उच्च शिक्षाको ढोका खोल्ने काम कक्षा १२ को परीक्षाले निर्धारण गर्दछ । तर, कक्षा १२ मा सफल (उत्तीर्ण) भएर मात्रै स्नातक तहमा भर्ना हुन पाइँदैन । कक्षा ११ पनि सफल भएको हुनुपर्दछ । यो वर्ष कक्षा १२ को परीक्षा दिन बाँकी विद्यार्थीले भने अगाडिका वर्ष झैँ कक्षा ११ सहितको ट्रान्सक्रिप्ट (समष्टिगत लब्धाङ्कपत्र) पाउँछन् । सामान्यतया तिनीहरूको ट्रान्सक्रिप्टमा कक्षा ११ र १२ को कुल पूर्णाङ्क १ हजार हुने गर्दछ । तर, कोरोना (कोभिड–१९) को महामारीले गर्दा यस वर्षदेखि नै कक्षा ११ को अन्तिम परीक्षा विद्यालय तहमा गर्ने निर्णय भइसकेको छ । सो परीक्षाको लब्धाङ्क–पत्र सम्बन्धित विद्यालयले दिने गरी कार्यविधि पारित गरिएको हो । यही कार्यविधिका आधारमा कतिपय विद्यालयले त कक्षा ११ को अन्तिम परीक्षा पनि सञ्चालन गर्न थालेका छन् । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्नमा खासै कठिनाइ छैन । तर, धेरै सङ्ख्यामा विद्यार्थी रहेका र कोरोनाको सङ्क्रमण दर उच्च रहेका स्थानका विद्यालयलाई भने प्रतिकूल छ ।

नयाँ वर्षको सुरुवातमै हुनुपर्ने कक्षा १२ को वार्षिक परीक्षा अहिलेसम्म हुन सकेको छैन । कोरोना कहरमा परेर परीक्षा स्थगित भएको आज करिब ५ महिना भइसक्यो । यो बीचमा परीक्षा दिने समय कुरेर बसेका विद्यार्थीलाई झनै तनाव बढिरहेको छ । साउन पहिलो साताको सरकारी घोषणालाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी थालेको थियो । बोर्ड असोज १५ गतेभित्र परीक्षा सक्नमा लागेको थियो । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले उक्त प्रक्रिया अघि बढाएको थियो । तर, कोरोना (कोभिड–१९) महामारी झनै बढेर जाँदा परीक्षाअनिश्चित बनेको छ । अहिले मुलुकभित्र दैनिक औसत १ हजारको सङ्ख्यामा कोरोना पोजेटिभ देखिन थालेको छ । कोरोनाकै कारण दैनिक ज्यान गुमाउने नेपालीको सङ्ख्या दोहोरो अङ्कमा छ । यस्तो अवस्थामा कोरोना त्रास झनै बढ्दो छ । कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई बढी सक्रिय पारिएको छ । देशबाट लकडाउन हटे पनि जिल्ला–जिल्ला र ठाउँ–ठाउँमा भने निषेधाज्ञा तथा लकडाउन हट्न सकेको छैन । यस्तो विषम परिस्थितिमाअधिकांश विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तै गरी कक्षा १२ को वार्षिक परीक्षा पनि सञ्चालन भए धेरै सहज हुने आशा राखेका छन् । तर, राष्ट्रिय परीक्षा बोर्ड आफैले प्रत्यक्षरूपमा परीक्षा लिने चेष्टा गरिरहेको छ ।

यही मेसोमा बोर्डले परीक्षा सञ्चालनका लागि समयानुकूल विभिन्न विकल्पमा छलफल चलाउँदै छ । विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने विकल्पमा बोर्डको सक्रियता बढेको पाइन्छ । सोही प्रयोजनका लागि बोर्डले सम्बन्धित विद्यालयमार्फत् कक्षा १२ को परीक्षा दिने विद्यार्थीको बसोबास स्थान खुल्ने गरी लगत लिन थालेको छ । लगत सङ्कलन भएपछि सोबारे सम्भाव्य निर्णय गरिने बोर्डको भनाइ छ । त्यसैगरी बोर्डले अगाडि सारेको अर्को विकल्पमा चरणगत रूपमा परीक्षा सञ्चालन गर्नु हो । कोरोनाको असर नरहेको जिल्लामा पहिलो चरणमा र त्यसपछि क्रमशः अरू जिल्लामा परीक्षा सञ्चालन गर्ने गरी बोर्डले सरकारसमक्ष प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

