हाल बिश्वमा महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस र यसले निम्त्याएको रोग कोभिड १९ को त्राहीमाम स्थिति हामी सबैलाइ थाहा नै छ। बिश्व अर्थ ब्यवस्था धरासयी हुने स्थितिमा देखिन्छ। बिश्व नै अहिले लकडाउनको अवस्थामा छन। यसको उत्पति र संक्रमण फैलिनुमा कुन बिश्च राजनितीक,आर्थिक वा सामाजिक प्रणालीले काम गरेको छ अहिले नै भन्न सकिने अवस्थामा भने छैन।

शुरुमा चीनमा कोरोना कहर चलिरहदा पश्चिमा मुलुक बिषेश गरी अमेरिकाले हालको शक्तिशाली राष्ट्रको हिसाबले गर्नु पर्ने सहकार्य लगायत मानबीय सहायता सम्म पनि नगरी ट्रम्प आफैले पनि उल्टो चीनलाइ गिज्याउने शैलीमा उडाउन थाले।चीनले यस भाइरसको एक्लै सामना गर्यो र तुलनात्मक रुपमा न्युन मानबीय क्षतिमा करिब ३ महिनाको समयमा आफुले कोरोनामाथि बिजय हासिल गरेको सन्देश प्रसारित गर्न थाल्यो। चीनले कोरोना भाइरसको उद्गम थलो मानिएको युहान प्रान्तको हुबे शहर र पुरै प्रान्तलाई लकडाउन गरी अन्य प्रान्तबाट समेत हजारौको संख्यामा मेडिकल प्राबिधिकहरु झिकाई दिनरात नभनी जुध्दै आज लगभग सामान्य स्थितिमा आईपुगेको हो।

लकडाउनको समयमा पनि अमेरिकाले आफ्ना चीनमा रहेका नागरिक त्यहाँ सुरक्षित नहुने जसरी तुरुन्तै फिर्ता लग्यो र पश्चिमा मुलुकहरुले चीनलाई कम्युनिष्ट मुलुक भएकै कारण नागरिकका स्वतन्त्रता समेत कुण्ठित हुने गरि लकडाउन गरिएको भनी बिरोध गर्ने शैलीको प्रचार गर्न खोजे। कोरोना संक्रमण तथा रोकथामका लागि चीनले गरेको १० दिनमा सुबिधा सम्पन्न अस्पताल बनाएको प्रसङ्गमा भने मुक्त कण्ठले प्रशंसा गर्न सकेन।

प्रयास त्यसका बाबजुद चीनले कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न आफुलाई अब्बल साबित गरेरै छाड्यो। त्यसपछि यो भाइरसको संक्रमण युरोप अमेरिकामा फ्याट्ट फुट्ट देखिए पनि अमेरिका ईत्तरका मुलुकहरु ईरान,कोरिया र चीन निती समर्थन गरेको एक्लो युरोपेली मुलुक ईटालीमा देखिन थाल्यो। पछि चीनका बिदेश मन्त्रालयका प्रबक्ताले यो भाइरस चीनको हुवानमा भएको सातौ बिश्व खेल समारोहमा उपस्थित ३०० अमेरिकी सेनाका खेलाडीबाट आएको र चीनमा फैलिएको ट्विटर द्वारा अभिब्यक्ति दिए।

त्यस्तै पछिल्ला समयमा अमेरिकी रास्ट्रपति ट्रम्पले चाइनीज भाइरस भन्ने खालका उत्ताउला अभिब्यक्तिहरु दिन थाले। तर पछिल्ला दिनहरुमा यो भाइरसले अमेरिकामै पछिल्लो १२ घण्टामा १०००० नयाँ संक्रमण देखिएको समाचार आईरहेका छन। अमेरिका यस भाइरसको अर्को नयाँ इपि सेन्टर हुने प्रक्षेपण गरिदैछ। त्यसैले यो भाइरसको उत्पति,बिकास र संक्रमण फैलिनुमा कही बिश्व राजनिती, शक्तिराष्ट्रहरुको एकले अर्कालाई कमजोर पार्ने अस्त्रका रुपमा त प्रयोग गर्दै छैनन भन्ने संसय छाएको छ। कही चीन अमेरिकाको बर्सौ देखि चलिआएको ब्यापार युद्धकै निरन्तरता त होइन यो जिबाणु भन्ने पनि बौद्धिक बृत्तमा चर्चा चल्न थालेको छ।

