बन्दाबन्दीअघि रमाई–रमाई प्रि–स्कुल जाने झापाकी ४ वर्षीया बालिका अब स्कुल खुलेपछि जाँदै नजाने भन्न थालेकी छन् । घरमै बस्छु, स्कुल गयो भने कोरोना लाग्छ भन्छिन् । पहिले पढ्न, लेख्न निकै मन पराउँथिन् । अहिले पढाइलेखाइमा उनलाई पटक्कै रुचि छैन ।

विश्वभरि धेरै मानिस सङ्क्रमित भइरहँदा र धेरैको मृत्यु भइरहँदा बन्दाबन्दीभन्दा पहिले नै विद्यालयहरूमा कोरोनाको बारेमा कुरा हुन थालेको थियो । ‘सायद स्कुलमा त्यतिखेर शिक्षकबाट अनि ठूला विद्यार्थीबाट कोरोनाले पु¥याएको क्षति र अहिले रेडियो वा टिभीबाट समाचार सुनेर पो हो कि ? मेरी भदैनी निकै डराएकी छन्’ –उनकी फुपू भन्छिन् ।
काठमाडौंका कक्षा–७ का एक विद्यार्थी पनि अब स्कुल खुलेपछि तुरुन्तै नजाने बताउँछन् । कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेको र मान्छे मरेको समाचार सुनेर उनलाई अत्यन्तै डर लाग्न थालेको छ । ‘यस्तो समाचार सुन्दा मुटु बेस्सरी ढुकढुक गर्छ’ उनले भने, ‘स्कुल जाँदा अरूबाट मलाई पनि सर्न सक्छ । स्कुल खुलेपछि एक महिना जति हेर्छु । साथीहरूको अवस्था बुझ्छु, अनि मात्र ‘डिसिजन’ गर्छु ।’

साना केटाकेटीमा कोरोनाका कारण बन्दाबन्दीपश्चात् स्कुल खुलेपछि जाने डर मात्र होइन, अरूखाले चिन्ता पनि देखिन थालेको छ । एक बालिकालाई राति निन्द्रा लाग्न छोड्यो । उनकी आमा पनि अति नै डराउन थालिन् । उनीहरू दुईजना मात्र घरमा थिए । आमा–छोरी रातभरि सुत्न नसकेपछि अहिले उनीहरूलाई आफन्तले आफ्नो घर लगेका छन् ।

अर्का एक ९ वर्षीय बालक आफ्नी आमालाई अब बच्चा नजन्माउनू है भन्न थालेका छन् । उनकी आमालाई लकडाउनका बेला छोरो एक्लै भएको देखेर छोरोलाई साथी चाहिँदो रहेछ भन्ने महसुस भयो । अर्को सन्तान भएपछि सुख–दुःखमा छोरोको साथी हुन्छ भन्ने उनलाई लाग्यो । ‘तिम्रो साथी हुन्छ, अर्को बच्चा पाउनुप¥यो है भनेको त हजुर नै मर्नुभयो भने के गर्ने, हुँदै हुँदैन भन्छ छोरो’ –उनले भनिन् ।

कोरोना त्रासका कारण यसरी साना बालबालिकामा आफूलाई अनि आफ्ना अभिभावकलाई केही होला भन्ने चिन्ता, निन्द्रामा गडबडीजस्ता मनोसामाजिक समस्या देखिन थालेको छ ।

हामी अभिभावकहरू मोबाइल, टिभी र अन्य सञ्चार माध्यममा कोरोनाको बारेमा धेरै समाचार हेरिरहेका हुन्छौं । यसैबारेमा घरमा वा अरूसँग फोनमा बालबालिकाका अगाडि नै कुरा गरिरहेका हुन्छौं । ओहो १ यति सङ्ख्या पुगिसकेछ, लौ अब बर्बाद हुने भो भनेर आफै पनि डराइरहेका हुन सक्छौं । र, यस्ताखाले हाम्रा कुराकानीले केटाकेटीमा त्रास पैदा गरिरहेको हुन सक्छ ।

‘यति मरिसके, यति सङ्ख्या पुगिसक्यो भनेर बालबालिकालाई तर्साउनु हुँदैन । यति जना निको भइसके । घर गएर काम गर्न थालिसके । कोरोनाबाट सबैको मृत्यु हुँदैन भनेर सकारात्मक कुरा सुनाउनुपर्छ । उनीहरूले बुझ्नेगरी सतर्क र सचेत रहने तरिका सिकाउनुपर्छ’ मनोविद् चेतना लोकसम भन्छिन्, ‘अभिभावक आफै आत्तिनु हुँदैन । अझ केटाकेटीको अगाडि त हुँदै हुँदैन । यसको असर केटाकेटीमा पर्छ । यो केही समयको समस्या मात्र हो । सधैँ यस्तो हुँदैन । केही समयपछि जीवन सामान्य हुन्छ भन्ने कुरा अभिभावक आफूले पनि बुझ्नुपर्छ र केटाकेटीलाई पनि बुझाउनुपर्छ ।’

