पहिचानको मुद्दा राष्टिूय स्तरमा सेलाउँदै जाँदा नेपालको पूर्वी भागमा भने पहिचानको विषयलाई लिएर लिम्बू समुदाय स्पष्ट तीन धारमा विभाजित भएको छ । राज्य तथा अन्य समुदायले यो समुदायलाई लिम्बू भनेर चिने तापनि यो समुदायले आफूलाई याक्थुङ अथवा लिम्बू भनेर चिनाउने गर्दछ । पहिचानको मुद्दामा निकै संवेदनशील लिम्बू समुदाय यसरी विभाजित हुनु कुनै अनौठो कुरा भने होइन । सेनकालमा लिम्बुवान सेन अधिनस्त लिम्बुवान र स्वतन्त्र लिम्बुवानको रूपमा विभाजित थियो । नेपाल एकीकरण भई एकात्मक राज्य व्यवस्था स्थापना हुँदा लिम्बुवान सबैभन्दा अन्तमा नेपालमा समाहित भएको थियो । त्यस बखत समेत राजनैतिक हिसाबले सम्पूर्ण दश लिम्बुवान एकै पटक नेपाल अधिराज्य भित्र आएका थिएनन् । नेपाल अधिराज्यभित्र आउने र स्वतन्त्र रहने भन्ने मत विभाजन भएको थियो । १८३१ मा एकीकरण प्रक्रिया सुरुवात भए पनि १८३४ सम्म लिम्बुवानमा युद्ध भएको थियो ।
उक्त समयमा नेपाल र सिक्किमबीच ३ वर्ष युद्ध हुँदा चार लिम्बुवानले सिक्किमसँग मिली गोर्खा विरुद्ध युद्ध लडेका थिए । बाँकी लिम्बुवानले गोर्खाको पक्षबाट युद्ध लडेका थिए । १८३४ मा बुद्धिकर्ण रायको विजयपुरमा क्रुर हत्यापछि मात्र युद्ध रोकिएको थियो । उक्त समयदेखिनै लिम्बुवान र लिम्बू समुदायमा पटकपटक केन्द्रीय राज्य व्यवस्थाले विभाजनको बिउ छर्ने र रोप्ने काम गरिरहेको छ । जसको मलजल लिम्बू समुदायकै केही अग्रजहरूले गरिरहेका छन् । राणाकालसम्म लिम्बू समुदायलाई धार्मिक सांस्कृतिक हिसाबले नीति (मौलिक नीति) र स्मृति (मनुस्मृति) मान्ने बीच विभाजन गरिएको थियो । सामाजिक राजनैतिक हिसाबले लिम्बू समुदायलाई सुब्बा (सुभाङ्गी) र राय (राई गिरी) मा विभाजन गरिएको थियो । किपट समाप्तिपछि २०२३ सालमा विजयपुरमा भएको चुम्लुङमा समेत मत विभाजन भएको थियो तर यस्ता कुराहरू इतिहासको गर्भमै रहेका थिए । सतहमा आएका थिएनन् । हाल आएर धर्मको विषयलाई लिएर यी समुदायमा विभिन्न समूहहरू आम्नेसाम्ने भएका छन् । सतहमा हेर्दा धार्मिक विषय जस्तो देखिए तापनि गहिराइमा हेर्दा यो पहिचानको मुद्दासँग गाँसिएको देखिन्छ । यो पहिचानका बहुपक्ष तथा बहुआयामसँग जोडिएको देखिन्छ । यसरी हेर्दा लिम्बू समुदायले पहिचानको मुद्दामा प्रवेशविन्दु धार्मिक मुद्दालाई बनाएको देखिन्छ । राष्टिूय जनगणना २०७८ नजिकिँदै जाँदा धर्मको विषयलाई लिएर अझ धु्रर्वीकरण तीव्र भएको देखिन्छ । यसमा मुख्य तीन पक्षले प्रत्यक्ष नेतृत्व र भूमिका निर्वाह गरेको देखिन्छ ।
पहिलो धार