यो जिबाणुको चाहे जुनसुकै कारण बाट उत्पति,बिकास तथा फैलावट भएता पनि यो बिश्वब्यापी महामारीबाट नेपाल लगायत नेपाल जस्तो पछाडी परेको मुलुकले कही कतै ठुलो मुल्य त चुकाउनु पर्ने त होइन भन्ने सबै भन्दा ठुलो त्रास अहिले ब्याप्त छ। नेपाल यो महामारीको चपेटाबाट सजिलै बाहिर निस्कन सक्ला कि नसक्ला भन्ने चिन्ताले नागरिकहरु छटपटिएका छन? नेपालले यस बारे गरेको तयारी प्रति चिन्ता ब्यक्त भइरहेका छन।तर यस लेखको मुल उद्देश्य चाँही नेपालको शासकीय प्रणालीले यो महामारीको कसरी सामना गर्नु पर्छ? संघीय प्रणालीका सस्थागत संरचनाहरुले कसरी काम गरोस र गर्नु पर्छ? भन्ने बारे बिस्लेषण गरिएको छ। ३ तहको सरकारले कोरोनाको  प्रकोपबाट आफ्ना नागरिकहरुलाई बचाउन आ आफ्नै स्तरको उत्तरदायित्व तथा भुमिका रहेको छ।

संघीय सरकारः

नेपालको सनदर्भमा पहिलो पटक कोभिड १९ बाट ग्रसित एक ब्यक्ति पौष महिनामै भेटिएका थिए। संघीय सरकार त्यतिबेला देखि नै चनाखो हुनु पर्ने थियो। चीनमा महामारी फैलिरहेको अवस्थामा यदि नेपालले त्यो चपेटाको सामना गर्नु पर्यो भने के गर्ने भनेर सोच्नु पर्ने थियो। आफ्नो देशको अवस्था कस्तो छ र त्यसप्रकारको प्रकोप परेमा नेपाल लाई के कस्तो स्वास्थ्य सामाग्री आवश्यक पर्छन? कस्ता जनशक्ती आवश्यक पर्छन ? के कस्तो परिस्थितिको सामना गर्नु पर्छ? कति कुरा देशको नियन्त्रण भित्र हुन्छन र कति बाह्य? जस्ता बिसयमा SWOT ( Strength, Weakness, Opportunity and Threat) बिस्लेषण गर्नु पर्ने थियो।

तर त्यसको बिपरित नेपालका पर्यटन मन्त्री नेपाल कोरोना फ्री मुलुक भएकोले पर्यटकहरुलाई नेपाल घुम्न आउन र पर्यटन बर्ष २०२० सफल पार्न लागिरहनु भएको थियो। वहाँको त्यतिबेलाको अभिब्यक्तीले आजको यस्तो स्थिति को कल्पना समेत गरेको रहेनछ भनेर पुष्टीहुन २ महिना पनि लागेन। त्यस लगतै बिश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनी नेपाललाई सचेत पनि गरायो। त्यो समयमा वहाँ जस्तै संघीय सरकारले पनि यो बिषयमा जिम्मेवार ढंगले सोचेको देखिएन। किनकी माथि चर्चा गरिएको आधार अनि बिश्व स्वास्थ्य संगठनको सचेतनालाई नेपालको राजनितीले गम्भिरतापुर्बक नलिनु र हालको परिस्थितिको बिश्लेषण गर्न नसक्नु नेत्रित्वको दुरदृष्टि नभएकै रुपमा लिनुपर्दछ। त्यसपछि संघीय सरकारको दायित्व भनेको चीनसँगको दौत्य सम्बन्धलाई प्रगाढ बनाउनकै लागि भए पनि भोली नेपाललाई महामारी परेमा आवश्यक पर्ने जनशक्तीको परिपुर्ति हुने संख्यामा नेपाली चिकित्सक लगायत स्वास्थ्य क्षेत्रका अन्य समेतको जनशक्तीलाई सहयोगीको रुपमा पठाएर सहयोग गर्नु पर्ने थियो।

