सन् २०१० मा सेण्ट पिटर्सवर्ग बाघ शिखर सम्मेलन रसियामा आयोजना गरिएको थियो । उक्त सम्मेलनमा बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने निर्णय गरियो । सो सम्मेलनबाट नै अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरिएको थियो । घटिरहेको बाघको सङ्ख्या बढाउने, बाघको बासस्थान संरक्षण गर्ने र बाघको महत्वबारे जनचेतना फैलाउने काम तत्कालै शुरु गर्नुपर्छ भनी सो सम्मेलनले आवाज मात्र उठाएन निर्णय कार्यान्वयनको लागि तत्काल काम पनि शुरु गर्यो ।

एनिमल प्लानेट, बीबीसी, म्यानचेष्टर न्युजलगायतका थुप्रै संस्थाले फरक–फरक समयमा गरेको सर्भेले बाघलाई सबैभन्दा लोकप्रिय जनावरको रूपमा देखाएको छ । अनि बाघलाई नै सबैभन्दा धेरै मानिसले मन पराएका छन् । तथापि बाघको क्षयीकरण हेर्दा लाग्छ, बाघलाई मायाले थामिरहेको छैन । सय वर्षअघिको तुलनामा बाघहरू ९३ देखि ९५ प्रतिशतले घटेको पाइन्छ । सन् २०१५ मा प्रकाशित अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को मूल्याङ्कनअनुसार सन् १९९८ मा विश्वमा पाँच हजारदेखि सात हजार बाघहरू थिए । त्यस्तै सन् २०१० मा यो सङ्ख्या घटेर दुई हजार १ सय ५४ पुगेको थियो । विश्व वन्यजन्तु कोषका अनुसार हाल विश्वमा करिब तीन हजार ९ सय बाघहरू रहेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची २०१५ का अनुसार, सन् २००६ मा बाघहरू विश्वको १३ देशमा पाइने भए तापनि सन् २०१४ सम्ममा आइपुग्दा बाघ आठ देशहरूमा सीमित भए । बाघको बासस्थान रहेका ती देशहरू हुन्–बङ्गलादेश, भुटान, भारत, इण्डोनेसिया, मलेसिया, नेपाल, थाइल्याण्ड र रसिया । यी देशका बासस्थानमा मात्र बाघको प्रजनन् भएको पाइएको छ ।

बिरालो वर्गको सबैभन्दा ठूलो र शक्तिशाली यो बाघलाई सन् २०१५ सालमा सङ्कटापन्न जनावर घोषणा गरिएको थियो । बाघ ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) को अनुसूची १ मा सूचीकृत छ । यो अनुसूचीमा लोप हुने स्थितिमा पुगेका प्रजातिहरू समावेश गरिन्छन् ।

विश्व वन्यजन्तु कोषका अनुसार पहिले विश्वमा नौ प्रजातिका बाघ पाइन्थे । तीमध्ये कास्पियन, जाभान र बाली प्रजातिका बाघहरू लोप भइसकेका छन् । विश्वमा अहिले बङ्गाली, साइबेरियन, इण्डोचिनियाँ, दक्षिण चिनियाँ, सुमात्रा, मलायान गरी ६ प्रजातिका बाघहरू मात्र छन् । पाटेबाघका प्यानथेरा टाइग्रिस टाइग्रिस र प्यानथेरा टाइग्रिस सोण्डाइका गरी दुई उपप्रजाति पनि छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले नेपालमा बाघलाई संरक्षित जीवको सूचीमा राखेको छ । नेपालमा बाघ संरक्षण कार्यान्वयन योजना २०१६–२०२० लागू भएदेखि बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।