यो पक्ष १९८८ सालमा फाल्गुनन्द लिङ्गदेनले सत्यहाङ्ग मुचुल्का उठान गरेपछि समुदायमा उदय भएको हो । यसले आफ्नो प्रवेशविन्दु धर्मलाई नै बनाएको छ । फाल्गुनन्द आफैँ हिन्दू जसमुनि पन्थद्वारा दीक्षित भएकाले उनले प्रवाह गरेको धार्मिक दर्शन हिन्दू धार्मिक मनोविज्ञान नजिक छ । उनी इस्ट इण्डिया कम्पनी अन्तर्गत भारतीय सेनामा कार्यरत रहँदा फाल्टो समयमा हिन्दू जस्मुनि पन्थका गुरु मधुनन्दबाट दीक्षित थिए । उनी नेपाल फर्केपछि सुरुमा विशुद्ध जसमुनि पन्थलाई नै अभ्यास गरिरहेका थिए । उक्त सम्प्रदायका केही मानिससँग उनको विमति भएपछि लिम्बू समुदायको आध्यात्मिक धार्मिक चिन्तनलाई लिएर उनले हिन्दू मनोविज्ञानतिर ढालेका थिए । तत्कालीन समयमा अनुकूलता र प्रतिकूलतामा उनले आफैँ यस्तो कार्य गरेको हुन सक्छन् । साथै लिम्बू समुदाय केही मानिसहरू उनको अनुयायी बनेको देखिन्छ । केहीले शङ्काको फाइदा दिलाएको देखिन्छ ।
अन्यले मौन रूपमा आफ्नो मौलिक परम्पराभित्र रही आफ्नो धार्मिक आध्यात्मिक मान्यताहरूको अभ्यासलाई निरन्तरता दिएको देखिन्छ । यसले मुन्धुमका पात्रहरूलाई हिन्दू मनोविज्ञानमा ढाल्ने काम गरेको देखिन्छ । विशेष गरी मुन्धुमी आध्यात्मिक ज्ञानमा आधारित आत्मा पात्र थेवासामलाई हिन्दूकृत गर्दै हाङ्गसाम थेवासाम पात्र स्थापित गरिएपछि लिम्बू समुदायको आध्यात्मिक परम्परागत चेतनामा सैद्धान्तिक रूपमा विचलन आएको देखिन्छ । जसले अन्ततः किरात धर्मको नाममा हिन्दू मनोविज्ञानको समुदायमा अभ्यास गर्ने बाटो खोलेको देखिन्छ । यसले १०७६ सालमा किरात साहित्य उत्थान सङ्घको रूपमा राज्यबाट मान्यता पाएपछि अझ बलियो भएको देखिन्छ । राज्यको तर्फबाट फाल्गुनन्द लिङ्गदेनलाई राष्टिूय विभूति घोषणा भएपछि अझ थप शसक्त भएको देखिन्छ । त्यसपछि यो समूहले लिम्बू समुदायको मुन्धुमी धार्मिक स्थलहरूमा हैकम जमाउन खोजेको पाइन्छ । राज्यले फागुनन्द लिङ्गदेनलाई राष्टिूय विभूति घोषणा गरेपछि यो समूहलाई आफ्नो गतिविधि सञ्चालन गर्न अझ सजिलो भएको देखिन्छ । यो समूहले मुन्धुमी धार्मिक स्थलहरू २०५१(०५२ सालदेखि संरक्षण गरेको दाबी समेत गरिरहेको छ । यसले लामो समय लिम्बू समुदायमा एक्कल संस्थागत धार्मिक उपस्थिति जनाएको देखिन्छ । यो समूहको धार्मिक दर्शन तथा व्यवहारिक धार्मिक अभ्यास हिन्दू धर्मभन्दा खासै फरक छैन । मुन्धुमका मूल आत्मा पात्र तागेरा निवाफुङ्मालाई लिएर थेवा र युमा आत्मा पात्रलाई हिन्दूकृत गरेको स्पष्ट देखिन्छ ।
यो समूहले लिम्बू समुदायको भाषा, लिपि, तथा संस्कार संस्कृति जोगाएको भनी दाबी समेत गरिरहेको छ । यो पक्षले युमालाई सामान्य युमा साम्माङ्गको रूपमा बुझेकोले युमा धर्म हुँदैन भन्ने तर्कहरू पेश गरिरहेका छन् । थेवासामलाई हाङ्गसाम भन्दै हिन्दू धर्मको महादेवको रूपमा तुलना गरी युमाको सट्टा थेबासामको श्रेष्ठता कायम गरिएको छ । किराँतको पछि लाग्दै जाँदा उक्त पक्ष याक्थुङ लिम्बू जातिनै किरात हो भन्ने निचोडमा पुगेको देखिन्छ । यो पक्षले फाल्गुनन्द लिङ्गदेनलाई हाङ्गसामको रूप मान्दै आएको छ । मुन्धुमी स्थलहरूमा उनको सालिक ठड्याउनुका साथै चरू हवन गर्ने मन्दिरहरू निर्माणका कार्यहरू धमाधम गरिरहेको छ । यो नै मुन्धुम तथा मुन्धुमी स्थलहरूको संरक्षणको बाटो हो भन्ने बुझाइमा रहेको छ । जुन मान्यता मुन्धुमको मर्म र भावनासँग कतै मेल खाएको देखिँदैन । जसले यस्ता मुन्धुमी स्थलहरूको मौलिकता नष्ट भएको छ ।