त्यसो नगरेर नेपालले १ लाख मास्क मात्र सहयोग गर्यो। ती सहयोगी पठाउदा नेपाललाई दोहोरो फाईदा हुने थियोः पहिलो नेपालको लागि कार्यानुभव समेत बटुलेका दक्ष जनशक्तिको अभाव हुन नदिनु। दोश्रो यतिबेला चीनले पनि सहयोग गर्दा खुल्ला मनले आफ्ना दक्ष अनुभवी टोलीद्वारा नेपाललाई सहयोग गर्ने थियो, जसरी ईटाली लगायत अन्य देशमा पठाएको छ। तर अहिले राहत सामाग्री स्वरुप केही परिक्षण किट तथा पिपिई मात्र सहयोग गरेको छ। तर सानो सहयोग गरेर ठुलो सहयोग लिन संघीय सरकार चुकेको नै देखियो। यदि चीनलाई परेको बेला नेपालले त्यसरी सहयोग गरेको भए अन्य बिकास निर्माण लगायत अन्य बिभिन्न क्षेत्रमा नेपालले चीनबाट ठुलो लाभ लिन सक्ने थियो।

यी त भए बितिसकेका कुरा अब हालको बिषम परिस्थिति, लक डाउनको अवस्था, आर्थिक गतिबिधि ठप्प भएको समयमा भने नेपालको संघीय सरकारले बिलम्ब नगरी निम्न कुरामा ध्यान दिन जरुरी देखिन्छ।

  • नेपालमा दक्ष जनशक्ति, उपचार स्थान, पिपिई, परिक्षण किट र प्रयोगशालाको अभाव नै हालको प्रमुख समस्या हो। यसका लागि एक पल पनि नपर्खिकन तुरुन्तै निर्णय गर्न सक्ने कार्यदल गठन गरी एक्सनमा उत्रिनु पर्ने बेला भै सकेको छ। हाल उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कार्यदलले यो महामारीको बिसयमा केन्द्रित रहेर जुनसुकै निर्णय लिन सक्ने ल्याकत राख्नु पर्दछ।
  • दक्षजनशक्ति परिपुर्तिका लागि चीन, द.कोरिया लगायत अन्य सहयोगी राष्ट्र सँग तुरुन्तै बिग्यहरु नेपाल झिकाई नेपाली चिकित्सक,नर्स तथा अन्य स्वास्थ्य क्षेत्रका आवश्यक पर्ने जनशक्तीलाई कार्यस्थलमै गएर तालिम दिने ब्यवस्था गर्नु पर्छ। आवश्यकतानुशार सबै बिश्वबिद्यालय मातहतका निजि तथा सरकारी मेडिकल कलेजमा अध्ययन गर्दै गरेका  एमबिबिएस,नर्सिङ,एचए,सिएमए आदि हरुको पनि उपयोग गर्नु पर्छ। महासंकटका बेला जनशक्ती परिपुर्ती गर्ने यो उपयुक्त बिधि साबित हुनेछ। उनीहरुको मनोबल बढाउन भने नेपाल सरकारले उनीहरुलाई बिशेष प्रकारको सम्मान गर्नु पर्छ।
