विराटनगर/ भारतीय नागरिक राजुक साह विराटनगरमा सङ्गठित रूपमा अपराध कर्ममा लागेका अभियुक्त हुन् । बिहार राज्य सीतामणि घर भई विराटनगरमा बसोबास गर्ने २७ वर्षीय साह यहाँका आपराधिक समूहका सदस्यहरूसँग मिलेर अपराध कर्ममा लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
उनी विराटनगरको जलजलामोडस्थित चाइना बजारमा काम गर्दै सङ्गठित अपराधमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले भदौ १६ गते पक्राउ गरी अदालतमा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको थियो । उक्त चोरीको घटना र विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुलीमा साहसहितको समूह संलग्नता देखिएको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजु त्यही पसलमा काम गर्ने र सबै कुरा जान्ने भएकाले चोरीको योजना बनाउन गिरोहले सजिलै सकेको प्रहरीको भनाइ छ ।
यस्तै भारतको इन्द्रनगर ग्राम पञ्चायत–१० टिकुलिया टोलमा ‘बग्गा’ भनेर चिनिने प्रदीप यादव प्रहरीको मोस्ट वाण्टेड सूचीमा पर्ने अभियुक्त हुन् । उनको खोजी भारत र नेपाल दुवैतर्फका प्रहरीको सूचीमा छ । भारतमा बसेर नेपाली भूमिमा हुने आपराधिक शृङ्खलाको घटनामा ‘बग्गा’ को नाम जोडिएको अभिलेख मोरङ प्रहरीको लिष्टमा वर्षौंदेखि थियो । तीनै बग्गा भारतमा रहेर नेपालमा सहजै आफ्ना गतिविधि सञ्चालन गर्ने अखडा बनाउँदै आएका थिए । खुल्ला सीमाको फाइदा उठाउँदै बग्गाले विशेषगरी प्रदेश १ का विभिन्न सहर र २ नम्बर प्रदेशका जिल्लाहरूमा अवैध हातहतियार र लागूऔषधको पठाउने गिरोहका मुख्य नाइके हुन् । तिनै बग्गालाई मोरङ प्रहरीको सादा पोसाकमा खटिएका विशेष प्रहरी टोलीले भदौ ६ गते पक्राउ गरेको छ ।
यसैगरी एक भारतीय नागरिकले २०५७ सालमा विराटनगरका भोलाप्रसाद साहको विराटनगरस्थित उनकै छाला फ्याक्ट्री अगाडि गोली प्रहार गरी हत्या गरे । प्रहरी अनुसन्धानपछि साहको हत्या गर्ने भारतीय नागरिक मोहम्मद मुन्नाको पहिचान भयो । त्यसलगत्तै उनलाई पक्राउ गर्न प्रहरी लागिप¥यो, तर साहको हत्या गर्ने मुन्ना भारतीय नागरिक भएकाले उतै फरार भए ।

नेपाली भूमिमा आएर हत्या गरेको झण्डै दुई दशकपछि प्रहरीले उनलाई भारतीय भूमिबाटै पक्राउ ग¥यो । हत्या गरेको १८ वर्षपछि इलाका प्रहरी कार्यालय रानी विराटनगरले साहको हत्या गर्ने मुन्नालाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती बजार जोगबनीबाट पक्राउ गरेको थियो ।
कर्तव्य ज्यान मुद्दामा मुन्नालाई जिल्ला अदालत मोरङले २०७० जेठ २३ गते जन्मकैदको सजाय सुनाइसकेको छ । मुन्ना अहिले जिल्ला कारागार मोरङ विराटनगरमा कैद भुक्तान गरिरहेका छन् । उल्लेखित यो एउटा प्रतिनिधि घटना मात्र हो । प्रहरी र अदालतको अभिलेख हेर्ने हो भने भारतीय नागरिकले नेपालका विभिन्न स्थानमा आएर अपराध गरेका घटना थुप्रै छन् । नेपालको तराईमा हुने अधिकांश आपराधिक घटनाको तार भारतीयसँग जोडिन्छ । त्यसका अतिरिक्त नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका केही भुटानी शरणार्थीको पनि अपराध कर्ममा संलग्नता रहने गरेको प्रहरीको दाबी छ । खुल्ला सीमा र सहज नेपाल प्रवेशका कारण भारतीय नागरिकबाट आपराधिक गतिविधि हुने गरेको अपराध अनुसन्धानमा लामो समयदेखि सक्रिय प्रहरी अधिकारीहरू बताउँछन् ।
आर्थिक वर्ष ०७६/७७ को जिल्ला अदालत मोरङको तथ्याङ्क हेर्ने हो भने दुई सय जना विदेशी नागरिक विभिन्न आपराधिक कर्ममा संलग्न देखिन्छन् । उनीहरूमध्ये केहीको हकमा अदालतबाट फैसलासमेत भइसकेको छ, जसमध्ये ९ जना विदेशी नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ भने अझै १ सय १५ जना विदेशी नागरिक फरार सूचीमा रहेको जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार युवराज पौडेलले जानकारी दिए ।
