झापा / असार १० गतेयता एक महिनाको अवधिमा बाढी, पहिरोमा झापामा १७ जनाले अकालमै ज्यान गुमाएका छन् ।
यसमध्ये अधिकांश बाढी, केही डुबेर र केही पहिरोमा परेर ज्यान गुमाएका हुन् । असार १० गते झापा बाह्रदशी गाउँपालिका–७ की डेढ वर्षीया बालिका अनुषा टुडुको डुबेर मृत्यु भयो । घरनजिकैको कुलोको पानीमा डुबेर उनको मृत्यु भयो । उनलाई कुलोेमा जानु हुँदैन भन्ने ज्ञान नहुनु स्वभाविकै हो तर परिवारका कसैले पनि कुलोमा जान रोकेनछन् । उनको मृत्यु भएको दुई दिनपछि शिवसताक्षी नगरपालिका–८ काभ्रेचोकमा ३ वर्षीय कुमार विष्टको पनि कुलोमै डुबेर ज्यान गयो । त्यस्तै असार २८ गते भर्खरै खनिएको सेफ्टी ट्याङ्कीमा डुबेर भद्रपुर नगरपालिका–३ का ७ वर्षीय इभान भट्टराईको मृत्यु भयो ।

यी बालबालिकालाई कुलो, सेफ्टी ट्याङ्कीमा जान हुँदैन भन्ने ज्ञान नदिँदाको परिणाम अहिले घरका अभिभावकले भोगिरहेका छन् । बालबालिका मात्रै होइन, डुबेर, बाढी र पहिरोमा परेर ठूलाले पनि ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयका झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसार बालबालिकाहरू घर छेउछाउकै खोला, नहर, कुलो र खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको देखिन्छ । बिहीबार मात्रै भद्रपुर–२ पृथ्वीनगरस्थित कमलधाम पर्यटन तथा सिमसार क्षेत्रमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भद्रपुर–२ डिगाउँका अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, सोही ठाउँका कमला थामीका दुई छोरा १२ वर्षीय अर्जुन र १४ वर्षीय करण थामीको ज्यान गएको छ । मृतक तामाङ एसियन स्टार बोर्डिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । उनीहरू पोखरीमा माछा मार्न गएका थिए । प्रहरीका अनुसार यसरी ज्यान गुमाउनेमा सानादेखि ठूलासम्म छन् । ८ जना पुरुष, एक महिला र ८ जना बालबालिकाले ज्यान गुमाएका छन् । त्यस्तै बुद्धशान्ति गाउँपालिका–७ मा साउन ६ गते पहिरोमा पुरिएका कारण ३ जना घाइते बनेका छन् ।

सामान्य उपाय नअपनाउँदा धेरै जनाको ज्यान गएको देखिएको छ । अभिभावकहरूले बालबालिकाहरूलाई ज्ञान नदिँदा र जान हुँदैन भन्ने नबताउँदा अकालमै धेरैले ज्यान गुमाएका छन् । झापामा एक महिनामा मृत्यु भएको यो सङ्ख्या प्रतिनिधि मात्रै हो । अन्य जिल्लामा पनि यो एक महिनामा थुप्रैले अकालमै ज्यान गुमाएका छन् । अकालमै ज्यान गएको घटनालाई गम्भीर रूपमा नलिँदाको परिणाम सम्बन्धित परिवारले नै भोग्ने गरेको छ तर यसतर्फ चनाखो हुने हो भने माथि भएका घटनामा धेरैको ज्यान जोगाउन सकिने विश्लेषकहरू बताउँछन् ।