विद्यालयमा साथीहरूसँग भेटघाट अनि पठन–पाठनमा बानी परेका बालबालिकाको दिनचर्या अहिले फरक भएको छ । उनीहरूले आफ्ना साथीहरूसँग नभेटेको र कुराकानी नगरेको धेरै भइसकेको छ । लामो समयदेखि बन्दाबन्दीमा बस्दा उनीहरूलाई अत्यास लागिसकेको छ । तर अहिले उनीहरू पूरै समय आमाबुबासँग बस्न पाएका छन् । यो केटाकेटी तथा अभिभावक दुवैका लागि एक–अर्कासँग नजिकिने अवसर पनि हो । आफ्ना केटाकेटीको मनमा के छ सुन्ने–बुझ्ने अवसर पनि हो अभिभावकका लागि । कुराकानी गरेर हुन्छ कि फकाएर मनका कुरा लेख्न लगाएर हुन्छ, उनीहरूको कुरा बुझ्न सकिन्छ । यसो गर्दा उनीहरूमा मनोसामाजिक असर परेको छ–छैन भनेर थाहा पाउन र सहयोग गर्न सकिन्छ ।

‘बालबालिकामा मनोसामाजिक असर पर्न नदिन उनीहरूलाई चित्रकला, गायन, सङ्गीत, नृत्य, कथावाचन वा रुचिका अन्य क्रियाकलापमा सहभागी गराउन सकिन्छ । उनीहरूलाई गर्न सक्ने जिम्मेवारी दिनुपर्छ । जस्तोः आफ्नो वरपर वा कोठा सरसफाइ गर्न लगाउन सकिन्छ, मनोविद् लोकसमको सुझाव छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको एक सामग्रीअनुसार यदि सङ्कटको समय लम्बिएमा बालबालिकामा अधिक तनाव, मानसिक स्वास्थ्य समस्या विकसित हुन सक्छ । उनीहरूको सोचाइ, स्मरण शक्ति, बानी व्यवहार, सिकाइ क्रियाकलाप, भावनात्मक अवस्थामा नकारात्मक असर पर्न सक्छ ।

बालबालिकामा मात्र होइन, अभिभावकमा समेत कोरोनाको त्रास छ । आफूलाई केही होला, आफ्ना केटाकेटी वा आफन्तलाई केही होला भन्ने डर छ । आफ्नो रोजगारी तथा व्यवसायको चिन्ता समेत छ । भोलि बन्दाबन्दी खुलेपछि पनि कतिपय अभिभावक केटाकेटीलाई स्कुल पठाउन तयार देखिँदैनन् । काठमाडौंकी एक अभिभावक सुशीला धिताल भन्छिन्, ‘यो वर्ष खेर गए पनि जाओस् । म त छोरोलाई स्कुल पठाउँदै पठाउँदिनँ । कहिले औषधि बन्ला जस्तो भइसकेको छ ।’

अब्बल नेपालकी निर्देशक मनोविद् विजया बिजुक्छेको भनाइमा अहिलेको विपद्मा बालबालिकालाई धेरै डर लाग्नु, रिस उठ्नु, झर्को लाग्नु अनि ठूलाहरूमा समेत राति नसुत्ने, असाध्यै तनाव र थकान हुने, छट्पटी बढ्ने, खानामा अरुचि हुने जस्ता व्यवहार देखिन थालेको छ । यो सामान्य हो । तर, साना–ठूला सबैमा यस्ताखाले व्यवहार २ हप्तादेखि लगातार भइरहेको छ वा कम भएको छैन भने परामर्श लिनुपर्छ । नभए मानसिक स्वास्थ्यमा नै समस्या आउन सक्छ ।

विभिन्न सङ्घ–संस्थाहरू तथा मनोविद्हरूले यस सम्बन्धमा अहिले नै निःशुल्क रूपमा सेवा दिइरहेका छन् । मनोविद्हरूका अनुसार असाध्यै डर लागेको वा तनाव भएका बेला आफ्नो मनको कुरा अरूलाई भन्ने वा यसो गर्न नसकिए कापी वा डायरीमा लेखेर व्यक्त गर्दा धेरै फाइदा हुन्छ । लेखिसकेपछि च्यातेर फाल्न पनि सकिन्छ । यस्तै शारीरिक व्यायाम र श्वास लिने र फाल्ने अभ्यास पनि अत्यन्तै उपयोगी हुन्छ । आफूलाई घरको काम वा रुचिका विभिन्न क्रियाकलापमा व्यस्त राखेर अभिभावकले आफ्नो तनाव व्यवस्थापन गर्न सक्छन् । आफू तनावरहित भएर आफ्ना केटाकेटीलाई सहयोग गर्न सक्छन् ।

