धरान । कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनले नेपालका शिक्षालयले ‘अनलाइन कक्षा’ को अभ्यास थालेका छन् ।

तर, यसको प्रभावकारिता र उपलब्धिका विषयमा ति शिक्षालयका गुरुहरू नै निश्चिन्त देखिएनन् । धरानमा केके इन्टरनेशनल स्कुलले चैतको अन्तिम सातादेखि नै अनलाइन कक्षा प्रारम्भ गरेको थियो । उसले नमूनाका कक्षाका रूपमा १० का विद्यार्थीहरूमा सुरु गरेको केही समयपछि नै अहिले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई नै अनलाइन कक्षामा सहभागी गराएको छ ।

जुम एप प्रविधिबाट इन्टरनेटका पहुँचमा भएका विद्यार्थीहरूलाई मुख्य चार वटा विषय पढाइँदै छ । केके इन्टरनेशनल स्कुल सञ्चालक समिति अध्यक्ष तथा बोर्ड अफ डाइरेक्टर प्रवीण अग्रवाल भन्छन्, ‘अहिलेसम्मको अभ्यास हेर्दा हाम्रोमा चाहिँ राम्रै उपलब्धि भइरहेको छ । जुम एमबाट सिकाउने मात्रै हो, प्रश्न उत्तर सबै कपीबाटै गर्छन् ।’ उनका अनुसार हरेक शुक्रबार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत यसपटक हाजिरजवाफ प्रतियोगिता गराएको थियो । अनलाइनमार्फत् नै गरिएको हाजिरजवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई अवार्डसमेत वितरण गरिएको छ । ‘यसलाई कतिपय अभिभावकले सकरात्मक रूपमा लिएको पाएको छुँ’ उनले भने, ‘अभिभावकले फेसबुकमा भिडियो नै बनाएर पनि हालेका छन् ।’

धरानका नाम चलेका स्कुलहरूले अहिले अनलाइन कक्षालाई प्राथमिकतामा राखेका छन् । लकडाउन लम्बिँदै गएका कारण पनि नयाँ शैक्षिक सत्रको कोर्ष पूरा नहुने हो कि भन्ने त्रासका कारण पनि अनलाइन कक्षा सुरु गरिएको हो । विष्णु मेमोरियल स्कुलका प्रिन्सिपल बेनिन्द्र कटवालले भने, ‘हामीले कक्षा १० र प्लस टुमा ११ लाई अनलाइनमार्फत् पढाइरहेका छौं । तर प्रभावकारितामाथि चाहिँ शंका छ ।’ उनका अनुसार जो पढ्नुपर्छ भन्ने विद्यार्थीहरू छन् त्यस्ता विद्यार्थीहरूको लागि अनलाइन कक्षा निकै प्रभावकारी हुने गरेको भए पनि आम विद्यार्थीका लागि अनलाइन कक्षामा शंका गर्ने ठाउँहरू प्रसस्तै छन् ।

उनले भने, ‘कतिपय विद्यार्थीको घरमा इन्टरनेटको पहुँच हुँदैन, त्यस्ता घरका विद्यार्थीहरूले यो कक्षामा सहभागी हुने सम्भावना न्यून हुन्छ । प्रत्यक्ष सहभागी भएर पढाएजस्तो त हुन्छ भन्ने लाग्दैन ।’ विदेशतिर अनलाइन कक्षा धेरै अगाडि देखि प्रचलनमा आएको हो । तर, नेपालमा यसको अभ्यास लकडाउनका कारणले हालैमात्र सुरु भएको छ । लकडाउनका कारण पठनपाठन प्रभावित हुन थालेपछि सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । एनटिभी प्ल्स च्यानलबाट सुरु गरिएको यो कक्षा बिहानको ११ बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुन्छ । जहाँ कक्षा ९ र १० का पठन सामग्री प्रस्तुत भइरहेको छ ।

केही समयदेखि नै अनलाइन कक्षा सुरु गरेको धरानको समीट स्कुलले हाल कक्षा १० का विद्यार्थीहरूलाई सहभागी गराइरहेको छ । अनिवार्य गणित, ऐच्छिक गणित र नेपाली विषयमा अनलाइन कक्षा सुरु गरेको छ । तर, विद्यार्थीको उपस्थिति ५० प्रतिशतको हाराहारीमा मात्रै रहेको स्कुलका प्रिन्सिपल रमेश दाहाल बताउँछन् । ‘कक्षा १० मा ३९ जना विद्यार्थी छन् । त्यसमध्ये दैनिक १५–२० जना अनलाइनमा आउँछन्’–उनले भने । उनका अनुसार सिक्न इच्छा भएका विद्यार्थीहरू १० प्रतिशत मात्रै हुने गरेकाले यसको प्रभाकारिता तथा उपलब्धितामाथि चाहिँ शङ्का गर्ने ठाउँ छ ।

धरानमा डिपो माविले पनि कक्षा १० र प्लस टुका विद्यार्थीहरूलाई अनलाइन कक्षामा सहभागी गराइरहेको छ । लकडाउन लम्बिए अन्य कक्षालाई पनि अनलाइन कक्षा सुरु गर्ने कि भन्ने सोचमा रहेको स्कुलका प्रिन्सिपल राजकुमार राईले बताए । ‘अहिले हामीले एसईई र प्लस टुका विद्यार्थीलाई मात्रै अनलाइन कक्षामा सहभागी गराएका छौं’–उनले भने । उनका अनुसार एसईईमा सहभागी हुनेमध्ये ६० प्रतिशत विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भइरहेका छन् । प्लस टुमा भने ३० प्रतिशतको हाराहारीमा मात्रै विद्यार्थी सहभागी भएको उनले बताए । डिपोमा प्लस टुमा २ सय ७५ विद्यार्थी छन् भने एसईई दिनेमा ९२ जना विद्यार्थी छन् ।

शिक्षासेवी प्रा.डा. राजेन्द्र शर्माका अनुसार नेपालमा अनलाइन कक्षा लिनका लागि न विद्यार्थीहरू नै तयारी छन्, न त शिक्षकहरू नै । स्कुल, कलेज तथा विश्वविद्यालयहरूले अनलाइन कक्षाको व्यवस्था गर्नका लागि त्यस्तो तयारी नै देखिएन । उनले भने, ‘हरेक विद्यार्थीमा एण्ड्रोइड फोन हुन्छ भन्ने छैन, हरेक गार्जेनले किन्न सक्ने क्षमता छैन, अर्को कुरा शिक्षकहरूले नै पर्याप्त मेटेरियल लिएर पढाउन बस्नसक्ने गरी तयारी नै गरेका छैनन् ।’ उनका अनुसार अब चाहिँ विश्वविद्यालय, कलेज तथा स्कुलहरूले अनलाइन कक्षाका लागि सोच्नु पर्ने र तयारी थाल्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । मुलुकभर २९ हजार ३५ सामुदायिक विद्यालय रहेका छन् भने अन्य ६ हजार ५६६ विद्यालय रहेका छन् ।

education_insituate