइटहरूको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्ने,

७. स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने ।

८. स्वास्थ्यका दृष्टिले सुरक्षित हुन देहायका बानी र व्यवहारहरू अवलम्बन गर्न सुझाव दिने

९.भीडभाड भएको ठाउँमा सकभर नजाने,

१०.राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुराहरू नखाने,

११. साबुन पानीले पटकपटक राम्ररी हात धुने,

१२. खाना खाजा खानुपूर्व अनिवार्य रूपमा साबुन पानीले हात धुने,

१३.हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने ।

१४. कुनै विद्यार्थीलाई ज्वरो रुघा, खोकी देखिएमा विद्यालय र शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीबाट अलग्गै राख्ने,

१५.अभिभावकलाई शीघ्र सम्पर्क गरी सुरक्षित तरिकाले जिम्मा लगाउने,

१६.नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरूको सल्लाहअनुसार उपचार गर्नेरगराउने,

१७.ज्वरो र रुघा–खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउ (आइसोलेसन)मा राख्ने।

१८. स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्ने

१९. सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्ने

२०. शिक्षण संस्थाहरूबीच सूचनाको नेटवर्क तयार गर्ने

२१. आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय र शिक्षण संस्थामा फोकल पोइन्ट तोक्ने,

२२.अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने,

२३.सङ्क्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त र अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिने,

२४.सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्ने ।