- धनबहादुर पुरी
इटहरी / लकडाउनमा पनि सडक दुर्घटनाको अवस्था प्रदेश १ मा उस्तै देखिएको छ ।
चार महिनाभन्दा लामो लकडाउनमा सवारी गतिविधि आंशिक मात्रै भए पनि मृत्यु हुनेको सङ्ख्यामा कमी नआएको तथ्याङ्कले पुष्टि गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ मा १४ जिल्लामा ३ सय ३२ जनाले अकालमै ज्यान गुमाएका छन् । १ हजार ३ सय ३२ जना घाइते बनेका छन् । जसमध्ये २ सय ६२ जना पुरुषको मृत्यु भएको छ भने ४९ जना महिलाले ज्यान गुमाएको देखिन्छ । १४ जना बालक र ७ जना बालिकाले पनि सडक दुर्घटनामा नै ज्यान गुमाएका छन् । आर्थिक वर्षमा १ हजार ८ सय ६८ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जसमध्ये सबैभन्दा बढी ८ सय ४१ वटा मोटरसाइकल दुर्घटना भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका असइ ज्ञानु देउजाले बताए । अघिल्लो वर्ष १ हजार ८ सय ७३ वटा सवारी दुर्घटनामा परेको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ मा ३ सय ७३ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा केही कमी आए पनि यथेष्ट सुधार भएको देखिँदैन । आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश १ मा ४ सय २४ जनाको मृत्यु भएको थियो । यो तथ्याङ्क हेर्दा दुर्घटनाको सङ्ख्यामा उल्लेख्य सुधार भएको देखिँदैन ।
मादक पदार्थ सेवन गरेर सवारी चलाएको भन्दै चालू आर्थिक वर्षमा ११ हजार २ सय २२ जना कारबाहीमा परेका छन् । अघिल्लो वर्ष ९ हजार ८ सय ८४ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा ४ हजार २ सय ९२ जना कारबाहीमा परेका छन् । मुलुकका सहरी क्षेत्रका सडकको अवस्था कहालीलाग्दो छ । साँघुरा र भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । अधिकांश घटनामा चालकको लापरबाहीमुख्य कारण हुने गरेको टूाफिक प्रहरीले बताउँदै आएको छ । सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले गर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीहरू बताउँछन् । तीव्र गति, सवारी चालकको लापरबाही तथा सडकको दुरावस्थाका कारण पूर्वी नेपालमा सवारी दुर्घटना र ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि बढ्दै छ ।
राजस्व सङ्कलनमा कमी
२ लाख २४ हजार ९ सय १० सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै उक्त सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरूबाट ट्राफिकले १४ करोड ५७ लाख ४१ हजार ५ सय रुपैयाँ असुल गरेको जनाएको छ । गत आर्थिक वर्षहरूको तुलनामा राजस्व सङ्कलनमा भने कमी आएको छ । अघिल्लो वर्ष २ लाख ५९ हजार सवारी कारबाहीमा १६ करोड ७५ लाख ९८ हजार ५ सय राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा २ लाख ६४ हजार सवारी कारबाहीमा पर्दा १६ करोड १६ लाख १ हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोडका राजा झैं रातो रसिदसहित बसेको ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण गर्न खोजे पनि दुर्घटना न्यूनीकरण वर्षौंदेखि उस्तै छ । जनसङ्ख्याको चाप, पुराना गाडी, बेपरवाहचालक, ओभरलोड, धुलो र खाल्टा भएको मार्ग तर पनि सबै यात्रुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता नेपालीको साझा समस्या बन्दै गएको छ ।