धरान । पढेर केही गर्छु भन्ने धरान–४ तल्लो भालुखोलाकी हिम्मती बालिका १३ वर्षीया ममता राईले कहिल्यै नफर्किने बाटो रोजिन् । आखिर किन यसो गरिन् भन्ने प्रश्नले अहिले उनका आफन्तलाई बारम्बार चिमोटिरहेको छ ।

उनीहरू ममताले आफै त्यो बाटो नरोजेर कसैले गराएको भन्न पछि पर्दैनन् । मृतक ममताकी छेमा (काकी) रसिला राई भन्छिन्, ‘पढेर पैसा कमाउँछु, ठूलो मान्छे बन्छु भन्नेले कसरी त्यस्तो गर्छिन्, यस्तो सानी बालिकालाई त्यसो गर्न कसरी आउला !

उसलाई मारिएको हो ।’ तीन दिनअघि अर्थात् साउन २७ गते बिहान बाख्राको खोरमा झुण्डिएको अवस्थामा ममतालाई आफन्तले फेला पारेका थिए । हात टेकेको र खुट्टा भने खोरको टाँडमा रहेको साथै घोप्टो परेर सुतेको अवस्थामा बालिका भेटिएकी थिइन् । झुण्डिएको स्थान घरभन्दा ५ मिनेटको दूरीमा छ ।

‘हात पनि टेकेको थियो, खुट्टा टाँडमा लम्पसार परेको थियो, भ्यागुता बसेको अवस्थामा देखेका थियौं’ छेमाको छोरा सञ्जोगले भने, ‘झट्ट हेर्दा आत्महत्या जस्तो नै छैन ।’ तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको पोष्टमार्टम रिपोर्टमा झुण्डिएको कारणले नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

‘झुण्डिएको कारणले नै मृत्यु भएको भन्ने रिपोर्ट आएको छ, लास लत्रिएकाले मान्छेहरूलाई शङ्का लाग्नु स्वभाविकै हो’–उनले फोनसम्पर्कमा भने ।

बालबालिकाहरूले आत्महत्या गर्न नसक्ने भन्ने विषयमा पछिल्लो समय बहस हुँदै आएको छ । नेपालमा बालबालिकाले पनि विष सेवन गरेर, झुण्डिएर आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्कले देखाउँछ । १३ वर्षीया बालिकाले आत्महत्या गर्नै नसक्ने अडानमा आफन्त तथा गाउँलेहरू छन् । तर, २०७६ चैत ३० गते सुनसरीको रामधुनी नगरपालिकाको ५ नम्बर वडामा १२ वर्षीय उत्सव श्रेष्ठले झुण्डिएर आत्महत्या गरेको पाइएको थियो ।

त्यस्तै झापाको दमक–९ मा ११ वर्षीय अनिल दर्नालले २०७५ फागुन १६ गते ट्याक्टरको हुडमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेको पाइएको थियो । २०७५ फागुन १३ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुरमा १३ वर्षीय कृष्णकुमार मण्डलले आफ्नै कोठाको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका थिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्तासमेत रहेका मानसिक रोग विभागका डा. निदेश सापकोटाका अनुसार जुनसुकै उमेर समूहकाले पनि आत्महत्या गर्ने गरेका छन् । उमेर समूहका आधारमा १२ वर्षदेखि माथि ३० वर्षको उमेरसम्म एकदमै जोखिम हुने गरेको उनी बताउँछन् ।

‘यो उमेरमा चाहिँ झट्ट डिसिजन गर्ने हुन्छ, भोलि के हुन्छ, यसको इम्प्याक्ट के पर्छ भन्ने ख्याल हुँदैन’ उनले फोन सम्पर्कमा भने, ‘टिनएजमा झन् जोखिम बढी हुन्छ ।’
पैसा कमाउने सपना पालेकी हिम्मती बालिका ममताको मृत्युबारे गाउँघरमा भवितव्य नभई कर्तव्य नै भएको भन्ने बहस चल्दै आएको छ । त्यसलाई थप बढावा दिने गरी भएको अघिल्लो रातको घटनासँग आफन्तले जोड्दै आएका छन् । मृत्यु हुनुअघिको रात बालिकामाथि डेरा गरी बस्ने अञ्जु राईले ‘टिभीको रिमोट बिगारिदिएको’ विषयमा विवाद हुँदा एक थप्पड लगाइदिएकी थिइन् । बालिका आफ्नो घरभन्दा २० मिनेटमाथि आफन्त बाजे वीर्तबहादुर राईको घरमा विगत ६ महिनादेखि बस्दै आएकी थिइन् । घटना भएको रातको विषयमा वीर्तबहादुरले भने, ‘बाजे कति बज्यो भनेर सोध्यो, ८ बज्यो भनेँ, मैले नै सिरियल लगा भनेर भन्दा रिमोट बिगारेछ भनेर भन्यो ।