नेपालमा सन् १९६४ सालदेखि चितवनको दक्षिण भागमा महेन्द्र मृग कुञ्ज (हालको नाम चितवन राष्ट्रिय निकुञ्ज) स्थापना गरेर बाघ संरक्षण गर्न थालिएको हो । नेपालमा बाघको गणना क्यामेरा ट्रयापिङ प्रविधिमार्फत् गरिन्छ । प्रत्येक बाघको पाटाको स्वरूप फरक–फरक हुने भएकाले क्यामेरा ट्रयापिङको सहायताले यसको गणना गर्न सम्भव भएको हो ।

नेपालमा प्रत्येक पाँच वर्षमा पाटेबाघको गणना गरिन्छ । सन् २०१८ सालमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले संयुक्तरूपमा तयार पारेको रिपोर्ट ‘स्टाटस अफ टाइगर्स एण्ड प्रे इन नेपाल’ का अनुसार सन् २००९ मा नेपालमा पाटेबाघको सङ्ख्या १ सय २१ थियो । सन् २०१३ मा उक्त सङ्ख्या बढेर १ सय ९८ र सन् २०१८ मा २ सय ३५ पुगेको थियो । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्ज गरी पाँच राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छन् । पछिल्लो गणनाअनुसार अहिले बाँके राष्ट्रिय निकुञ्जमा २१, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाघ छन् ।

भुटानमा पछिल्लो २०१४ सालको गणनाअनुसार १ सय ३ बाघ छन् । हाम्रो छिमेकी मुलुक भारतले पनि बाघ संरक्षणमा उल्लेखनीय परिणाम हात पारेको छ । सन् २००६ मा एक हजार १ सय ४१ वटा मात्र बाघ भएको भारतमा बाघको सङ्ख्या बढेर सन् २०१४ मा दुई हजार २ सय २६ र सन् २०१८ मा दुई हजार ९ सय ६७ पुगेको छ । नेपालमा गएको चार वर्षमा १९ प्रतिशतले बाघको सङ्ख्या बढ्दा भारतमा भने ३३ प्रतिशतले बढेको छ ।

बाघको सङ्ख्या बढेसँगै चुनौतीहरू पनि बढेका छन् । बाघको सङ्ख्या बढेमा बाघ वन क्षेत्रबाट बाहिर जान सक्ने सम्भावना पनि बढ्छ । बाघ एक्लै बस्ने र प्रत्येक बाघको अलग–अलग इलाका हुने भएकाले बाघको सङ्ख्या बढेमा उनीहरूका बीचमा आन्तरिक द्वन्द्व पनि बढ्ने सम्भावना देखिन्छ । यसको लागि बाघ संरक्षण क्षेत्र बढाउन जरुरी छ ।
साधारणतया बाघ भन्नाले पाटेबाघ नै बुझिन्छ । यसको टाउको, शरीर, खुट्टा र पुच्छरमा साँघुरो कालो, खैरो पाटाहरू र रातोरातो, सुन्तला रङको भुत्ला हुने भएकाले हेर्दा साह्रै सुन्दर र मनमोहक देखिन्छ । मान्छेको औंलाको छापजस्तै यसको पञ्जाको छाप पनि एक–अर्काभन्दा भिन्न हुन्छ । बाघहरूले घाँसेमैदानदेखि उष्ण तथा समशीतोष्ण सदावहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमि आसपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा समेत बसोबास गरेको पाइन्छ । यिनीहरू चार हजार मिटर उचाइसम्म पनि पाइने गरेका छन् । यो विशेषगरी शिकार धेरै भएको र पर्याप्त मात्रामा पानी भएको स्थानमा बस्ने गर्दछ ।

