- भूमिराज पराजुली
दमक / १ सय ४४ किलोमिटर भन्दा बढी क्षेत्रफल भारतसँग सिमाना जोडिएको जिल्ला हो झापा । यहाँको पूर्व , दक्षीण र उत्तर क्षेत्र भारतसँग सिमाना जोडिएको छ । सबै सिमानाका खुल्ला छन् । विभिन्न खोला, नदि र खोल्साहरु सिमाना हुन । सिमानामा जोडिएका नेपाली बस्ति छन् । बस्तिका आसपास स्थानीयबासीले विभिन्न खेति लगाएका छन् । कतै धान छ कतै मकै । भारतमा मजदुर गर्न गएकाहरु ती नै मकै र धानबारीबाट लुकी लुकी भारतबाट नेपाल प्रवेश गर्ने अझै रोकिएको छैन । साथै गाउँले आफैले पनि सिमामा अलपत्र परेका आफ्ना आफन्तलाई गाउँ छिराईरहेका छन् ।
जिल्लाका सिमावर्ती क्षेत्रमा हाेिल्डङ एरिया बनाइएको छ । भारतमा रेल र लामो दुरीका बसहरु सिमित संख्यामा संचालन हुन थालेपछि सिमानामा नेपालीहरु आउन थालेका हुन् । तर भारत र नेपाल दुई देशकै सिमाना सिल गरिएको छ ।
नियम र अन्तराष्ट्रिय कानुन अनुसार भारत वा नेपाल दुवै देशले शिल गरेको क्षेत्रबाट न आफ्ना नागरिक न अन्य देशका नागरिकलाई प्रवेश गर्न दिन पाइदैन । तर भारत पक्षले यसको धज्जी उडाउदैं भारतबाट धमाधम नेपालीहरुलाई नेपाल प्रवेश गराइरहेका छन् । तर नेपालबाट भने कोही पनि भारतीयहरुलाई भारत तर्फ जान नदिइएको नेपाल पक्षको दावी छ ।

यदि सिमानाकाबाट कसैलाई अर्को देश प्रवेश गर्न दिइने हो भने अहिले कोरोना भाइरस (कोभिड १९) को परिक्षण गराएर मात्र थप गतिविधि अगाढी बढाउन पाइने प्रावधान छ । भारतबाट आउने नेपालीहरुको भारतले नै कोरोना परीक्षण गराएर संक्रमणल नदेखिएकाहरु मात्र नेपाल प्रवेश गराउनु पर्ने हो तर त्यसो हुन सकेको छैन ।
भारतबाट कोरोनाको परिक्षण त के तापक्रम समेत परिक्षण नगराई नेपालीहरु आफुखुसी नेपाल आइरहेका छन् । जसले गर्दा पछिल्लो समय नेपालमा दिन दुई गुणा रात ४ गुणा कोरोनाका संक्रमित बढिरहेका छन् ।
भारतको कष्टकर यात्रा
झापाको झापा गाउँपालिका वडा नं ५ का देवीप्रसाद कोच । भारतमा १ वर्ष रोजगारका लागि गएका थिए । भारतको नयाँ दिल्लीमाको एक होटलमा काम गर्ने कोचलाई , १ महिना सम्म त रोजगारदाताले निशुल्क खाना खुवाएर र बस्न दिएर राख्यो । तर लक डाउनको अवधि बढी रह्यो । होटल खुल्ने र पूर्ण सञ्चालनमा आउने कुनै छाँटकाट देखिएन । परिस्थिती झन झन् सकसपूर्ण हुन थालेपछि अव खान र बस्न पनि नदिने र २ घण्टा भित्रै यहाँबाट निस्केर जान भन्दै रोजगारदाताले भनेपछि आफ्नो आङ ढाँक्ने केहि थान कपडा झेलामा हालेर उनी घर फर्कन बाटो लागे । तर कसरी जाने । तत्काल सम्भव थिएन । साहुले बस्न समेत नदिएपछि निस्केका उनी ३ दिन सम्म जंगलमा बसेर र ४ दिन लगाएर नेपालको सिमानाकामा आइपुगे । भोक प्यासले थलिएर लामो संघर्ष पछि उनी सिमानामा आइपुगेका छन् । उनलाई सिमानाबाट उद्धार गरेर झापा गाउँपालिकाको डिल्लीराज माविको क्वारेण्टाईनमा राखिएको छ ।
उमेरले करिव ३ कोरी पुरा भएका प्रेमकुमार मण्डल पनि यहि क्वारेटाईनमा छन् । घरको आर्थिक अवस्था केहि सुधान गर्न भनेर भारत भासिएका उनी १ वर्षमै भारतबाट नेपाल फर्किए । भारतको महाराष्ट्रमा सबै भन्दा बढी संक्रमण देखिएको छ । उनी त्यहि काम गर्दथे । उनी भारतमा काम गर्दै गर्दा उनको कोरोना परीक्षण भएको छैन । त्यसैले उनमा कोरोनाको संक्रमण छ वा छैन भन्ने थाह छैन । परीक्षण नगरिएका कारण कुनै त्यस्तो लक्षण पनि देखिएको छैन । त्यहि भएर उनी ५ दिन लगाएर नेपाल आइपुगे । २ दिन हिँडेर र ३ दिन बस र रेल हुँदै उनी नेपाली सिमाना आइपुगेका हुन । उनी पनि झापा गाउँपालिकाको डिल्लीराज माविमा छन् । भारतीय पक्षले सहजै नेपाल प्रवेश गर्ने दिए तर नेपाल पक्षले चाही सहजरुपमा नेपाल छिर्न नदिएको उनको गुनासो छ ।
