ताप्लेजुङ/ तत्कालै शिक्षण संस्था सञ्चालन हुन सक्ने अवस्था नदेखिएपछि ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई स्वअध्ययन पाठ्य सामग्री वितरण गरिएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा समूहसँगको समन्वयमा घरमै बसेर पढ्न पाउने योजनाको विकास गरेको हो ।

सो सामग्री जिल्लाको सिरिजङ्घा गाउँपालिकाको खेवाङ, मामाङ्खे र याम्फुदिन तथा फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक र ओलाङ्चुङगोलाका करिब १ हजार ६ सय विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिसकेको जिल्ला प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिए ।

सामुदायिक विद्यालयहरूका बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि स्वाध्ययन पाठ्य सामग्रीको विकास गरिएको छ । सो सामग्री नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित र विज्ञान विषय समेटेर तयार पारिएको स्वाध्ययन सामग्रीमा पाठ्यपुस्तकमा आधारित प्रश्नका आधारमा उत्तर लेख्न सक्ने गरी पाठ्यसामग्री तयार पारिएको छ ।

सोभन्दा माथिका विद्यार्थीका लागि ‘शिक्षक–विद्यार्थी घरदैलो अभियान’ मार्फत् शिक्षण गरिरहेको रिडका शिक्षा विकास अधिकृत मीनकुमार अर्यालले बताए । विद्यालय सञ्चालन नभएको अवस्थामा विद्यार्थीको मनस्थितिलाई अध्ययनभन्दा बाहिर जान नदिन वैकल्पिक शिक्षण सिकाइका लागि यस्तो अभियान सञ्चालन गरिएको अर्यालको भनाइ छ । स्वाध्ययन सामग्रीको प्रयोगको सहजीकरणका लागि स्थानीय शिक्षकलाई जिम्मेवारी दिइएको छ । स्वाध्ययन सामग्रीको उपयोगिताको मूल निगरानी सम्बन्धित विद्यार्थीका अभिभावकले गर्नेछन् ।

स्वाध्ययन सामग्रीमा भएका कुनै जिज्ञासाको समाधान घरका अभिभावकबाट हुन नसके त्यसको सहजीकरणका लागि टोलनजिक रहेका शिक्षक विद्यार्थीकै घरमा पुग्ने अर्का अधिकृत रोमा माबोले बताइन् । माबोका अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर बढीमा ५ जनासम्म विद्यार्थीलाई एकै ठाउँमा राखेर पनि विद्यार्थीले सोध्न चाहेको जिज्ञासाको समाधान गर्ने प्रणालीको विकास गरिएको छ ।

स्वाध्ययन सामग्रीको सदुपयोग र समस्या बारे रिड नेपालले स्थलगत अनुगमन समेत गर्ने भएकोले समस्या देखिएका क्षेत्रहरूमा तत्कालै समाधानको विकल्प तयार गर्न सकिने जिल्ला प्रबन्धक पन्तले जानकारी दिए । करिब २ महिनाको अवधिलाई लक्षित गरी स्वाध्ययन सामग्री तयार पारिएको रिडले जनाएको छ ।

11-Reed 22-Reed