बालबालिकाको स्वस्थ मनोसामाजिक अवस्था शिक्षकको अवस्थासँग पनि जोडिन्छ । केही समयपछि विद्यालय खुल्छन् नै । विस्तारै विद्यार्थीहरू विद्यालय जानेछन् । विद्यार्थीलाई आवश्यक सहयोग गर्न शिक्षक आफै पनि भयरहित हुनुपर्छ । तनावरहित हुनुपर्छ । कोरोना महामारीको सङ्कट कहिलेसम्म लम्बिन्छ, अन्यौल नै छ । शिक्षक आफै पनि ढुक्क हुने अवस्था छैन । झापा जिल्लाको अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविकी शिक्षक सिर्जना रोक्का भन्छिन्, ‘आफ्नै बच्चाबच्ची जस्तो लाग्ने विद्यार्थीसँग धेरै घुलमिल हुन्थ्यौं । अब स्कुल जाँदा छुन पनि डर लाग्ने हो कि ? फेरि एउटै कक्षामा ६० जनाभन्दा बढी विद्यार्थी पनि छन् । भौतिक दूरी कसरी व्यवस्थापन गर्ने हो ?’

बन्दाबन्दी खुलेपछि पनि कतिपय अभिभावक केटाकेटीलाई स्कुल पठाउन तयार देखिँदैनन् । काठमाडौंकी एक अभिभावक सुशीला धिताल भन्छिन्, ‘यो वर्ष खेर गए पनि जाओस् । म त छोरोलाई स्कुल पठाउँदै पठाउँदिनँ । कहिले औषधि बन्ला जस्तो भइसकेको छ ।’

कयौं विद्यालयमा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन् । कक्षाकोठा साँघुरा छन् । थुप्रै विद्यालयमा पर्याप्त शौचालय, पानीको अभाव छ । स्वास्थ्य जाँच तथा सरसफाइको राम्रो व्यवस्था छैन । कति स्कुललाई त क्वारेण्टिनका लागि प्रयोग गरिएको छ । कक्षाकोठा, सरसफाइ, स्वास्थ्य जाँच, शौचालय, पानी, यातायात, खाजा–घर व्यवस्थापनका बारेमा अहिलेदेखि नै तयारी ग¥यौं वा योजना बनायौं भने भोलि स्कुल खुल्दा ढुक्क हुने अवस्था आउँछ । अहिले विद्यार्थी, शिक्षक र अभिभावक सबैको चिन्ता र चासोसँग जोडिएको विषय हो यो ।

कतिपय बालबालिकाहरू मनोसामाजिक असर लिएर विद्यालय आएका हुन सक्छन् । उनीहरू आफै पनि सङ्क्रमित भएर निको भइसकेका पनि हुन सक्छन् । परिवारमा कसैलाई भएको हुन सक्छ वा कोही आफन्तको कोरोनाका कारण मृत्यु भएको हुन सक्छ । असाध्यै प्रभावित जिल्ला वा क्षेत्रका बालबालिका हुन सक्छन् विद्यालयमा । यी र यस्ता कारणले विद्यालयमा उनीहरूलाई बेवास्ता वा हेला वा अन्य दुव्र्यवहार गरिन सक्छ । विभेद हुन सक्छ । उनीहरूमाथि प्रयोग गरिने भाषा अपमानजनक वा उनीहरूको मनमा चोट पु¥याउने खालको हुनसक्छ ।

कोरोना सङ्क्रमणको जोखिम अझै केही समय रहने हुँदा बालबालिकाहरू सङ्क्रमणको जोखिमका कारण निकै त्रसित भएका हुन सक्छन् । उनीहरूको मनमा अनेक जिज्ञासा हुन सक्छन् । प्रश्न हुन सक्छन् । कोरोना जोखिमका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्ने सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था आर्थिक वर्ष २०७७÷७८ को बजेटमा पनि उल्लेख गरिएको छ । अब विद्यालय खुल्दा बालबालिकाको मनोसामाजिक अवस्थाबारे विद्यालयहरूले विशेष ध्यान दिनु जरूरी छ ।
–शिक्षक मासिकबाट साभार