धरान/मासिक रूपमा सरदर २५ सयवटा अप्रेशन हुँदै आएको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत चैतयता ८० प्रतिशत कमी आएको छ । पछिल्लो समयमा मुस्किलले ४ सयदेखि पाँच सयवटा मात्र अप्रेशन भएका छन् । विश्वव्यापी कोभिड–१९ को महामारी फैलिएपछि अस्पतालसम्म बिरामी नआउँदा अप्रेशनको तथ्याङ्क एकैचोटी घटेको हो ।

चैतअगाडि प्रतिष्ठानमा शल्यक्रिया गर्नका लागि बिरामीले मात्र नभएर चिकित्सकले समेत अप्रेशन थिएटरमा पालो पर्खिनु पर्ने अवस्था थियो । प्रतिष्ठानका तथ्याङ्क विभागका एक कर्मचारीले भने, ‘विभिन्न खाले रोगको उपचार र आकस्मिक उपचारको क्रममा हुने शल्यक्रिया मासिक रूपमा सरदर २५ सयको हाराहारीमा हुने गरेको थियो । तर गत चैतदेखि भदौसम्मको तथ्याङ्क हेर्दा मासिक रूपमा सरदर ४ सयदेखि पाँचसय वटामात्र शल्यक्रिया भएका छन् ।’ कोरोना महामारीसँगै लकडाउन, निषेधित क्षेत्र घोषणा भएपछि अस्पताल आउने बिरामीको सङ्ख्या घटेको र सोही अनुपातमा शल्यक्रिया गर्नेहरूको सङ्ख्या पनि घटेको हो । प्रतिष्ठानका मुटुरोग विशेषज्ञ चिकित्सक डा. प्रशान्त साहले भने, ‘कोरोनाले भन्दा अरू रोगले मान्छेको ज्यान गइरहेको छ । उनीहरू अस्पतालसम्म आउन सकिरहेका छैनन् ।’ उनका अनुसार धेरै बिरामीहरू अस्पताल जान सक्ने वातावरण नहुँदा गाउँघरमै बसेका छन् । यो समस्यालाई राज्यले पनि बुझ्नु पर्छ ।’

शल्यक्रिया गर्नुपर्ने कतिपय बिरामीहरू कोरोना सङ्क्रमणको त्रासले अस्पतालसम्म आउन सक्ने वातावरण नहुँदा अधिकांश बिरामी गाउँघरमै पीडाले छट्पटाएर बसेको र कतिपयको मृत्यु भएको हुनसक्ने प्रतिष्ठानका स्त्री तथा प्रसूति रोग विभागका विशेषज्ञ चिकित्सकसमेत रहेका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले बताए । उनले भने, ‘प्रतिष्ठानजस्तो व्यस्त अस्पतालमा यति थोरै शल्यक्रिया हुनु भनेको शल्यक्रिया गरेर स्वस्थ हुनसक्ने रोगी बिरामीहरू आफ्नै घरमा छट्पटाएर बस्न बाध्य छन् भन्ने सङ्केत हो । अहिले जटिल महामारीसँग हामी जुधिरहेका छौं । एकातिर कोरोना सङ्क्रमणदर बढेको छ भने अर्कोतिर त्यो बाहेकका रोगी बिरामीको अवस्था झन् नाजुक बन्दै गएको छ । जसरी भए पनि कोरोना बाहेकका अन्य रोगी बिरामीलाई उपचार सुविधा दिनुपर्छ भनेर प्रतिष्ठानले निर्णय गरेको छ ।’

उनले शल्यक्रियाको सङ्ख्या घट्नु भनेको बिरामीको रोग झन् छिप्पिएर थप जटिलतातिर जानु हो भने प्रतिष्ठानको आयस्रोतमा पनि कटौती हुनु सरह भएको बताए । शल्यक्रिया गर्नेहरूको सङ्ख्या ८० प्रतिशत घटेपछि यो वर्ष प्रतिष्ठानलाई करोडौंको आर्थिकभार थपिने निश्चित भएको रजिष्ट्रार रेग्मीले बताए । प्रतिष्ठानमा मुटु, मिर्गौला, नशा, हाडजोर्नी, टाउको, गाइनो, इएनटी, दाँत, छाला, पेट, युरोलोजी, पित्तलगायतको शल्यक्रिया हुँदै आएको छ ।

प्रतिष्ठानको तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष ०७५÷७६ को चैत महिनामा प्रतिष्ठानमा २ हजार ४ सय ५० वटा, वैशाखमा २ हजार ४ सय ९४, जेठमा २ हजार ५ सय १६, असारमा २ हजार ४ सय १ र साउनमा २ हजार ४ सय ९५ शल्यक्रिया भएका थिए । तर, कोभिडको बेला चैतदेखि भदौ दोस्रो सातासम्ममा प्रतिष्ठानमा मेजर ओटी ६ सय ५८, मध्यम् २ सय १८ र माइनर ओटी १ सय ५६ वटामात्र भएका छन् । प्रतिष्ठानका इमर्जेन्सी विशेषज्ञ चिकित्सक प्रा.डा.ज्ञानेन्द्र मल्लका अनुसार कोरोनाको त्रासभन्दा पनि अस्पतालसम्म आएका बिरामीको ज्यान बचाउनका लागि चिकित्सक र नर्सहरू लागिपरेको बताए । उनले भने, ‘ज्यान बच्छ भनेर आएका बिरामीलाई कोरोना छ भनेर फर्काउनु वा पीसीआर रिपोर्ट पर्खिनुभन्दा कसरी हुन्छ बचाउनेमा मात्र हाम्रो ध्यान गएको छ ।’

पीसीआर जाँच नभएका र लक्षण नभएका कतिपय कोरोना सङ्क्रमित प्रतिष्ठानको इमर्जेन्सीमा आए पनि चिकित्सकहरू ज्यान बचाउन पहिलो प्राथमिकतामा राखेर खटेको उनले बताए । अन्य कतिपय अस्पतालले उपचारका लागि आएका बिरामीलाई भर्ना नगरे पनि प्रतिष्ठानले भने इमर्जेन्सी कक्षमार्फत् भर्ना लिइरहेको छ । यद्यपि बिरामीहरू पहिलेजस्तो अस्पतालमा आएका छैनन् । के गर्दै छन् त शल्यक्रिया गर्नुपर्ने बिरामीहरू ? चिकित्सकहरूलाई पनि यस्तै प्रश्नले सताएको छ । कतिपय बिरामी अन्तिम अवस्थामा आउने गरेका छन् । प्रतिष्ठानका युरोलोजिष्ट एडिसनल प्रोफेशर डा.सुधीर सिंहले अन्तिम अवस्थामा आएका मोरङका एक पुरुषको मूत्रासयको शल्यक्रिया गरे । शल्यक्रिया सफल भएपछि पीसीआर जाँच गर्दा ती पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आयो । डा. सिंहले भने, ‘कोरोनाको पीसीआर जाँच गरेरपछि मात्र शल्यक्रिया गर्ने भनेको भए उनको मृत्यु हुनसक्थ्यो ।’