अन्ततः यहासम्म आइपुग्दा यो पक्षले लिम्बू भाषा (याक्थुङ पान) लाई किरात भाषा, सिरिजङ्घाको योगदान र बलिदानद्वारा निर्मित सिरिजङ्घा लिपिलाई किराँत लिपि, लिम्बुवान इतिहासको सट्टा किरात इतिहास, याक्थुङ सभ्यताको सट्टा किराँत सभ्यता, लिम्बुवान पहिचान रक्षाको सट्टा किराँत पहिचानको पक्षमा उभिन पुगेको छ । यसले लिम्बुवान राजनीति दर्शनको साटो किराँत राजनीतिक अभ्यासको मनोविज्ञान निर्माण गर्नमा टेवा पु¥याइरहेको छ । यसले सम्पूर्ण लिम्बू समुदायलाई किराँत जातिको रूपमा परिभाषित गर्न खोजेको छ । यसको नेतृत्व किरात धर्म तथा किराँत साहित्य उत्थान सङ्घबाट भइरहेको छ । जसलाई यो समूहभन्दा बाहिर बसेका केही अग्रज लिम्बू बुद्धिजीवी अप्रतक्ष्य रूपमा सहयोग पु¥याइरहेका छन् ।
दोस्रो धार
दोस्रो धारलाई लिम्बू समुदायमा किराँत याक्थुङ चुम्लुङ २०४६ सालमा आधिकारिक जन्म पछि सुरु भएको हो । यो जातीय संस्थाको रूपमा जन्मिएको हो । यो समयमा राजनैतिक रुपमा पछाडि पारिएका, धार्मिक रूपमा हिन्दू धर्मले माथि उठ्न नदिएका नेपालका पूर्वी क्षेत्रका केही जातिहरूमध्ये राई, लिम्बू, याक्खा, सुनुवारले संयुक्त अभियानको रूपमा भावनात्मक प्रभावले आफ्नो जातिको अगाडि किराँत शब्दावली प्रयोग गरेझैं याक्थुङको अगाडि किराँत शब्दावली लगाएको स्पष्ट देखिन्छ । यसमा २०३६ सालमा किरात धर्म तथा साहित्य उत्थान सङ्घ तथा इतिहासकार इमानसिंह चेम्जोङका कृतिहरूको आवरणीय प्रभाव रहेको देखिन्छ । जसको आधारमा २०४९ सालको केन्द्रीय महाधिवेशनबाट याक्थुङ जातिले किरात धर्म मान्नु पर्ने निर्णय नै गरेको छ ।
यो समूहले अझ पनि किरात धर्म तथा साहित्य उत्थान सङ्घ तथा आफ्ना पुराण जातीय हितैसी सहकर्मीहरूसँग सहकार्य गरी लिम्बू समुदायले किरात धर्म भन्नु पर्ने र मान्नु पर्ने उर्दी गरिरहेका छन् । यो समूहको बुझाइमा किराँतधर्मीहरू झैं युमा धर्म नहुने जिकिर गरिरहेको मात्र होइन । युमा साम्योको अस्तित्वलाई नकारेको देखिन्छ । नेतृत्व पङ्क्तिमा रहेका व्यक्तित्वहरूको अभिव्यक्ति, संस्थामा आबद्ध रहेका युमावादीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूलाई गरिने व्यबहारले त्यहीँ देखाइरहेको छ । उसले एक बुझाइमा धार्मिक सांस्कृतिक हिसाबले मौलिकतालाई अभ्यास गरे पनि त्यसलाई किराँत धर्म भन्नु पर्ने तर्क पेश गरिरहेको छ भने अर्कोतिर मौलिकताका