विश्व वन्यजन्तु कोष नेपालका अनुसार वयस्क बाघ करिब तीन मिटर लामो र २ सय ५० किलोग्रामभन्दा बढी तौल भएको हुन्छ । पोथीभन्दा भालेको तौल र लम्बाइ अधिक हुन्छ । बाघ एक्लै बस्न र एक्लै शिकार गर्न रुचाउँछ । शिकारको पर्याप्तताका आधारमा यसको इलाका (क्षेत्र) फरक–फरक हुन्छ । पोथीको इलाका १० देखि ४०० वर्गकिलोमिटर हुन्छ भने भालेको इलाका ३० देखि एक हजार वर्ग किलोमिटरसम्म हुन्छ । बघिनीले औसतमा दुईदेखि चारवटा डमरु प्रत्येक दुई वर्षमा जन्माउँछे । यदि पहिलो बेतमा जन्माएका सबै डमरुहरू मरेको खण्डमा बघिनीले पाँच महिनाभित्र दोस्रो बेतका डमरुहरू जन्माउन सक्छे । डमरु दुई वर्षसम्म आफ्नो आमासँग नै बस्ने गर्दछन् । भाले डमरु चार देखि पाँच वर्षमा र पोथी तीनदेखि चार वर्षमा परिपक्व हुन्छ ।

बाघहरू प्रायः रातमा शिकार गर्छन् । बघिनीले आफू प्रजनन्का लागि तयार भएको कुरा गर्जन र मलमूत्रबाट घोषणा गर्छे । प्रायः जाडो मौसममा भालेपोथी लागेको पाइन्छ । तीन महिनाभन्दा धेरै गर्भमा बोकेर बघिनीले डमरुलाई जन्म दिन्छे । भर्खरै जन्मेको डमरु दृष्टिविहीन हुन्छ । ६ देखि ८ हप्तापछि मात्र डमरुले राम्ररी देख्न सक्छ । त्यसैले गर्दा पनि डमरुको मृत्युदर अधिक हुने गरेको हुन सक्छ ।

बाघ अवसरवादी शिकारी हो । यसको प्रमुख शिकार मृग र सुँगुर प्रजाति हुन् । सन् २०१३ सालमा मिलर र उनका सहकर्मीहरूले गरेको अनुसन्धानअनुसार बाघले प्रत्येक वर्ष ५० देखि ६० वटा शिकार मार्ने गरेको पाइएको छ । यसले चरा, माछा, किरा, मुसा वर्गका जनावर, उभयचर, सरिसृप र लङ्गुर आदि पनि खाने गरेको पाइएको छ । यसले आपूmभन्दा ठूला जीवहरू जस्तैः अर्ना, गौर आदिको पनि शिकार गर्न सक्छ । यो इन्फ्याण्टिसाइड (आफ्नै बच्चा अथवा आफ्नै प्रजातिको बच्चा खाने) जीव पनि हो । यो प्राकृतिक स्थानमा २० वर्षसम्म बाँच्न सक्छ ।

प्राचीनकालदेखि नै बाघ र मानिसको बीचमा द्वन्द्व जारी छ । वर्षौंदेखि मानिसहरूले वनजङ्गलको दोहन गर्र्दै आएका छन् । त्यसले गर्दा वनजङ्गलमा बाघको शिकार र बासस्थान घट्दै गएको हो । यसको फलस्वरूप बाघहरू मध्यवर्ती क्षेत्रमा जान बाध्य हुन्छन् । त्यस्तै बाघको सङ्ख्या बढ्दा पनि मानव र बाघबीच द्वन्द्व बढेर जान्छ । बाघलाई अलिकति पनि मानवीय हस्तक्षेप मन पर्दैन । बाघले साधारण अवस्थामा मान्छेको शिकार गर्दैन । बाघले बूढो, धेरै दिनदेखि भोकोे र दाँतमा समस्या भएको अवस्थामा मात्र मानिसको शिकार गर्छ । त्यस्तै बाघलाई चोटपटक लागेको अवस्थामा र डमरुको सुरक्षाका लागि पनि मानिसलाई आक्रमण गर्छ ।

