विश्व महामारी कोरोना भाइरसले गर्दा लकडाउनमा बाँच्न बाध्य छौं । सामाजिक दूरी कायम गर्न बाध्य छौं । नेपाल सरकारले तोकेको नियम अक्ष्।रशः पालना गर्न बाध्य छौं । मानवीय गतिविधि ठप्प छ । यस्तो अवस्थामा नयाँ विकल्पहरू खोज्नुको कुनै तुक छैन ।

भन्नेले जे भने पनि हुन्छ । गरेजस्तो गर्नेले जे गरे पनि हुन्छ । औपचारिकताले मात्र पनि हुने केही छैन । तर साठीदेखि सत्तरी प्रतिशत तथ्याङ्कलाई आधार मानेर तीसदेखि चालीस प्रतिशत पहुँचविहीनमा रहनु बाञ्छनीय भने हँुदैन । व्यवहारिक रूपमा लक्षित सबै वर्गको हित पनि हुँदैन ।

सबैभन्दा संवेदनशील क्षेत्र विद्यालय हो । विद्यालयको पठन–पाठन हो । शिक्षालाई नै देश विकासको आधारशिला मानिन्छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थी भाइबहिनीहरू कोरोनाको कहालिलाग्दो मारमा छन् । सिङ्गो विश्वको सात अर्ब सत्तरी करोड जनसङ्ख्या त्रासमय छन् । सबै गन्तव्यविहीन छौं । योजनाविहीन छौं । उद्देश्यविहीन छौं । उपायविहीन छौं । दिनबारविहीन छौं । चारैतिर मात्र शून्यताले छाएको छ । यस्तो अवस्थामा आफ्ना बालबालिकाहरूलाई शैक्षिक गतिविधिमा कसरी सक्रिय राख्न सकिन्छ भन्ने सोच सबै अभिभावकमा आएको छ ।

वैकल्पिक शिक्षाको रूपमा अनलाइन वा भरच्युअल कक्षाहरू अपनाउन शुरु गरिएको छ । यो उचित उपाय पनि हो । सँगसँगै यसको प्रभावकारिता र यसको पहँुचको विषयमा समेत ध्यान जान जरुरी छ । हाम्रोजस्तो अल्पविकसित र विपन्न मुलुकका नागरिकले कति थेग्न सक्छन् ? यसको समेत वस्तुनिष्ठ आँकलन गर्न जरुरी छ । नेपालको सन्दर्भमा यो नयाँ अभ्यास हो । हरेक विषयको आफ्नै सूची र पाठ्यक्रम नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको ढाँचामा रहेको हुन्छ । पाठ्यभार हुन्छ । हरेक एकाइको समयावधि तोकेको हुन्छ ।

पूर्व पाठयोजना हुन्छ । विषयवस्तुको ज्ञान, सीप र धारणाको विकास गराउन सक्नु पर्नेछ । प्रयोगकर्ताहरू कति प्रविधिमैत्री छन् । सो सम्बन्धी सोच्न आवश्यक छ । शिक्षक, अभिभावक र विद्यार्थीलाई यस्तो प्रविधि चलाउने सीप प्राप्त छ वा छैन । जसको हेक्का राख्न आवश्यक छ । शुल्क निर्धारणको मापदण्ड कस्ता अपनाउने हो ? यो पनि अन्योल छ । सक्षम अभिभावक र विद्यार्र्थी लक्षित शैक्षिक प्रणाली कति न्यायोचित हुन्छ ।

यसको पनि लेखाजोखा गर्न आवश्यक छ । पहुँचविहीन अभिभावकका बालबालिकाहरूको पठन–पाठनको सवालमा के गर्ने ? एक अध्ययनअनुसार नेपालको सन्दर्भमा चौरासी प्रतिशत मानिससँग मोबाइल सुविधा रहे तापनि करिब आठ प्रतिशत मानिसको मोबाइलमा मात्र वाईफाई चल्न सक्छ । तसर्थ विद्यालयले अपनाउने यस्तो वैकल्पिक शैक्षिक प्रणालीले कतै विभेदकारी शैक्षिक गतिविधिलाई पो बढावा दिने हो कि भन्ने तर्फ बेलैमा सचेतता अपनाउनु उचित कदम हो । एउटै कक्षाका समान उमेरका बालबालिकाको सिकाइमा आउने असमानताले कतै मानसिक रूपले तनाव दिन सक्नेतर्फ सरोकारवालाहरूले सोच्ने समय आएको छ ।