फरार भएका १ सय १५ जना विदेशी नागरिकको १ सय ५० वर्ष ९ महिना कैद र १ करोड १० लाख ८१ हजार ५ सय ५० रुपैयाँ जरिबाना बाँकी रहेको अदालतले जनाएको छ । प्रहरीले पक्राउ गरी अदालत बुझाएको ९ जना विदेशी फरार प्रतिवादीको हकमा २६ वर्ष ४ महिना कैद भुक्तान र २ लाख ९७ हजार ६ सय ९० रुपैयाँ जरिबाना असुली भएको छ ।
फरार अभियुक्तहरू कर्तव्य ज्यान, सवारी ज्यान, बलात्कार, लागूऔषध ओसार–पसार, चोरी आदि मुद्दामा संलग्न रहेको अदालतको अभिलेखमा देखिन्छ ।
खुल्ला सीमा सुरक्षामा चुनौती : एसपी खड्का
खुल्ला सीमा तथा सहज रूपमा नेपाल प्रवेशले गर्दा भारतीय नागरिकहरूबाट आपराधिक घटना हुने गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘खुल्ला सीमाको कारण अपराध गरी भारततर्फ भाग्न सजिलो छ, जसले गर्दा अपराधीहरूलाई पक्राउ गर्न समस्या हुने गरेको छ । भारतीय प्रहरीसँग सहकार्य गरी त्यस्ता अपराधीहरूलाई पक्राउ गर्ने प्रयास गर्दै आएका छौं’ एसपी खड्काले भने, ‘कतिपय घटनामा नेपालमा आएर बसोबास गर्ने र यहाँका मानिससँग राम्रो सम्बन्ध कायम गरेर पनि आपराधिक घटना घटाएको देखिन्छ ।’ खुला सीमाको फाइदा उठाउँदै अपराध गर्ने उद्देश्यले नै कतिपय भारतीय नागरिक नेपाल प्रवेश गर्ने प्रहरीको दाबी छ । प्रहरीको सबै क्षेत्रमा पहुँच हुन नसक्दा अपराध गरी सहज रूपमा भारततर्फ नै फरार हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
पक्राउ पर्दै फरार अभियुक्त
अदालतले गरेको फैसला कार्यान्वयन गराउने उद्देश्य अनुरूप प्रदेश १ मा प्रहरीले फरार अभियुक्तहरू पक्राउ गरी अदालतमा उपस्थित गराउँदै आएको छ ।
आर्थिक वर्ष ०७६/७७ प्रदेश १ मा ९ सय ७७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । जसमध्ये फौजदारी मुद्दाका ६ सय १ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । फरार भएका प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराएर आर्थिक वर्षमा ४ सय २ वर्ष ६ महिना ५ दिन कैद भुक्तान र १९ करोड ३४ लाख ५२ हजार ५ सय ४३ रुपैयाँ जरिबाना असुल भएको प्रदेश प्रहरीको अभिलेखमा उल्लेख छ । पक्राउ पर्नेमा फरार भएका भारतीय नागरिकहरू पनि रहेका छन् ।
आर्थिक वर्षमा प्रदेशभरिमा ९ सय ७७ जना फरार प्रतिवादी पक्राउ गरेकामध्ये सबैभन्दा बढी मोरङ प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । आर्थिक वर्षमा मोरङ प्रहरीले ४ सय ४३ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । मोरङ प्रहरीले पक्राउ गरेका प्रतिवादीमध्ये ३ सय ३४ फौजदारी र १ सय ९ जना देवानी संहिता मुद्दाका छन् । पक्राउ परेकाहरूबाट १ सय २६ वर्ष ७ महिना ६ दिन कैद र १७ करोड १५ लाख ८ हजार १ सय १५ रुपैयाँ जरिबाना असुली भएको छ । यस्तै मोरङपछि दोस्रोमा सुनसरीले बढी फरार प्रतिवादी पक्राउ गरेको छ । सुनसरीले ३ सय १२ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेकामध्ये ८४ जना फौजदारी र २ सय २८ जना देवानी मुद्दाका प्रतिवादी छन् ।
यस्तै झापाले ८७, इलामले १२, पाँचथरले ८, ताप्लेजुङले १०, तेह्रथुमले ७, उदयपुरले ५९, खोटाङले ९, ओखलढुङ्गाले ३, सोलुखुम्बुले ६, सङ्खुवासभाले १६ र भोजपुरले ५ जना फरार प्रतिवादी पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा धनकुटाले फरार प्रतिवादी फक्राउ गरेको छैन । अघिल्लो आर्थिक वर्ष ०७५÷७६ मा प्रदेशभरिबाट १ हजार ५ सय ४९ जना फरार प्रतिवादी पक्राउ गरी अदालत उपस्थित गराएको छ । उनीहरूबाट ८ सय ६० वर्ष ११ महिना २ दिन कैद भुक्तान र ३ करोड ५६ लाख ९९ हजार ४ सय १६ रुपैयाँ जरिबाना असुल गरिएको प्रहरीको अभिलेखमा देखिन्छ । प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न विशेष प्रहरी टोली नै परिचालन गरेको बताइएको छ ।