  • उपचारका लागि अन्य समयमा साधारण बिरामी छिर्न पनि नसक्ने गरी चर्को मुल्य लगाउने निजी अस्पतालहरुले सामान्य ज्वरो आएको बिरामीलाई समेत जाँच्न नमानेर गेटबाटै शुक्रराज ट्रपिकल रिफर गरेको समाचार आई रहेका छन। यस्तो बिषम परिस्थितिमा ती निजि अस्पतालहरुलाई समेत रास्ट्रियकरण गरेर उपचार स्थानको रुपमा प्रयोग गर्नु पर्दछ। जसले आईसियु तथा भेन्ट्रिलेटरको अभाव परिपुर्ति गर्न महत्वपुर्ण साबित हुन सक्ने छ।
  • पिपिई,परिक्षण किटको ब्यवस्था गर्न कुनै पनि हालतमा कोभिड १९ का संयोजक ईश्वर पोखरेलले भने बमोजिम आफ्नै जहाजलाई कार्गो जसरी उपयोग गरेर भए पनि एक निश्चित मात्रामा खरिद गरिनु पर्दछ साथै यो महामारी कहिले सम्म रहने हो अन्यौल कायम रहेको अवस्थामा छ। त्यसैले मापदण्ड बमोजिमको पिपिई,परिक्षणकिट नेपालमै उत्पादन गर्न सकिने उपकरण(मेसिन) नै खरिद गरि अस्थायी कारखाना निर्माण गरी उत्पादन नै शुरु गर्नु पर्दछ।
  • प्रयोगशालाका बिषयमा नेपाल भरिकै नमुना सङ्कलन गरी शुक्रराज ट्रपिकलको नतिजा पर्खि रहनु पर्ने अवस्थालाई संघीय प्रणाली जसरी नै सम्भव भए सम्म ७५३ स्थानीय सरकारका माध्यम बाटै जाँच हुने गरी तत्कालका लागि मोबाईल प्रकृतिका नभए कमसेकम प्रदेश स्तरीय प्रयोगशाला र नेपाल भरिका ठुला कहलिएका अस्पतालमा तुरुन्तै परीक्षण गर्न सक्ने ब्यवस्था मिलाउनु पर्दछ।
  • बजेटको आवश्यकता परिपुर्ति गर्न बिभिन्न लामो अवधिको बिकास बजेटको रकम स्थानान्तरण गरी हाल महामारीको सामना गर्न आवश्यक पर्ने सामाग्रीका लागि उपयोग गर्नु पर्दछ। अझ असारे बिकासका लागि खर्च हुन लागेका सबै बजेट हालको आवश्यकता परिपुर्ति गर्न उपयोग गरिनु पर्दछ।
  • यो लकडाउनको अवस्थामा सबै भन्दा बढी आर्थिक मारमा परेको दैनिक ज्याला मजदुरी गर्ने बर्ग छ, त्यसैले संघीय सरकारले उनीहरुको सुरक्षाको लागि आर्थिक राहत प्याकेज घोषणा गर्नु पर्दछ तर यो प्याकेज बितरण भने प्रदेश सरकारको अस्तित्व कायम हुने र स्थानीय सरकारबाट बितरण हुने गरी ब्यवस्था गरिनु पर्दछ।

