राने हुनुहुन्छ ? मधुशालाका विषयमा थाहै होला ! अझ तपाईं पत्रपत्रिकाको पारखी हुनुहुन्छ भने त मधुशाला नपुगेको दिन नहोला ! नामको कोशीय अर्थको ठीक विपरीत छ, मधुशाला । यहाँ प्याला होइन, पेला पाइन्छ अर्थात् चिया ।

यहाँको विशेषता नै चिया हो । चियाको चुस्कीसँगै नेपालबाट प्रकाशित हुने पत्रपत्रिकाको स्वाद यहाँकाे अर्काे विशेषता हाे । बिहानकाे ५ः३० मधुशाला खुल्छ । लगभग ७ः०० बजे बन्द हुन्छ । यही बीचमा थरिथरिका चिया पारखी आइपुग्छन् । मधुशालाका ‘मधु दा’ आफूलाई ‘मधु प्याला’ नामले चिनाउँछन् । साहित्यका पारखी हुन् भन्ने बुझ्न उनका डायरीहरू हेरे काफी हुन्छ । अझ उनलाई चिन्न मधुशालाको र्याकमा भरिएका साहित्य, धर्म, दर्शन, संस्कृतिका किताबहरू हेरे काफी हुन्छ । उनकाे दर्शनकाे अर्काे सिध्दान्त 'पढाइ' नै हाे । उनकाे दर्शन बुझ्न याे तस्बिर हेरे छर्लङ्ग हुन्छ । 

dharan_madhusala_Tea_shop_two

व्यक्तिगत रूपमा ‘घुँग्रिएको कपाल, ठूलो निधार, ठूला आँखा, नाकका पोरासँगै विफरे गाला, लगभग ५ फुट २ इञ्च उचाइ, गोरो वर्ण’ यत्ति हो उनको परिचय । जो बिहान उठ्छन्, नित्यकर्म सुरु हुन्छ, पत्रिकाको पसल पुगेर । घरभन्दा एक सय मिटर उत्तरमा पर्ने भानुचौकमा पुग्छन् । पत्रिका टिप्छन्, फर्किन्छन् । मधुशाला अगाडिको टेबलमा फुत्त पत्रिका फाल्छन् । त्यहीँ टेबुलमा ती दिनका पत्रिकाहरू पल्टिरहन्छन्–पल्टिरहन्छन् दिनैभरि । बालकदेखि युवा, वृद्धासम्मले स्वाद लिन्छन् धित मरूञ्जेल ।

चियाको चुस्कीसँगै पानाहरू पल्टिन्छन् । कसैको दिनभरिको पाना त्यही मधुशालाबाट पल्टिन सुरु हुन्छ । पत्रिकाको राशिफलले निर्धारण गर्छ, कयौं पारखीको दैनिक जीवन । तर, मधु दा रत्तिभर विश्वास गर्दैनन्, राशिफलप्रति । उनको कटाक्ष हुन्छ,–‘जसले भाग्य लेख्छ, उसैको भाग्य कस्तो छ ? उसैलाई थाहा छैन, भोलि के हुन्छ उसैलाई ज्ञान छैन ।’ भगवान्, देवीदेउता, भूतपिशाच, राक्षस उनको कुनै चिजमा दिलचस्प छैन । सग्लो हेर्दा उनी नास्तिक हुन् । तर, भगवान् गौतम बुद्धका तस्बिरहरू मधुशालाका कुनाहरूमा भने अवश्यै छन् ।

पूर्वीय दर्शनका षडदर्शनभध्येका उनी साङ्ख्य दर्शनझैं लाग्छन् । विद्वान्हरू यसलाई आस्तिक पनि मान्छन्, नास्तिक पनि । शिवायः बौद्ध, चावार्क, जैन छाडेर । उनी दर्शनका गहिरो अध्येता हुन् । तर, धर्मलाई उनी पाखण्ड मान्छन् । पत्रिकामा छापिएका धर्मका पाखण्डी कुराहरूलाई मधुशालाका काठका भित्ता टाँसिएका छन् । धर्मका कडा विरोधी हुन् । यसो भनिरहँदा धर्मसम्बन्धी पुस्तकको अध्ययन गर्दैैनन् भन्ने होइन । उनको मिनी पुस्तकालय पुग्नु भएको छ भने तपाईं निश्चिन्त हुनुहुन्छ । पुग्नु भएको छैन भने चाहिँ कोशीय अर्थभन्दा भिन्न छ, मधुशाला ।

