विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बालबालिका अहिले घरमै बस्न बाध्य छन् । त्यसैले आमाबुबाहरूले घरमै आफ्ना नानीहरूको प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्नु जरुरी छ ।
यसका लागि एउटा सजिलो उपाय भनेको उनीहरूसँग कथा पढ्नु हो । कथा पढ्दा आवाज निकालेर पढ्नु पर्छ र उनीहरूलाई पनि त्यस्तै गर्न प्रोत्साहन दिनुपर्छ । यदि उनीहरू आफै पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउनु पर्छ । यस्तो गर्नाले बालबालिकाको बौद्धिक विकासमा टेवा पुग्दछ ।
बालबालिकासँग कथा पढ्नुका अरू फाइदा पनि छन् ।
–जो बालबालिकाले राम्रोसँग कथा पढ्छन्, उनीहरूको शैक्षिक नतिजा पनि राम्रो हुन्छ ।
–उनीहरूको मस्तिष्कको विकास द्रुत गतिमा हुन्छ ।
–साथसाथै ध्यानकेन्द्रित गर्ने क्षमताको विकास हुन्छ ।
–कथाले वरपरको संसार चिनाउँछ ।
–शब्दभण्डार वृद्धि हुनुका साथै भाषाको विकास उच्च हुन्छ ।
–बालबालिकामा कल्पना शक्तिको विकास हुन्छ ।
–अनुभूति सीपको विकासमा मद्दत पुग्छ ।
–शान्ति र आनन्दको अनुभूति हुन्छ ।
–पढाइ आफैमा मनोरञ्जनको विशाल स्रोत हो ।
–सानै उमेरदेखि बारम्बार पढेर सुनाउनुहोस् ।
शिशु ४ महिनाको हुँदादेखि नै उसले सुन्ने गरी पढेर सुनाउने गरेमा, ऊ ठूलो हुँदै जाँदा पनि पढेर सुनाउन सकिने सम्भावना बढ्छ । बालबालिकाले बोल्न शुरु गर्नुअघि नै उनीहरूको मस्तिष्कमा भाषाको आधार बन्ने हुँदा उनीहरू सानै हुँदादेखि नै पढेर सुनाउनु महŒवपूर्ण हुन्छ । हुर्कंदै गर्दा जति धेरै शब्द बालबालिकाले सुन्दछन्, त्यति नै धेरै शब्दहरू सिक्दछन् ।
शिशु जन्मेदेखि ३ वर्षको हुँदासम्म कस्ता प्रकारका पुस्तकहरू उपयुक्त हुन्छन् ?
शुरुवाती वर्षहरूमा पुस्तकहरू कसरी मिलिजुली प्रयोग गर्ने भन्ने बारे केही उपयोगी जानकारीहरू यहाँ प्रस्तुत गरिएको छ । आफ्नो शिशु ३ वर्षको हुँदा वा सोभन्दा पछिसम्म पनि उमेर अनुसार साक्षरताको कुशलता वृद्धिमा सघाउन, पुस्तक मन पर्नेगरी पढेर सुनाउनुहोस् ।
जन्मेदेखि ६ महिनाको हुँदासम्म बुझ्नको लागि आफ्नो शिशु सानै छ जस्तो लागे पनि उसले तपाईंको साथ, अनि तपाईंको आवाज र उच्चारण गरेका शब्दहरू सुनेर ऊ रमाउँछ । नियमित पुस्तक हेर्ने बानी बस्यो भने, यो उमेरमा बालबालिकाले पुस्तक हेर्ने समयमा शान्त रहने, आँखा ठूला बनाउने वा मुस्कुराएर लात्तीले हान्ने आदि कार्य गरी आफ्नो उत्साह व्यक्त गर्दछन् । पुस्तकहरू समाउने, टोक्ने आदि क्रियाकलापहरूमार्फत् त्यसको बारेमा बुझ्न चाहन्छन् । पूरै कथा सुन्नको लागि उनीहरूले ध्यान नदिन पनि सक्छन् । त्यसैले उनीहरूले दिक्क मान्दै अन्यत्र हेर्ने, पछाडि पल्टिने, आँखा बन्द गर्ने वा रूने आदि गरेमा एकछिन रोकिनुहोस् । यो उमेरका बालबालिकाका लागि रङ्गीचङ्गी तथा आकर्षक चित्र भएका पुस्तकहरू उपयुक्त हुन्छन् ।
६ देखि ९ महिनासम्म
यो उमेरमा पनि रङ्गीचङ्गी चित्रहरू भएका छोटो कथाहरू सुनाउनुहोस् । बालबालिकाले हेरेर, छोएर (खोल्ने÷बन्द गर्ने) र मुखमा राखेर ती पुस्तकहरूको बारेमा जान्न खोज्न सक्नेछन् । ९ महिना पुगेपछि उनीहरूले कुनै कुनै कथा वा चित्रहरू चिन्ने कोशिस गर्न वा चिन्न सक्छन् । तपाईंको शिशुले कुनै कुनै बेला पुस्तकलाई मुखमा लैजान सक्छ । शुरुवाती वर्षहरूमा बालबालिकाले देखाउने यो सामान्य व्यवहार हुनुका साथै पुस्तकहरूको बारेमा थप जान्न उनीहरू इच्छुक छन् भन्ने सङ्केत पनि हो ।