कसले चलाएर बिगारेछ भनेर भन्दा भाडावालको ६ वर्षीया छोरीले भन्ने भयो, त्यसैमा विवाद हुँदा भाडावाल्नीले एक थप्पड हिर्काइदियो । अनि मैले भाडावाललाई पनि निक्लिहाल भनेर खेदाइदिएँ ।’
यता कुटपिटमा संलग्न भाडावाल अञ्जुले आफ्नो छोरी श्रीमान्सँग शिवजट्टाको घरमा गएर साँझको ७ बजेमात्रै फर्किएकाले छोरीले बिगारेको होइन भन्दा पनि आफ्नै छोरीमाथि आरोप लगाएपछि कुटिदिएको स्वीकारिन् ।

तर, त्यसपछि घरवालाले निस्किहाल भनेर हपारेका कारणले आफूहरू घर छाडेर गएकाले अन्य विषयमा केही थाहा नभएको र भोलिपल्ट ८ बजे मात्रै घटनाबारे थाहा पाएको बताइन् । आफन्त बाजे वीर्तबहादुरले घटना भएपछि रिसाएर आफ्नो घरतिर हिँडेकाले आफूले पनि खोजी नगरेको बताए । ‘अरू बेला पनि कहिलेकाहीँ एक्लै जान्थ्यो, त्यो रात पनि हिँडेकोले वास्ता गरिनँ, भोलिपल्ट पो यस्तो घटना भयो भनेर मलाई भने’–उनले भने ।

मृतक बालिका धरान–१३ को अमर आधारभूत प्राविमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी घरकी काइँली सन्तान हुन् । उनका दुई दिदीहरूको बिहे भइसकेको छ । उनकी आमा मनु राईको पनि चैत २४ गते विष सेवन गरी मृत्यु भएको मनुकी आमा बचडीदेवी ओलीले बताइन् । उनले पनि नातिनी झुण्डिएर नभई झुण्ड्याइएको दाबी गरिन् । यस घटनामा धरान नगर बाल सञ्जालले पनि व्यापक चासो देखाएको छ ।

१३ वर्षीया बालिकाको ज्यान गएकाले घटनाको सत्य–तथ्य छानबिन हुनुपर्ने माग सञ्जालको रहेको सचिव निश्चल खड्काले बताए । ‘यहाँ आउँदा नानीले आत्महत्या होइन, हत्या गरिएको हो भनेर आफन्तहरूले भन्नुभएको छ, सत्य–तथ्य बाहिर आउनुपर्छ भन्ने बाल सञ्जालको माग हो’–उनले भने ।

पोष्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले आत्महत्या वा हत्या दुवै कोणबाट अनुसन्धान थालेको थियो । किनकि मृत्यु भएको अघिल्लो रात बालिकामाथि हातपात हुनु, घर फर्किने बाटोमा एउटा चप्पल भेटिनुले घटना भवितव्य नभई कर्तव्य हो कि भनी आशङ्का गर्ने ठाउँहरू रहेकोले सोहीअनुसारको अनुसन्धान गरिरहेको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् ।

तर, झुण्डिएकै कारणले मृत्यु भएको रिपोर्ट आएपछि भने प्रहरी अन्तिम निष्कर्षमा पुगेको छ । ‘बाटोमा चप्पल छुटेको, घटना भएको रात कुटपिट भएकाले फरक कोणबाट पनि अनुसन्धान नभएको होइन’ डिएसपी बस्नेतले भने, ‘तर, रिपोर्टमा ह्याङ्गिङकै कारणले भन्नेछ ।’