dharan_madhusala_Tea_shop_one

मधुशालाको कोशीय अर्थ हुन्छ, ‘जाँडरक्सी आदि मादक पदार्थ बनाउने, बेच्ने वा राख्ने ठाउँ, मदिरागृह, भट्टी, बार ।’ तर, यसका विपरीत यहाँ चिया बेचिन्छ । तर, चियाका पारखीका लागि भने व्यवहारिक अर्थ छ, अभिधा अर्थ । सोझो अर्थ । मधु दा पनि ‘प्याला’ का पारखी होइनन् । उनी साहित्यका पारखी हुन् । दैनानुदिन गजल कोर्छन्, कविता कोर्छन्, मुक्तक कोर्छन्, हाइकु, ताङ्का । यस्तैयस्तै छ उनको रातो डायरीमा । उनका प्रेमिल गजलभित्र क्रान्तिकारिता भेटिन्छ । त्यस्तो क्रान्तिकारिता जो आडम्बर, पाखण्ड, धर्मभीरू छन्, त्यस्ताप्रति शब्दका गुच्छाहरूले प्रहार गर्छन् ।

मधुशाला जीवन हो । यो उनको मात्रै जीवन होइन् । ८–१० जना परिवारको जीवन हो । यही मधुशालाबाटै उनको परिवारको जीवनको पैय्या चलेको छ । अझ कयौंकयौं चिया पारखीका लागि जिब्रोको स्वाद भरेको छ । मधुशाला एउटा माध्यम । ब्यञ्जनात्मक अर्थमा चाहिँ साँच्चैको मधुशाला । एउटा अड्डा । जहाँ राजनीति, दर्शन, धर्म, संस्कृति, संस्कार, जाति, पहिचानको चर्चा चलिरहन्छ । समूहसमूहले आआफ्नो तर्क गर्छन् । वादविवाद चल्छ । तर, जित्ने समूह हुँदैन । त्यहाँ आउने राजनीतिज्ञले पत्रिका पढेरै आफ्नो धारणा बनाउँछन् । त्यही धारणा जनतालाई बेच्छन् । सालिन, भद्र जमातहरू पनि आइपुग्छन्, दैनिक ज्यालामजदुरी गर्ने पनि आइपुग्छन् । भनाै, मजदुरदेखि विद्वानसम्म ।

स्वादिलो चियाको पहिचान पनि हो मधुशाला । दैनिक कति नयाँ अनुहारहरू देखिन्छन् । शहरमा नदेखिएका अनुहार पनि त्यहाँ देखिन्छन् । केही क्षण आउँछन् । पत्रिकाका पानाहरू पल्टिए झैं ती नयाँ अनुहारका पानाहरू पनि पल्टिन्छन् । यस्तैयस्तै चल्छ दिनभरि मधुशालामा । चकमन्न त केबल साँझको सातबजेदेखि बिहानको साढे ५ बजेसम्म । यही बीचमा मधुशालाका जीवनहरू पनि अस्ताउँछन् । त्यसपछि फेरि दौडादौड, भागाभाग चलिरहन्छ, चिया बनाउन उभिएका मधु दा पनि उनीहरूजसै दाैडिन्छन्, भाग्छन् । कति चियाका पेला बिके । कति बिस्कुटहरू बिके तत्क्षण मधु दालाई पनि थाहा हुँदैन । हिसाबकिताबको बेग्लै खाता छ, बहि खाता । त्यही खातामा लेखाजोखा हुन्छ पेलाका ।

dharan_madhusala_Tea_shop

तर, चैत ११ गतेदेखि मधुशाला रङ्गहीन छन् । भित्तामा टाँसिएका धर्मका पाखण्डी विचारहरू सुक्दै गएका छन् । हेरिदिने कोही छैन । एक टक हेर्याे भने भित्तामा मधुशाला (चियालय) लेखिएको रातो अक्षर देखिन्छ । बिहानदेखि साँझसम्म टल्किन्छ । त्यसपछि अध्याँरोसँगै हराउँछ । भोलि उसैगरी ब्युँझन्छ, उसैगरी अस्ताउँछ । लकडाउनले मधुशालाका पानाहरू पल्टिन छाडेकाे पनि आज ३९ औं दिन पुगेछ । सखारै उठ्ने मधु दा पनि कतिखेर उठ्छन् थाहा छैन । मधुशालाभन्दा अगाडिकी दिदी भन्नु हुँदैथियो, ‘खैँ कतिखेर उठ्नुहुन्छ थाहै हुँदैन ।’ सखारै उठ्ने मधु दा अहिले किताबमा घोरिएका होलान्, पुस्तकका पानाहरू लकडाउनका दिनगन्तीसँगै पल्टिँदै होलान् । राशिफल हेरेर सुरु हुने दिनचर्याहरू अहिले कोठामा कैद छन् । बन्दी भएका छन् । राजनीति भाषण छाट्ने ती मनुवाहरू पनि उसैगरी बन्दी बनेका छन् । सोच्दा हुन् कहिले खुल्ला लकडाउन र, मधुशालाका ती बेञ्चहरू तानेर राजनीति छाँटुला !