प्रदेश सरकार

प्रदेश सरकारको अस्तित्व नै छैन, यो खारेज गरे हुन्छ भन्ने बहस पनि चलिरहेको अवस्थामा यो महामारीलाई प्रदेश सरकारले अवशरको रुपमा प्रयोग गर्नु पर्दछ र आफ्नो अस्तित्व राख्नु पर्दछ। प्रदेश सरकारले पनि संघीय सरकारको जस्तै कोभिड १९ मा पुर्ण रुपले परिचालित हुन कार्यदल गठन गरी कार्यान्वयनमा ल्याउनु पर्छ।आफ्ना बलबुताले सकेको बिदेशी सहयोग लिई पिपिई, परिक्षण किट तथा अन्य स्वास्थ्य सामाग्री, खरिद तथा  उत्पादन गर्न सक्ने ल्याकत राख्दै नेपाली नागरिकको रक्षा गर्नु संबिधानले परिकल्पना गरेको स्वायत्त प्रदेश सरकार हो।

बिशेष गरि सात प्रदेशले प्रदेश स्तरीय पुर्ण क्षमताको प्रयोगशाला निर्माणमा गर्नु मा जोड दिनु पर्दछ। यसो गर्नाले हालको स्थितिमा देशका कुना कन्दराका आशङ्का गरिएका बिरामीहरुको नजिकै परिक्षण सम्भव भई उपचार छिटो छरितो हुनेछ। जति छिटो पहिचान भयो त्यति छिटो उपचार हुने भएकाले सङ्क्रमण बढ्न नदिन यसले महत्वपुर्ण भुमिका निर्बाह गर्ने छ। त्यस्तै  चीनले १० दिनमा १००० जना लाई पुर्ण सुबिधा दिन सक्ने गरी पुर्ण क्षमताको अस्पताल बनाउन सके झैं नेपालका प्रदेश सरकारले पनि कमसेकम १०० जनालाई पुर्ण क्षमताको सुबिधा दिन सक्ने अस्पताल तुरुन्तै बनाउनु पर्दछ। त्यस्तै यस प्रकारका अस्पतालको निर्माण गर्नाले ७ प्रदेशमा ७०० पुर्णक्षमताको अस्पताल निर्माण हुनेछन र महामारी सँग जुध्न सहयोगी सिद्ध हुनेछ।अप्ठ्यरो परिस्थितिमा नागरिकको रक्षा गर्न अबिभावकको भुमिका निर्बाह गर्नु आजको दिनमा प्रदेश सरकारबाट पनि अपेक्षित छ। ।त्यस्तै प्रदेश सरकारले आफ्नो अस्तित्वको आवश्यकता प्रमाणित गर्न अति आवश्यक सामाग्रीको आपुर्ति सहज गरी लकडाउन खेपी रहेका नेपाली नागरिकका खानेपानी, खाद्यान्न जस्ता आवश्यकता परिपुर्ति गर्न बढी जोड दिनु पर्छ। जुन नागरिकले देख्न सक्ने सरकारको कार्य हुन सक्ने छ र प्रदेश सरकार पनि धन्यबादको पात्र बन्ने छ। नागरिकको रोजाईमा पर्ने छ।

स्थानीय सरकार

यस महामारीसँग जुध्न सबै भन्दा प्रभाबकारी सरकार भनेको स्थानिय सरकार हो। किनकी स्थानिय सरकार आफ्ना नागरिकहरुको सधै सम्पर्कमा रहने भएकोले को कहाँ गएका छन? कहिले फर्केका हुन? जस्ता ट्राभेल हिस्ट्री बारे सुचना लिन सहज हुन्छ। स्थानिय सरकारको स्थानियाका बारेमा लगत राख्न, सुचना प्रदान गर्न महत्वपुर्ण भुमिका रहन्छ। कुनै पनि नागरिकको बास स्थान थाहापाउने सरकार भनेको स्थानिय सरकार हो। यो महामारीको बेलामा महामारीसँग जुध्न स्थानिय सरकारले कुन घरमा को मानिस कहाँबाट आएका छन? त्यो कत्तिको प्रभावित क्षेत्र हो? जानकारी लिएर वडा स्तरका कम्तीमा २० जना मात्र रहन सक्ने क्वारेन्टाईन बनाए पनि देश भर लगभग १,५०,००० मानिस अट्न सक्ने क्वारेन्टाइन हुन्छन र यो नै हालको लागि सङ्क्रमण फैलिन नदिने उपयुक्त बिधि हो। स्थानिय सरकारले सडक सन्जाल सम्भव भए सम्म एम्बुलेन्सहरुको घुम्ती सेवा, सडक सन्जाल नभएको स्थानमा अन्य आवतजावतका सामाग्री सँग निरन्तर समन्वय गर्ने,क्वारेन्टाईन ब्यवस्थापन र अति आवश्यक औषधिको जोहो गर्ने, परिक्षण गर्न समन्वय गर्ने, लगत राख्ने, सुचना दिने जस्ता सामुहिक जनताका कार्य गर्नाले यो महामारी बिरुद्ध बिजय हुन अवश्य पनि सहज पार्ने छ। त्यस्तै वडाका सीमामा को मानिस कहाँबाट आएका भन्ने अभिलेख राख्न  र जोखिम को पहिचान गर्न पनि मद्दत गर्ने छ।

यसरी कोरोनाको त्रासमा भरखरै जग बस्न लागेको संघीय प्रणालीको तीन तहको सरकारको नागरिकलाई सहयोग गर्ने उद्देश्यले एक आपसमा समन्वय, सहकार्य गर्दै यो महामारीसँग जुध्न र प्रणालीले आ आफ्ना स्तरबाट सही ढंगले काम गरोस भन्ने आश आम जनतामा रहेको छ। एक आपसमा समन्वय, सहकार्य गर्दै शासकीय प्रणालीले यो र यो भन्दा ठुला ठुला महामारीलाई पनि पराजित गरोस भन्ने नै आजको दिनमा जनताले अपेक्षा गरेका छन।