पथरी/ सरकारको निर्देशन विपरीत पीसीआर स्वाब सङ्कलनमा बढी रकम असुली गरेका मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित पथरी नगर अस्पतालका स्वास्थ्यकर्मी मुरारी आचार्यले वडाध्यक्षलाई प्रयोग गरी अनियमितता ढाकछोप गर्ने प्रयास गरेका छन् ।

कोरोना भाइरस भए–नभएको परीक्षण गर्न बङ्गलादेशका नागरिकलाई प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँका दरले ६ जनाको २६ हजार ४ सय रुपैयाँ लिएका थिए । सरकारले अहिले २ हजार रुपैयाँभन्दा माथि नलिन निर्देशन जारी गरेको छ । तर, नगर अस्पतालका स्वास्थ्यकर्मी आचार्यले गेटपालेको सहयोगमा उक्त रकम लिएको खुलेको छ । कोरोना भए–नभएको जाँच गर्न चाहनेको हकमा भने २ हजार रुपैयाँ शुल्क लिएर परीक्षण गर्न सकिने प्रावधान तोकेको छ । त्यसका लागि प्रदेशको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालाले मात्र रकम लिएर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था छ । स्वाब सङ्कलनको लागि जुनसुकै नागरिकका लागि पनि रकम लिन पाइँदैन ।

सङ्घीय सरकारले भदौ २८ गते सो बारे निर्देशन गरे पनि पथरी अस्पतालका कर्मचारी आचार्यले २६ हजार ४ सय रुपैयाँ लिएको तथ्य बाहिर आइसकेको छ । सोमबार ब्लाष्ट टाइम्सको अनलाइन संस्करणलगायतका सञ्चार माध्यमहरूमा समाचार आएपछि सोही राति करिब १० बजे नगरपालिकाका १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन लिम्बूलाई प्रयोग गरी गल्ती ढाकछोप गर्ने प्रयास गरेका छन् । नगर मातहतको अस्पताल भएकाले लिखित निर्देशन दिने हैसियत नगरपालिकालाई मात्र हुन्छ । माथिल्लो तहको अर्को निर्देशन नआएसम्म सरकारी अनुदानमा आएको पीसीआरको लागि स्वाब सङ्कलनको किट बिक्री गर्ने वा रकम लिन आदेश दिने हैसियत नगरप्रमुख मात्र होइन, नगर कार्यपालिकालाई पनि छैन ।

वडाध्यक्षहरू कार्यपालिकाको सदस्य भएकाले बैठकमा विषय उठेमा विचार राख्ने र निर्णय प्रक्रियामा सहभागी हुने अधिकार हुन्छ । स्वाब सङ्कलनको पैसा असुल गरेको विषय सार्वजनिक भएपछि मुरारी आचार्यले १ नम्बर वडा कार्यालयको लेटरप्याड प्रयोग गरी राति करिब १० बजे विज्ञप्ति प्रकाशन गर्न लगाई गल्ती ढाकछोपको प्रयास गरेका हुन् । वडाध्यक्ष लिम्बूद्वारा प्रकाशित विज्ञप्तिमा नगरवासीलाई पीसीआर निःशुल्क परीक्षण गर्दै आएको र लुकिछिपी आएका भारतीय नागरिकलाई नगरप्रमुखको निर्देशनमा रकम लिन आदेश गरिएको र उक्त रकम अस्पतालको खातामा जम्मा गरिएको उल्लेख छ । विज्ञप्तिमा समाचारमा आएकै विषय वडाको लेटरप्याडमा दोहोरिएपछि स्वास्थ्यकर्मी आचार्यको गलत कार्य झन् बलियो गरी प्रमाणित भएको छ । नगरपालिकामा हैसियत नपुगेपछि आफू निकटका वडाध्यक्षलाई प्रयोग गरी गलत काम ढाकछोपको प्रयास भएको प्रष्ट भएको छ ।

रकम नगरको खातामा जम्मा भएको उल्लेख भए पनि रकम लिने निर्णय कहीँकतै पनि नहुनु, स्वाब सङ्कलनको सरकारी निर्देशन विपरीत रकम लिनु, पैसा अस्पतालको लेखा वा बिलिङ शाखामा नभएर गेटपालेबाट लिनु, प्रतिव्यक्ति बिल नकाटेर एकमुष्ठ काटिनु, २६ हजार चार सय लिएर २६ हजारको मात्र बिल काटिनु, पालेबाट सिधै लेखामा नलगेर आचार्य आफैले रकम लिनु, बिलमा अस्पतालको छाप नहुनुले विषय सार्वजनिक भएपछि मात्र अस्पतालको खातामा आम्दानी बाँधिएको हुनसक्छ ।