विपक्षी किराँतधर्मीहरूसँग सैद्धान्तिक सहकार्य गरिरहेको छ । यसले एकातिर किराँत इतिहासलाई मान्ने, किराँत सभ्यतालाई स्वीकार गर्ने, आफूलाई किराँत जातिको रूपमा समेत स्वीकार गर्ने अवस्थामा देखिन्छ । यसले अर्कोतिर लिम्बुवान राजनैतिक दर्शनलाई निरन्तरता दिनुपर्ने अडानमा भेटिन्छ । यसरी हेर्दा अहिले यो समूह निकै भिजनका दृष्टिकोणले सङ्कटमा रहेको देखिन्छ । यो समूहभित्र धार्मिक विषय व्यक्तिगत हो भन्ने विचार राख्नेहरू, समाजमा खुलेर आफ्नो कित्ता छुट्याउन नसक्नेहरू, मौलिकताबाट टाढा पुगेकाहरू, कुनै न कुनै पार्टीमा आवद्ध भई धार्मिक कुरामा हात हाल्न हुँदैन भन्ने मान्यता राख्नेहरू समेत यही समूहमा रहेको देखिन्छ ।
तेस्रो धार
किरात धर्म पक्षबाट लामो समय लिम्बू समुदायमा धर्मको अभ्यास हुँदा मौलिक पहिचानको संरक्षण हुनको सट्टा विनास भएको किरात याक्थुङ चुम्लुङले धर्म र मौलिक पहिचानको सवालमा समुदायलाई सही दिशानिर्देश गर्न नसकेको निचोडसहित २०७४ माघ २२ गते औपचारिक रूपमा युमा साम्यो महासभा नेपालको जन्म भयो । यो समूहले आफ्नो याक्थुङ मौलिक जातीय नाम हुँदाहुँदै आर्य समाजले दिएको नाम स्वीकार नगर्ने स्पष्ट अडान राखेको छ । यो समूहले प्रारम्भमा किराँत शब्दावली आर्य समाज समूहले गैर आर्य समाज मङ्गोल नस्लीय समूहलाई वेदमा सम्बोधन गरेको, सोही मानव समूहले काठमाडौं उपत्यकामा शासन गरेको, यही मानव समुदायले नेपालको पूर्वी क्षेत्रमा शासन गरेकाले आर्य समाजले यो इतिहासलाई किराँतको रूपमा अभिलेख राखेको, इमानसिंह चेम्जोङले समेत आवरणमा सोही परम्परालाई निरन्तरता दिएको तथ्यलाई समुदाय माझ उजागर गरेको छ । यसले मुन्धुमलाई मूल निर्देशक शास्त्रको रूपमा लिएको स्पष्ट देखिन्छ । मुन्धुमी प्राकृतिक स्थलहरूलाई मुन्धुमको मर्म र भावनाअनुसार प्राकृतिक अवस्थामै रहन दिनुपर्ने मान्यता अगाडि सारेको छ । यस अर्थमा किराँत धर्मबाट मुन्धुमी प्राकृतिक सम्पदाको अतिक्रमण भएको ठम्याएको छ ।
यो कुरा याक्थुङ लिम्बूहरूले बुझ्न जरुरी रहेको समूहको बुझाइ छ । युमा साम्यो महासभा नेपालको आधिकारिक उदयपछि किराँत पक्षधरले मुन्धुमी स्थलहरूको अतिक्रमणमा तीव्रता ल्याएकाले लिम्बू समुदायमा द्वन्द्व पैदा भएको यो पक्षको बुझाइ छ । यो पक्षले मुन्धुमी प्राकृतिक सम्पदामा कुनै भौतिक संरचना निर्माण नगर्न, मुन्धुमी स्थलहरूको मुख्यमुख्य भागबाट जोकोहीले ५०० मिको दूरीमा सहमतिको आधारमा संरचना बनाउन किराँत धर्म पक्षधरलाई आग्रह गरिरहेको छ तर किराँत पक्षधरहरू जसरी पनि त्यही मुख्य ठाउँमा मन्दिर निर्माण गर्ने योजनामा छ । त्यसैले द्वन्द्व चर्को रूपमा चलिरहेको छ । फागुनन्दलाई राष्टिूय विभूति मान्ने, एक समाज सुधारकको रूपमा स्वीकार गर्ने तर उनको शालिक मुन्धुमी प्राकृतिक