बाघ पारिस्थितिक प्रणालीको उच्च तहको उपभोक्ता, ‘किस्टोन र छाता प्रजाति’ भएकाले यसको संरक्षण गरिएमा यो पाइने क्षेत्रमा समग्र वन, वनस्पति र अन्य वन्यजन्तुसमेत संरक्षण हुन्छन् । यो मांसाहारी जनावर भएकाले शाकाहारी जनावरको जनसङ्ख्या नियन्त्रण गर्न मद्दत पुर्याउँछ । यसले गर्दा उत्पादकको उत्पादकत्व बढाउन मद्दत मिल्छ । यसले खाद्यचक्र तथा खाद्य शृङ्खला सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यसले पारिस्थितिक प्रणाली सन्तुलन राख्न मद्दत गर्छ । बाघले वनस्पतिमा हुने परागसेचन क्रियामा पनि योगदान पु¥याउँछ । यसको स्वस्थ बासस्थानले हावापानी परिवर्तन न्यूनीकरण गर्न, प्राकृतिक प्रकोपको असर घटाउन मद्दत गर्छ । यो लोप भएमा सम्पूर्ण पारिस्थितिक प्रणाली बिग्रिएर जान्छ ।

बाघ सुन्दर र सङ्कटापन्न जनावर भएकाले यसलाई हेर्न थुप्रै विदेशी पर्यटकहरू नेपालमा आउँछन् । त्यसको फलस्वरूप हामीले बाघ पर्यटनको विकास गरी रोजगारी र व्यापार व्यवसाय गर्न पाउँछौं । यसले गर्दा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । विश्वमा आफ्नो प्राकृतिक मूल्य र महŒव स्थापित गराइसकेको यो जन्तुको संरक्षण गर्न यदि प्रयास जारी राख्ने हो भने थुप्रै स्वदेशी तथा विदेशी पुँजी आउँछन् । यसले देशको अर्थतन्त्र विकास गर्न मद्दत मिल्छ । यसका साथै बाघले अनुसन्धान गर्ने अवसरको सिर्जना पनि गर्छ ।

बाघ संरक्षण कार्यान्वयन योजना २०१६–२०२० अनुसार नेपालमा बाघ खतरामा पर्नुका मुख्य कारणहरू चोरी शिकारी, बासस्थान विनाश तथा विभाजन, गैरकानूनी वन्यजन्तु व्यापार तथा बाघ र मानिसबीचको द्वन्द्व हुन् । इन्भाइरोमेण्टल इन्भेस्टिमेण्ट एजेन्सीका अनुसार चीनको बजारमा एउटा वयस्क बाघका अवशेषहरूको मूल्य लगभग ८० हजार अमेरिकी डलरसम्म छ । बाघको लागि नयाँ खतराहरू मिचाहा प्रजाति, वन्यजन्तुसम्बन्धी रोग र हावापानी परिवर्तन रहेका छन् ।

चाल्र्स डार्विनको प्रसिद्ध सिद्धान्त ‘सरबाइबल अफ दि फिटेष्ट’ वा सक्षम नै बाँच्ने भन्ने आधारमा यस पृथ्वीमा प्रकृति अनुरूप आफूलाई ढाल्न अथवा परिवर्तन गर्न सक्ने सजीवहरू मात्र बाँच्न सफल हुन्छन्, नसक्ने जति सबै लोप भएर जान्छन् । बाघले पनि बदलिँदो प्रकृति र वातावरण अनुरूप आपूmलाई र आफ्नो व्यवहारलाई परिवर्तन गर्न नसकेकोले पनि यसको सङ्ख्या घटेको हो । यसले आपूmलाई जस्तोसुकै वातावरणमा, जुनसुकै तापक्रममा बाँच्न सक्ने गरी परिणत गर्न सकेको भए यसको सङ्ख्या यति दयनीय हुने थिएन । बाघ मांसाहारीबाट सर्वहारीमा परिणत हुन सकेको भए पनि यो सङ्कटापन्न जनावर हुने थिएन ।
(लेखकः स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी शास्त्र विभागमा एमएस्सीका शोधकर्ता हुन् ।)