मेची नगर(झापा) / कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणबाट बच्न सरकारले कडा निर्देशन जारी गरे पनि झापाको सीमा नाकामा कोरोनाविरुद्ध त्यस्तो सजगता अपनाएको देखिएन । नेपाल छिर्ने पूर्वको मुख्य नाका झापाको काँकडभिट्टामा मनलागेको बेलामा मात्र चेकजाँच गरेको पाइयो । पैदल यात्रुलाई हात धुन लगाएर थर्मलगन(तापक्रम नाप्ने यन्त्र)मा पठाइए पनि सवारी साधनमा आउने यात्रुलाई बेला बखतमा तापक्रम मात्र नाप्ने गरेको पाइएको छ ।
चार स्थानमा चेकजाँच भए पनि दुइसेट मात्र सुरिक्षित पोशाक उपलब्द छ । शुरुमा विभिन्न सङ्घ संस्थाका कयौँ स्वयमसेवक देखिए पनि हाल उनीहरुको चहलपहल घट्दै गएको सुरक्षाकर्मीको भनाइ छ ।
भारतबाट आउने पैदल यात्री,सवारी साधन प्रयोग गरेर आउने र मालवाहक ट्रकका चालकलाई चेकजाँच गर्ने गरी तीन क्षेत्र छुट्टयाएको छ । विहीबारबाट भारत तर्फ जाने नागरिकलाई पनि व्यक्तिगत विवरण भरेर जाने व्यवस्था मिलाइको छ । भारत जानलाई विभिन्न तह पार गर्नु पर्ने झन्झटिलो प्रक्रियाका कारण जानेको सङ्ख्या कम गर्नलाई यो व्यवस्था अपनाइएको स्वयमसेवक कर्मचारीले बताए । चारवटा गन सञ्चालनमा रहे पनि पर्याप्त नभएको व्यवसायी रविचन्द्र नेपालले बताए । अर्डर गर्दा समेत नआएको उनको भनाइ छ । भन्सारमा आउने मालवाहक ट्रकका चालकलाई स्वास्थ्य परीक्षण गरेर स्वास्थ्यकर्मीले प्रमाणित फारम दिए पछि मात्र भन्सारबाट सवारी पास हुने स्वास्थ्यकर्मी सविता सापकोटाले बताइन् । विहान ६ बजे देखी राती अवेरसम्म चेकजाँच गर्ने गरेको उनले जनाइन् । दिनभर आवत –जावत गरेपनि रातीको समयमा नाका बन्द गरेमा जोखिम न्यूनिकरण हुने उनको धारणा थियो ।
सो नाका भएर विहीबार ८ हजार नेपाली र ५ हजार ८ सय २४ जना वाहिरी देशका नेपाल आएको हेल्थ डेक्सको रेकर्डमा उल्लेख छ । हाल स्पेन, लाइवेरियालगायतका देशहरुबाट मानिस नआएको डेक्सले जनाएको छ । नगरपालिका,जिल्ला प्रशासन र विहीबार प्रदेश १ का कानून मन्त्री हिक्मत कार्कीलेसहितको टोलीले अनुगमन गरेको थियो ।
अाैजार र स्वासथ्यकर्मी अभाव
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले आवत–जावतमा सावधानी अपनाएको बताउछन् । नाकामा स्वास्थ्यकर्मीको टोलीले साबुन पानीले हात धुन लगाउने, इन्फ्रारेड थर्मोमिटरले ज्वरो नाप्ने तथा स्वस्थ भएको प्रमाणित भएपछि मात्र प्रवेश गर्न दिने गरिएको बताए । तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकलाई दिँदै आएको अनअराइभल भिषासमेत बन्द गरिएको छ । नाकामा सुरक्षा जाँचका लागि औजार र स्वास्थ्यकर्मीहरुको अभाव भएको उनले बताए । ३ वटा थर्मोमिटर तीन जना स्वास्थ्यकर्मी खटिएका छन् । यि विग्रिए भने जाँच गर्न समस्या हुने उनले बताए । प्रहरीका लागि माक्स भने आफै बनाएर प्रयोग गरिरहेको उनले बताए । अझै परसनल प्रोटेक्ट इक्युपमेन्टको अभावले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समस्या भएको डिएसपी पोखरेलले बताए । काकरभिट्टा नाकाबाट दैनिक १२ हजार मानिस नेपाल प्रवेश गरिरहेको डिएसपी पोखरेलले बताए । शुक्रबार भने ८ हजार मानिस नेपाल भित्रीएका छन् ।
ज्वरो चेकजाँचमा ठूलो लाइन
भारतबाट नेपाल आउनेको लाइन निकै ठूलो छ । शुक्रबार पनि लामो लाइन थियो । सरकारले २५ जना भन्दा बढि एकै स्थानमा भेला हुन नपाउने निर्देशन जारी गरेको छ । लाइन लाग्न पर्ने अवस्थामा एक मिटरको दुरी कायम गर्नु पर्ने भनिएको छ । तर शुक्रबार भारतबाट नेपाल आउने मानिसहरुको लाइन ठेलाठेल थियो । कतिखेर गन्तव्इमा पुग्ने भन्ने उनीहरु तनावमा थिए । यता प्रशासन एउटा थर्मोमिटरले निधारमा राखेर ज्वरो नाप्दैं पठाउदैं आएको थियो । ‘केही नबुझ्ने, पोकापतौरा बोकेर आउनेहरुले भीड गरि हाल्छन् । स्वयमसेवकहरु परिचालन गरेर भीड कम गर्ने तयारी गरिरहेका छौं ।’–मेयर आचार्यले भने ।

नेपालबाट भारत प्रवेश नाकामा कडाई
उता भारतको पानीट्याङ्की जाने मेची पुलको पूर्वपट्टि भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेको पाइएको छ । तापक्रम नाप्ने यन्त्र एउटा भए पनि कुनै व्यत्ति विना परिक्षण भारत प्रवेश हुन पाएको देखिएनन । सवारी साधनमा होस या पैदल सवैलाइ लाइनमा राखेर थर्मल गनले परिक्षण गरी औँलामा मसि लगाएपछि मात्र जान योग्य हुने चेकजाँचमा खटिएका कर्मचारीले बताए । चेकजाँचमा कडाइ गरिएका कारण मेचीपुलको आधा भागसम्म मानिस र सवारी साधनको लाइन लागेको थियो ।
यता भारतको विहार तथा पश्चिम बङ्गालसँग जोडिएको भद्रपुर सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण सीमित समय अवधि सम्म मात्र हुने गरेको पाइएको छ । भारतको पश्चिम बङ्गाल सरकारले भद्रपुरतर्फ आउने नाका बन्द गरिसकेको छ ।
विहार सरकारले नाका खुल्ला राख्दा त्यहीबाट भद्रपुर नाकाबाट दैनिक सयौँ सङ्ख्यामा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन् । तर, तिनहरूको स्वास्थ्य परीक्षण बिहान साढे १० देखि बेलुका ५ बजेसम्म मात्र हुने गरेको छ ।