• अनिल श्रेष्ठ

विराटनगर/ पाठ्यक्रम विकास केन्द्रले तोकेको मूल्यभन्दा बढी रकम लिएर जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश १ विराटनगरले पाठ्यपुस्तक बिक्री वितरण गरेको पाइएको छ ।

कक्षा पाँचको ‘मेरो नेपाली’ पुस्तकमा तोकिएको भन्दा ७ रूपैयाँ बढी मूल्य लिएर जनक शिक्षा सामग्री केन्द्रले बिक्रेताहरूलाई पाठ्यपुस्तक बिक्री गरेको पाइएको हो । पाठ्यक्रम विकास केन्द्रले कक्षा पाँचको ‘मेरो नेपाली’ पुस्तकको खुद्रा मूल्य ७१ रूपैयाँ तोकेको छ । तर जनक शिक्षाले पुस्तकमा तोकिएको एमआरपी मूल्यभन्दा ७ रुपैयाँ बढी लिएर बिक्रेतालाई ७८ रूपैयाँमा पाठ्यपुस्तक बिक्री गर्दै आएको प्रमाण ब्लाष्टले फेला पारेको छ ।

२०६९ मङ्सिर १ गते शिक्षा मन्त्रालयको गरेको निर्णयअनुसार स्टकमा रहेको पाठ्यपुस्तकको मूल्य पुरानै कायम हुने भनेर पाठ्यक्रम विकास केन्द्रले ०६९ मङ्सिर ७ गते सूचना प्रकाशित गरेको छ । तर, जनक शिक्षाले परिमार्जित संस्करण २०७४ को पुस्तक बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न राज्यले गरेको लकडाउनले गर्दा शैक्षिक सङ्घ–संस्था बन्द भए पनि छोराछोरीलाई घरमै अध्ययन गराउन अभिभावकले पाठ्यक्रम खरिद गर्न शुरू गरेका छन् । तर लकडाउनको समयमा पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी मूल्यमा पाठ्यपुस्तक अभिभावकले खरिद गर्न बाध्य भएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए ।

बढी पैसा लिएर विद्यार्थी र अभिभावकको ढाड सेक्ने काम मात्र नभएर ठगी र कालोबजारी गरेको उनले बताए । यसरी पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी मूल्य लिनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘एमआरपीभन्दा बढी पैसा हालेर अभिभावकलाई पुस्तक बिक्री गर्नु भनेको कालोबजारी नै हो’ उनले भने, ‘यसरी बिक्री वितरण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’

२१ असारमा विराटनगर –९ ट्राफिकचौकस्थित पपुलर पुस्तक भण्डारबाट कक्षा पाँचको मेरो नेपाली पुस्तक एक जना अभिभावकले खरिद गरेका थिए । पपुलर पुस्तक भण्डारले पाँच कक्षाको मेरो नेपाली पुस्तक ७८ रुपैयाँमा बिक्री गरेको थियो ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले गत असार २२ गते पपुलर पुस्तक भण्डारलाई विपक्षी बनाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् ।

यता पपुलर पुस्तक भण्डारका सञ्चालक मातृका सिवाकोटीले जनक शिक्षा सामग्री केन्द्र लि.सँग खरिद गरेको मूल्यअनुसार नै आफूले पुस्तक बिक्री गरेको बताए । ‘गत असार २१ मा ५० थान कक्षा पाँचको मेरो नेपाली पुस्तक प्रतिपुस्तक ७८ रूपैयाँले खरिद गरेको थिएँ’ उनले भने, ‘त्यही दररेटमा मैले पाठयपुस्तक बिक्री गरेको हुँ ।’

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्यभन्दा बढी रकम लिएको भन्दै पपुलर पुस्तक भण्डारका सञ्चालक सिवाकोटीले पनि मोरङ प्रशासनमा जनक शिक्षा सामग्री केन्द्र लि. प्रदेश कार्यालय विराटनगरलाई विपक्षी बनाएर गत असार २४ गते उजुरी दिएका छन् ।

‘जनक शिक्षा सामग्रीले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्य र शिक्षा मन्त्रालयको निर्णय विपरीतको कार्य गरी देशभरका पुस्तक व्यवसायीलाई अभिभावक र उपभोक्ताको नजरमा बदनाम गराउने गरी कालोबारी गरेकोले कारबाहीको माग गर्दछौं’ पपुलर भण्डारले प्रशासनमा दिएको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धु्रवबहादुर खड्काले पब्लिक फोरम र पपुलर पुस्तक भण्डारले पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी मूल्य लिएर जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक बिक्री गरेको भन्दै उजरी आएको बताए । ‘अहिले बुझ्ने काम भइरहेको छ’ उनले भने, ‘जनक शिक्षा सामग्री केन्द्र लि. प्रदेश १ लाई लिखित स्पष्टीकरण पनि सोध्ने तयारी भइरहेको छ ।’

यता जनक शिक्षा सामग्री केन्द्र लि. प्रदेश १ का कार्यालय प्रमुख भूपराज थापाले केन्द्रले तोकेअनुसार पाठ्यपुस्तक बिक्री गरेको बताए । यस वर्षको नयाँ शैक्षिक सत्रदेखि मूल्य बढेकोले हामीले पनि केन्द्रको सर्कुलेसन अनुसार पाठ्यपुस्तक बिक्री गरेको उनको भनाइ छ ।

कक्षा ८ को नेपाली पुस्तकमा मूल्य छैन
जनक शिक्षा सामग्रीले कक्षा ८ को नेपाली विषयको पाठ्यपुस्तकमा मूल्य नराखी बजारमा पठाएको पाइएको छ । २०६९ मङ्सिर १ गते शिक्षा मन्त्रालयको निर्णयअनुसार मूल्य नलेखिएका नयाँ वा पुराना पुस्तकहरूमा अनिवार्य मूल्य राखी बिक्री वितरण गर्ने व्यवस्था गरिएको छ । तर, जनक शिक्षाले प्रकाशन गरेका अधिकांश कक्षा ८ को नेपाली पुस्तकमा मूल्य नराखी बिक्री गरेको पाइएको हो ।

मूल्य नराखी पाठ्यपुस्तक बजारमा पठाउँदा व्यवसायीहरूले अभिभावकसँग मनपरी मूल्य लिने गर्दछन् । पाठ्यक्रम विकास केन्द्रले मूल्य तोकेको मात्र पाठ्य सामग्री बजार पठाएर बिक्री वितरण हुनुपर्ने पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेले बताए ।

Badi-mulya Ujayari