९ महिनादेखि डेढ वर्ष
दोहोरिने भाका तथा शब्दावलीहरू भएका चित्र कथाहरूले पनि तपाईंका बालबालिकालाई छिट्टै आकर्षित गर्दछन् । यो उमेरका बालबालिकाले अन्य बालबालिकाका चित्र तथा जनावरलगायतका वस्तुहरू समावेश गरिएका कथा पनि मन पराउनुको साथै आफूलाई सबैभन्दा मन परेका कथाहरू भन्न बारम्बार अनुरोध गर्न सक्छन् । बालबालिका एक वर्षको पुगेपछि तपाईंले चित्रहरू देखाएर ‘चन्द्रमा खोइ ?’ भन्ने जस्ता प्रश्न सोधेर उनीहरूले देखाउँछन् कि देखाउँदैनन् भनी अवलोकन गर्न सक्नुहुन्छ ।
डेढ वर्षदेखि २ वर्ष
बालबालिकालार्ई (ध्यानपूर्वक हेर्दै) केही लामा चित्र कथा सुनाउन शुरु गर्नुहोस् । यो उमेरका बालबालिकालाई हँसाउने भाकाहरू एकदमै मन पर्छ । तपाईंले कथा पढिरहेको समयमा बच्चा यताउति दौडिन्छ भने पनि चिन्ता नगर्नुहोस् । यो उमेरका बालबालिका यताउति हिँड्नु पनि पर्दछ । तपाईंले पढिरहनुभयो भने उसले सुन्दै पनि गर्छ र केहीबेरमा फेरि तपाईंको नजिक आएर अझै सुन्न सक्छ । यसरी बालबालिकाको ध्यान कायम राख्नको लागि कथामा रहेका केही कुराहरूको उपयोग गर्न सक्नुहुन्छ – जस्तै, पुस्तकमा भएको खरायो जस्तै उफ्रिऊ त भन्ने ।
बालबालिकाले केही साधारण शब्द वा आवाजले वस्तुहरू चिन्न सक्छन् – जस्तै, गाईको चित्र देख्यो भने ‘बाँ’ आवाज निकाल्ने । भर्खरै बोल्न सिकेका बालबालिकालाई कथा सुनाउने समयमा उनीहरूलाई सबैभन्दा मन पर्ने वाक्यमा पुगेपछि केहीबेर रोकिनुहोस् । त्यो वाक्य पूरा गर्ने शब्द भन्छन् कि भनी विचार गर्नुहोस् । बालबालिकालाई आफै गर्ने हुनको लागि प्रोत्साहन गर्नुहोस् । पानाहरू पल्टाउने ‘काम’ दिनुहोस् । पढिरहेको समयमा बालबालिकासँग केहीबेर कुराकानी गर्दै ‘रूखको पछाडि को लुकेको छ ?’ भन्ने जस्ता कथा सम्बन्धी प्रश्नहरू सोध्नुहोस् । यसले उनीहरूको सोच्ने तथा भाषासम्बन्धी कुशलताको विकास गराउँदछ ।
२ देखि ३ वर्षसम्म
यदि सानैदेखि तपाईंको शिशुलाई पढेर सुनाउने गर्नुभएको छ भने यो उमेरमा आइपुग्दा उसले साधारण चित्र कथाहरू तथा केही रोचक कुराहरू (हँसाउने कुरा, भाका तथा राम्रो चित्र कथा) भएका कथा सुन्ने अभिरुचि देखाउन सक्छन् । संसारको बारेमा जान्न सङ्घर्ष गरिरहेका बालबालिकाको लागि हाम्रै वरिपरि देखिने सवारी साधनहरू, जनावर वा ऋतुहरू सम्बन्धी कथाहरू वा विभिन्न पेशाहरू सम्बन्धी कथाहरू पनि रोचक हुन्छन् ।
यो उमेरका बालबालिकालाई कथासँग सम्बन्धित प्रश्नहरू सोध्न पनि सक्नुहुन्छ । जस्तैः ‘त्यो बालकले कस्तो अनुभव गर्दै होला ?’ वा ‘तिमीलाई यसपछि के हुन्छ जस्तो लाग्छ ?’ यो कथाको बालकले जस्तै तिमीले पनि गर्यौ ?’ भन्ने जस्ता प्रश्नहरू सोधेर पुस्तकलाई बालबालिकाकोे जीवनसँग जोडिदिनुहोस् । ३ वर्ष पुगेपछि त उसले चित्रमा के भइरहेको छ भन्ने कुरा हेरेर तपाईंलाई कथा सुनाउन सक्छ । उसले एउटै पुस्तकको कथा पटक–पटक सुन्छु भन्यो भने पनि अचम्म नमान्नुहोस्, किनभने बालबालिकाले दोहोरिएका कथाहरू पनि मन पराउँछन् । अनि उही कथा ७ पटक नै सुने पनि थाक्दैनन् ।
अन्त्यमा, एउटा के कुरा याद गर्नुहोस् भने तपाईंको बच्चालाई जुन सुकै बेला पनि कथा सुनाउनु पर्ने हुन सक्छ । खाना खुवाउने समयमा, दिसापिसाब गर्ने बेला, बाहिर घुम्न जाँदा, कथा सुनाउनु पर्ने हुनसक्छ । सुत्नुअघि उसको आजको दिन कसरी बित्यो भन्ने कुरालाई पनि कथा बनाएर सुनाउन सक्नुहुन्छ ।
–युनिसेफ नेपाल