विपन्न वर्गका बालबालिकाहरूको अवस्थालाई पनि ख्याल राख्न जरुरी छ । थिङ्कट्याङ्कहरूको भनाइअनुसार विद्यालय तहको शिक्षा फेस टु फेस कक्षा मात्र प्रभावकारी हुनेछ । सिकाइ सक्रिय अन्तरक्रियात्मक सहभागिताले मात्र उप्लब्धिमुखी हुन्छ भन्ने निष्कर्षलाई कहिले पनि नजरअन्दाज गर्नु हँुदैन । त्यसैले यस्तो चुनौतीपूर्ण घडीमा समस्या हल गर्ने निहँुमा नजानिदो तरिकाले कतै मानसिक तनावले निम्त्याउन सक्ने जोखिमप्रति समयमै सजग रहन पनि जरुरी छ । एउटा भनाइ छ । अनिकालमा बिउ जोगाउनु र हुलमुल वा महामारीमा जिउ जोगाउनु । यस्तो विषम परिस्थितिको अवस्थामा यो भनाइ हु–बहु लागू हुन्छ र हुनुपर्छ पनि ।

विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनमा समेत यो लोकबाट कोरोना भाइरसलाई भगाउन नसकिने चेतावनी दिएको छ । यो अवस्था कति लामो जाने हो कसैलाई थाहापत्तो छैन । मानो खाएर मुरी उब्जाउने दिन आए जस्तै छ । बन्दाबन्दीको समय लम्बिँदै गएमा एक छाक कसरी टार्ने भन्ने समस्या आउन सक्छ । वाईफाईको खर्चले एक छाक गाँसको जोहो गर्ने दिन पनि आउन सक्छ । यी यावत् समस्याहरूसमेत शिरोधार्य गर्ने दिन आएको छ ।

यसको मतलव वैकल्पिक शिक्षाको रूपमा अनलाइन वा भरच्युअल कक्षा चलाउनु गलत हो भन्ने हाम्रो मनसाय कदापि होइन । यो स्वैच्छिक विचार हो । आफ्नो अनुकूल, अभिभावकको क्षमता र साक्षरतामा निर्भर पर्ने हो । समग्र बालबालिकाको हित हुनसक्ने उपायको खोजी गर्नसके उत्तम उपाय हुन्थ्यो कि ? नेपालमै मात्र अहिले विद्यालयमा अध्ययनरत असी लाख विद्यार्थी मारमा परेका छन् । विश्वमा एक अर्ब तीस करोड विद्यार्थी प्रभावित छन् ।

जसमा पनि सामुदायिक विद्यालयको हकमा कसरी यो सेवा दिने वा लिने ? नेपाल सरकारले यसको कसरी व्यवस्थापन गर्ने ? जसमा पनि सरकारको राहत लिने अभिभावकले यस्तो सेवाको व्ययभार कसरी व्यवस्थापन गर्ने ? यी र यस्ता प्रश्नहरूको उत्तरसमेत सम्बोधन गर्न सक्ने उपायको खोजी गर्नु हाम्रो आग्रह हो । यसलाई बाध्यकारी रूपमा पनि लागू गर्नु त्यति बाञ्छनीय हुँदैन भन्ने हाम्रो ठम्याइ हो । सबै अभिभावकको स्तरलाई ख्याल राख्दै समावेशी प्रविधि वा उपायहरूको अवलम्बनमा जुट्न सके सुनमा सुगन्ध हुने थियो कि भन्ने हाम्रो आग्रह हो । किनकी वास्तवमै शिक्षा आर्जन सबै विद्यार्थी भाइबहिनीहरूको लागि अनिवार्य छ ।

अन्त्यमा, कसरी सुरक्षित रहने सम्बन्धी उपायहरूको पूर्णरूपमा अवलम्बन गर्दै आफू बचौं र अरूलाई पनि बचाऔं । यस्तो अवस्थामा सधँै सकारात्मक सोचका साथ यो विश्व महामारीलाई जित्न हामी सबै सफल हौं भन्ने हाम्रो कामना छ ।
(लेखकहरूः धरान–१६ स्थित जेनिथ सेकेण्डरी स्कुलका प्रिन्सिपल र भाइस प्रिन्सिपल हुन् ।)