बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा दर्ता बिनाको एक बिद्यालयले ६ सय बिद्यार्थी भर्ना गरेको खुलेको छ । सम्बन्धित निकायसँगको अनुमति नलिई स्कुलले त्यति धेरै संख्यामा बिद्यार्थी भर्ना गरेको पाइएको हो ।
मेचीनगर नगरपालिको वडा नम्बर–१० मा सञ्चालनमा रहेको दन्तकाली इङ्लिस सेकेण्डरी स्कुलले ठाउँसारी गर्ने अनुमति नलिई सोही नगरपालिकाको वडा नम्बर–१२ मा पठन पाठन शुरु गर्न लागेको हो । सञ्चालकले सामान्य प्रक्रिया पनि पुरा नगरी स्कुल ठाउँसारी गरेको पाइएको छ । स्कुलको ठाउँसारी, नाम परिवर्तन र कक्षा थप गर्न सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने प्राबधान रहेको छ । सञ्चालकले स्थानीय तहका सरोकारवालालाई पत्तै नदिई ज्यामिरगढीको बिद्यालय चारआलीमा ल्याएका हुन् ।

मेचीनगर शिक्षा समितिले संस्थागत बिद्यालय शुल्क निर्धारण निर्देशिका २०७२ तथा प्रचलित कानून बमोजिम २०७६ साल माघ मसान्तभित्र निवेदन दिन नगरका बिद्यालय सञ्चालकलाई अनुरोध गरेको थियो । सोही अनुरोध बमोजिम बिभिन्न बिद्यालयले कक्षा थप, ठाउँसारी, नाम परिवर्तन समेत गराएका थिए । सो समयमा नियमानुसार निवेदन दर्ता नगराएको दन्तकाली स्कुलले ठाउँसारी गरेर पठन पाठन शुरु गर्ने तयारी गरेको छ ।

स्कुल सञ्चालकले अनुमतिबिनै ठाउँसारी गर्ने निर्णय गरेपछि बिद्यार्थीको भविश्यमाथी प्रश्न उठ्न थालेको छ । सञ्चालक अर्जुन बस्नेतले मेचीनगर नगरपालिकाको वडा नम्बर–१२ बाट फागुन–७ गते स्कुल सञ्चालन गर्ने भन्दै सिफारिस निकालेका छन् । वडा नम्बर–१२ ले पनि वडा नम्बर–१० बाट ठाउँसारीको सिफरिस लिएको/नलिएको अध्ययन नगरी सिफरिस दिएको सार्वजनिक भएको छ । स्कुलले मेचीनगर नगरपालिकाको शिक्षा शाखामा ठाउँसारीबारे कुनै जानकारी नगराएको पाइएको छ ।

गैरकानुनी रुपमा स्कुल सञ्चालन भएको थाहा भएपछि मेचीनगर शिक्षा शाखाले बैशाख–२१ गते एक सुचना प्रकाशन गरि सो स्कुलमा बालवालिका भर्ना नगर्न सर्बसाधारणमा सुचित गरेको थियो । प्याब्सन मेचीनगरले पनि बैशाख–२९ मा गैरकानुनी रुपमा ठाउँसारी भएको भनिएको स्कुल सञ्चालन हुन रोक लगाउन माग गरेको थियो । अभिभावकमा समेत सो स्कुलमा बालवालिका भर्ना नगर्न प्याब्सनको अपिल रहेको थियो ।

मेचीनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख होम भण्डारीले संघीय सरकारले जारी गरेको शिक्षा नियमावलीमा नगरपालिकाको एउटा वडामा तीनवटा भन्दा बढी संस्थागत मावि हुन नहुने प्रावधान रहेको जानकारी दिए । उनले तीनवटा भन्दा बढी संस्थागत स्कुललाई एउटै वडामा सञ्चालनका लागि अनुमति दिन नसकिने समेत बताए ।

संस्थागत बिद्यालय संचालन तथा ब्यवस्थापन गर्न २०६९ सालमा निर्माण भएको निर्देशिकाले एउटा वडामा तीनवटा भन्दा बढी बिद्यालयलाई सञ्चालन हुुन रोक लगाउनुपर्ने उल्लेख छ । पुरानो सञ्चालन भएको हकमा भने बन्द गर्न नहुने, नयाँ दर्ता र ठाउँसारी गरेर तीनभन्दा बढीको संख्या बनाउन नमिल्ने बताइएको छ । ‘स्कुल जस्तो प्रतिष्ठान चलाउने, त्यो पनि कानून पुरा नगरी ? शिक्षा शाखा प्रमुख भण्डारीले भने–‘गैरकानुनी रुपमा सञ्चालन हुन्छन भने बन्द गर्नुपर्छ ।’ मेचीनगर १० मा युनिक, दुर्गा र माउण्ट पोइन्ट नामका संस्थागत बिद्यालय सञ्चालनमा रहेका छन् ।

भण्डारीले २०७७ सालको जेठ ५ गते मात्र दन्तकाली स्कुलका सञ्चालक बस्नेतले ठाउँसारीको निवेदन दिएको बताए । तर, बस्नेतले मेचीनगर नगरपालिकाको शिक्षा समिति र वडा कार्यालयले आलटाल गरेर आफुलाई माघदेखि अलमल्याएको बताए । तोकिएको समयसिमाको १८ दिन काम अड्काएर नियमानुसार ठाउँसारी गर्न नदिएको आरोप बस्नेतको छ ।

स्कुल ठाउँसारीको लागि अनुमति नदिए अदालतमा मुद्दा हाल्ने समेत बस्नेतले चेतावनी दिए । सरोकारवाला निकायको कमजोरीका कारण ठाउँसारी नभएको आरोप लगाउँदै बस्नेतले जसरी पनि सिफारिस दिनुपर्ने जिकिर गरे ।

‘स्कुल त जसरी पनि चल्छ, बस्नेतले भने–‘जमिन बाहेकका संरचना तयार गर्दा ४ करोड रुपैंयाँ खर्च भएको छ, त्यो लगानी डुबाउनु त भएन नी ?’ बस्नेतले ६ सय बढी बिद्यार्थीले किताब खरिद गरिसकेको जानकारी दिए । अन्य स्कुलको भन्दा आधुनिक र सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको हुँदा आफ्ना बिद्यार्थीले स्कुल परिवर्तन गरेर दन्तकालीमा जाने डरका कारण अरु स्कुलले बिवाद निकालेको दावी उनको थियो । अझ धेरै बिद्यार्थी हाम्रो सम्पर्कमा आएका छन्, यसरी नै बिद्यार्थीको चाप बढ्ने हो भने हामीले बिद्यार्थी पढाउन सक्दैनौ भनेर फिर्ता गर्नुपर्ने हुन्छ–बस्नेतले भने ।

मेचीनगर १० ज्यामिरगढीमा दन्तकाली इङिलस सेकेण्डरी स्कुल नामले सञ्चालन हुँदै आएको सो बिद्यालय सोही नगरको वडा नम्बर १२ चारआलीमा आइडियल इङिलस सेकेण्डरी स्कुल नामले सञ्चालन हुने तयारीमा थियो । ठाउँसारी र नाम परिवर्तन गर्ने समय गजारेपछि अहिले ठाउँसारी मात्र गरेर भएपनि सञ्चालनमा ल्याउने योजनामा सञ्चालक रहेका छन् ।