सुविधा विहिन क्वारेन्टाइन
झापा गाउँपालिका वडा नं ४ टाघन्डुब्बाका डिल्लीराज माद्यमिक विद्यालय । यो विद्यालय अहिले बन्द छ । बन्द रहेका कारण यो विद्यालयलाई क्वारेण्टाईन बनाइएको छ । यो विद्यालयमा २ वटा शौचालय छन् र २ वटा ट्यूबेल । यहाँ भारतमा अलपत्र परेर भर्खरै मात्र आएकाहरुलाई राखीएको छ । यहाँ ५२ जनालाई राखीएको छ । यहि क्वारेण्टाईनमा बसेका पर्वत कुमार राजवशींका अनुसार प्रत्येक २÷२ जनालाई एक÷एक डल्ला नुहाउने साबुन दिइएको छ । सामुहिक रुपमा लुगा धुने साबुन दिइएको छ । उनीहरुले प्रयोग गर्ने खानेपानीको बाल्टी, मग सामुहिक नै चल्छ । उनीहरु समुहमै बस्छन् । झुरुप्प भएर । मानौ उनीहरु विदेशमा काम गर्दा सामुहिक रुपमा होष्टलमा बसेका छन् । होष्टलमा बस्दा जस्तो जस्तो सुविधा छ त्यस्तै मात्र । तर क्वारेण्टाइनमा हुन पर्ने न्यूनतम पनि मान्यताहरु नअपनाइएका कारण यहाँबाट थप संक्रमण फैलन सक्ने प्रष्टै छ । यहि क्वारेण्टाईनमा बसेका १ जनामा कोरोनाको संक्रमण देखिएको पनि थियो । तर पनि यहाँ न्यूनतम मापदण्ड समेत अपनाइएको छैन ।
झापा गाउँपालिकाको मात्र १५ किलोमिटर भन्दा बढी क्षेत्र खुल्ला सिमानाका छ । भारतमा रेल र लामा दुरीका सिमित बस चल्न थालेदेखी चोरबाटो भएर दैनिक रुपमा सयौको संख्यामा भारतबाट नेपालीहरु भित्रीरहेका छन् । कति संख्यामा आउँछन् र कति कति आउँछन् भन्ने कुराको अनुमान समेत गर्न सकिएको छैन । त्यसैले पनि सिमावती क्षेत्रमा रहेका पालिकाहरुलाई संख्यात्मक आधारमा व्यवस्थापन गर्न चुनौती देखिएको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए ।
एकै पटक हुलकाहुल आउन थालेपछि मापदण्ड अनुसारको क्वारेण्टाईन निर्माण गर्न नसकेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह स्विकार गर्छन । सामान्य रुपमा सुत्नका लागी फरक फरक ओछ्यान, नुहाउने साबुन, दाँत माझ्ने ब्रस लगायतका सामाग्री र दैनिक रुपमा खानाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष शाहले बताउनु बताए । अझै यहि मात्रामा आइरहने हो भने गाउँपालिकाले मात्र धान्न नसक्ने उनको भनाई छ । प्रदेश र सघिंय सरकारले सिमावर्ती पालिकामा ध्यान नदिएका कारण अवस्था झन झन जटिल बन्दै गएको छ । गाउँपालिकाका मात्रा हो भने त हामी जसो तसो व्यवस्थ्था गर्न सक्छौ तर यहाँ गाउँपालिका भन्दा अन्य ठाउँका पनि छन् । त्यसैले कि त तत् गाउँपालिकाले यहाँबाट उद्धार गरेर लैजान पर्यो कि त प्रदेश र संघिय सरकारले पनि यसको व्यवस्थापनका लागि सहयोग गर्न पर्यो । अध्यक्ष शाहले बताए ।
झापा गाउँपालिकाबाट मात्र भारतमा रोजगारीमा गएकाहरु ४ देखि ५ हजारको हाराहारीमा रहेको गाउँपालिकाको प्रारम्भिक तथ्याकंमा छ । तर यी नाकाबाट यस गाउँपालिका मात्र होईन । जिल्ला १५ स्थानीय तर र देशका विभिन्न जिल्लाबाट पनि आउने गरेका कारण व्यवस्थापन गर्न थप चुनौती देखिएको जनप्रतिनिधीको जवाफ छ । यसले गर्दा सामाजिक दुरी समेत कायम गराउन नसक्दा संक्रमणको चुनौती थप बढेको छ ।