कोभिड–१९ को महामारी विश्वव्यापी फैलिएको छ । यो २१ औं शताब्दीमा बाँचेका आम मानिसले कुनै पनि बेला यस्तो महामारी आइपर्ला भनेर सायदै कल्पनासम्म गरेका थिए होलान् । पछिल्लो तीन आधा शताब्दी यता कोरोना जस्तो यति भयावह महामारी कसैले भोगेका थिएनन् । बरु युद्धहरू भोगे, सुनामी, बाढी, पहिरो, आतङ्कवादी आक्रमण भोगे । ती सबै एउटा निश्चित मुलुक वा महादेशमा मात्र सीमित थिए । इबोला, एच–वान एन–वान, सार्स, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता महामारी आए पनि कोभिड–१९ जतिको भयावह महाहारी भोगिएन । ती सरुवा रोगहरूले बढीमा १० देखि १५ हजार जनाको ज्यान लिएपछि नियन्त्रणमा आएको थियो । तर यो सम्पादकीय लेखिरहँदासम्म कोभिड–१९ ले साढे ६ महिनामा ४ लाख ३३ हजार ४ सय ३२ जनाको ज्यान लिइसकेको छ । ७९ लाख १४ हजार ८ सय ६६ जना सङ्क्रमित भइसकेका छन् ।
जनस्वास्थ्यविद्, माइक्रोबायोलोजिष्ट, भाइरोलोजिष्ट, चिकित्सक, विश्लेषकहरूले कोभिड–१९ को विश्वव्यापी महामारी फैलँदा यति धेरै सङ्क्रमण होला र लाखौंको ज्यान लेला भनेर कमैमात्र कल्पना गरेका थिए । यो तीव्र रूपमा फैलँदै नियन्त्रणबाहिर गएपछि अहिले विश्वमै चुस्त स्वास्थ्य प्रणाली, पर्याप्त मेडिकल उपकरण, औषधि, साधन स्रोत भएका र आर्थिक भौतिक रूपमा पनि शक्तिशाली मानिएका अमेरिका, चीन, बेलायत, जर्मनी, इटाली, फ्रान्स, रुस, स्पेनलगायत मुलुकले पराजय स्वीकारिसकेका छन् ।
अहिले कोभिड–१९ दक्षिण एशियाली मुलुकतिर अनियन्त्रितरूपमा फैलने क्रम जारी छ । त्यसमा नेपाल पनि पर्छ । नेपाल आफैमा गरिब मुलुक हो । शिक्षा, स्वास्थ्य, भौतिक विकास निर्माणमा धेरै पछि परेको मुलुक हो । यस्तो अवस्थामा कोरोनाको सामना गर्नु परेको छ । हालसम्म नेपालमा कोरोना भाइरसकै कारण १९ जनाको मृत्यु भइसकेको छ । ६ हजार २ सय ११ जना सङ्क्रमित पुष्टि भएका छन् भने १ हजार ४१ जना निको भएका छन् ।
खासगरी चीनको वुहानमा कोरोना फैलिएको तीन महिनापछि मात्र नेपालमा देखिन थालेको हो । त्यतिन्जेलसम्ममा कोरोना नियन्त्रणका लागि सरकारले केही न केही मोडालिटी तयार गरेर लागू गरिसक्नु पर्ने थियो । हवाईमार्ग भएर आएका विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पथ्र्यो । स्थलमार्ग भएर भारतीय सीमा र चीनको सीमा पार गरेर आउनेहरूलाई पनि कडाइका साथ स्वास्थ्य चेकजाँच गरेर क्वारेन्टाइनमा राख्नु पथ्र्यो । तर समय घर्किदै गएपछि चैत ११ गते लागू गरेको लकडाउनबाट सरकारले लाभ लिन नसकेको देखियो । लकडाउन गरेर सरकार एक प्रकारले ढुक्क भएर आन्तरिक खिचातानीमा व्यस्त भयो । लकडाउन अवधिमा सरकारले आफ्ना नागरिक बचाउन के कति औषधि, स्वास्थ्य उपकरण आवश्यक पर्छ, त्यसको लेखाजोखा गरेर तत्कालै खरिद गर्न सक्नु पथ्र्यो । तर यसैबेला गुणस्तरहीन उपकरण ल्याएर अर्बौं रुपैयाँ स्वाहा पारेपछि आलोचना हुने नै भयो । अहिले विदेशबाट नेपाली नागरिक आउने क्रम जारी छ । अरू मुलुकमा विभिन्न कारणले होस् वा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरू उद्धारको पर्खाइमा छन् ।
तर सरकार सुस्त देखिएको छ, आफ्ना नागरिक उद्धार गर्न ढिलाइ भइरहेको छ । भनिन्छ, वैदेशिक रोजगारीमा मात्र नेपाली नागरिक कम्तिमा ५५ लाख जना गएका छन् । नेपनलीहरू जुन जुन मुलुकमा कार्यरत थिए, ती ती मुलुकले ‘तिम्रा नागरिक स्वदेशमा फिर्ता लैजाऊ’ भनिरकेका छन् । तर सरकारले सकिरहेको छैन । पछिल्लो समयमा सय जना, दुई सय जना ओसारेर ठूलै उद्धार गरेको भान पारिरहेको छ सरकार । विदेशमा रहेका ५५ लाखमध्ये २५ प्रतिशतमात्र पनि ल्याएमा डब्लुएचओको प्रोटोकल अनुसार राख्ने सुरक्षित क्वारेन्टाइनको व्यवस्था खोइ कहाँ गरेको छ ? कागजमा अनि भाषणमा बोलेर मात्र हुँदैन ।
अहिले जनता पिसिआर जाँच धेरैभन्दा धेरै गर्न माग गरेर आन्दोलितसमेत भइरकेका छन् । किट, भिटिएमको अभावमा पिसिआर जाँचसमेत पर्याप्त मात्रामा गर्न नसकिरहेको बेला विदेशबाट आएका आफ्ना नागरिकको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताभन्दा पनि सत्ता कसरी टिकाउने र स्वास्थ्य उपकरणमा कसरी कमिसन फुत्काउने भन्ने ध्याउन्न सरकार लागिपरेको छ । ज्यामितीय शैलीमा सङ्क्रमितको सङ्ख्या बढिरहेको र मृतकको सङ्ख्या पनि बढिरहेको अवस्थामा अब ‘जे परे पर्ला, त्यै टर्ला’ वा ‘देखाजाएगा’ भनेर बस्नुको विकल्प आमनागरिकले भेटेका छैनन् । तर सरकारले जनताको हितमा लगातार पारदर्शी भएर प्रयास जारी राख्यो भने कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण एशियाली मुलुकहरू ताइवान, जापान, दक्षिण कोरिया र सिङ्गापुरले दिएका छन् । यसका लागि सत्तामा बस्नेहरूको मन पवित्र हुन जरुरी छ ।