सम्पदा स्थलमा स्थापित गरिने कुरामा स्वीकार नहुने अडानमा रहेको छ । यस्ता स्थलहरूमा कुनै पक्षले भौतिक संरचना निर्माण बन्द गर्नुपर्ने, याक्थुङ समुदायको सदियौंदेखि बगेर आएको आध्यात्मिक चिन्तन युमा आध्यात्मिक दर्शनको आधारमा युमा साम्यो हो । युमालाई युमा साम्माङ मात्र बुझ्नु अध्ययनको कमी भएको ठम्याएको छ । किराँत साहित्य उत्थान सङ्घ र किराँत याक्थुङ चुम्लुङको क्रियाकलापले प्रत्यक्ष र परोक्ष रूपमा सिङ्गो समुदायलाई मनोवैज्ञानिक हिसाब हिन्दूकृत गर्ने भइरहेको यो समूहको बुझाइ छ । किराँत साहित्य उत्थान सङ्घले लिम्बू समुदायलाई सही दिशानिर्देश गर्न नसक्दा किराँत याक्थुङ चुम्लुङले सही दिशा दिनुपर्नेमा यसले आफ्नो प्राथमिकता पहिचान गर्न नसकेको, लक्ष्य निर्धारण गर्न नसकेको र लिम्बू समुदायको पहिचानलाई रक्षा गर्न नसकेको आरोप लगाएको छ । समय सापेक्ष लिम्बू समुदायको भावनालाई बुझ्न पर्ने उल्टो समुदायमा देखिएका भावनाहरूलाई कुल्चन खोजेको बुझाइ छ ।
यो पक्षले लिम्बू समुदायमा छरिएका विभिन्न खालका भ्रमहरू चिर्दै लगेको देखिन्छ । लिम्बू समुदायमा किराँत धर्मले गर्दा लिपि र भाषा बाँचेको हो भन्ने भ्रमलाई केहीले प्रयास गरे होलान् । भाषाको सन्दर्भमा व्यवहारत लिम्बू समुदायले प्रतिकूलता बावजुद भाषा बचाएका हुन भन्ने बुझाइलाई अगाडि सारेको छ । लिपिका सन्दर्भमा किराँत धर्म इतर र नेपाल बाहिर शिरीजङ्घा लिपि बचाउ र विकासका प्रयासहरूलाई प्रकाशमा ल्याएको छ । युमा साम्योमा तागेरानिवाफुमाको अर्को मानव समुदायमा देखिने रूपनै युमा स्त्री आत्मा पात्र रहेको छ । आदि समयमा लिम्बू समुदायले आफूलाई किराँत नभनेको बरू मङ्गोलियनहरूलाई बृहत् मालामा गाँस्न किराँत भन्ने शब्दावली इतिहासकार इमानसिंह चेम्जोङको प्रगोग २०३६ सालमा किराँत धर्म तथा साहित्य उत्थान सङ्घको जन्म र २०४६ मा किराँत याक्थुङ चुम्लुङको दर्तापछि मात्र समुदायमा किराँत शब्दको शुरुवात र विकास भएको कुरा बाहिर ल्याएको छ । युमा मुन्धुम आध्यात्मिक दर्शनको आधारमा युमा धर्म हो । किराँत धर्मको धार्मिक दर्शन अस्पष्ट र भ्रमपूर्ण रहेको, मुन्धुमी पात्रहरूको अपव्याख्या गरेको जसले लिम्बू समुदायलाई भ्रमको जालोमा पारेको र त्यो जालमा अल्झिन हुन्न भन्ने अपिल गरिरहेको छ । यो समूहले आफ्नो पहिचानमा समुदाय स्पष्ट हुनु पर्ने मान्यता पनि अगाडि सारेको छ । लिम्बूहरूको आफ्नो गरिमायुक्त जाति याक्थुङ जाति, आफ्नो सभ्यता याक्थुङ सभ्यता (इम्वीरी याङ्गधावा), मुन्धुममा आधारित युमा धर्म, भाषा लिम्बू भाषा (याक्थुङ पान), लिपि योगदान र बलिदानमा आधारित शिरिजङ्घा र राजनैतिक दर्शन लिम्बुवान हुनु पर्ने स्पष्ट धारणा राखिरहेको छ । जसले मात्र सिद्धान्त र व्यबहारमा तादम्यता हुने धारणा राखेको छ ।