सरकारी स्वीकृति भए पहिलो चरणको परीक्षा दसैँअगाडि नै सक्ने तयारीमा बोर्ड जुटेको हो । शिक्षा पत्रकार समाज (सेज)ले भर्खरै आयोजना गरेको भर्चुअल बहसमा बोल्दै बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले चरणबद्धरूपमा परीक्षा भए पनि नतिजा एकैपटक सार्वजनिक हुने जानकारी दिए । सम्भाव्यता अध्ययन गरी अनलाइनबाट परीक्षा लिने विकल्पलाई पनि प्रतिवेदनमा समेटिएको छ तर, त्यसलाई प्राथकितामा राखिएको छैन । अहिले बोर्डले प्राथमिकताका साथ अघि सारेका विकल्प भनेका ‘विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन’ र ‘चरणबद्धरूपमा परीक्षा सञ्चालन’ नै हुन् । जेजस्ता विकल्पमा भए पनि बोर्ड आफैँ परीक्षा लिन तम्तयार छ । अन्तर्राष्ट्रिय ख्याति जोगाएर सर्टिफिकेटलाई मान्यताप्राप्त बनाउन भन्दै बोर्ड आफै परीक्षा लिन अघि सरेको हो । कक्षा १० वा ११ जस्तो नभई कक्षा १२ को परीक्षा ज्यादै संवेदनशील हुने र यसले ठूलो अर्थ राख्ने बोर्डको ठम्याइ छ । वास्तवमा बोर्डको यो भनाइ सत्य र यथार्थवादी भए तापनि समयानुकूल हुन सकेको छैन ।

‘बहुरूपी’ प्रमाण–पत्र (ट्रान्सक्रिप्ट) बन्दै
अहिलेसम्मको अवस्थामा विद्यालय तह उत्तीर्ण गरेका प्रमाण–पत्रहरूको स्वरूप हेर्ने हो भने ज्यादै धेरै परिवर्तन भएको पाइन्छ । केही वर्षका अन्तरालमा हुने परिवर्तन सामान्य नै हुँदा पनि एउटै वर्षमा समेत फरक–फरक ढाँचा र शैलीका प्रमाण–पत्र हुनु अलि आश्चर्यजनक ठहर्छ । यो वर्ष नियमितरूपमा कक्षा ११ को परीक्षा दिने विद्यार्थीले १२ कक्षा उत्तीर्ण गर्दा पनि औसत ५ सय पूर्णाङ्कको मात्र ट्रान्सक्रिप्ट बनाउँछन् । किनकि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले आन्तरिक रूपमा लिने र सोको प्राप्ताङ्क ट्रान्सक्रिप्टमा उल्लेख नहुने घोषणा भइसकेको छ । उनीहरूले कक्षा ११ मा पढेका विषयको नाम मात्रै ट्रान्सक्रिप्टमा खुलाइन्छ । यसो हुँदा अर्को वर्षदेखि दुई प्रकारका ट्रान्सक्रिप्ट बन्ने स्पष्ट हुन्छ ।

त्यतिमात्र होइन, झनै कक्षा ११ र १२ मा नयाँँ पाठ्यक्रम लागू भएपछि त बहुरूपधारी ट्रान्सक्रिप्टहरू बन्ने गर्दछन् । त्यतिबेला उच्च माध्यमिक शिक्षा परिषद् (एचएसईबी) देखि राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) सम्मले दिने कक्षा ११ र १२ को ट्रान्सक्रिप्टलाई विषगतरूपमा तुलना गर्ने हो भने ज्यादै भिन्न र अनौठा देखिन्छन् । कहिले अङ्कसहित उत्तीर्ण डिभिजन भएको, अहिले अक्षराङ्क पद्धतिमा ग्रेड भएको, कहिले ११ र १२ नाम गरेको, कहिले ‘स्कुल लिभिङ सर्टिफिकेट’ लेखिएको, कहिले ५ विषयसहित कक्षा १२ मात्रै खुलेको (अहिले कक्षा ११ को नियमित परीक्षा दिएर अर्को वर्ष १२ कक्षामा सफल हुँदा), कहिले ७ विषयसहित कक्षा १२ मात्रै खुलेको (नयाँ पाठ्यक्रम लागू हुँदा) जस्ता ट्रान्सक्रिप्टका बहुरूपहरू हुँदैछन् ।

यस्तै एउटै विद्यार्थीले दुईवटा ‘एसएलसी’ लेखेका सर्टिफिकेट समेत बोक्नुपर्ने बाध्यता छ । पहिले एसएलसी (कक्षा १०) उत्तीर्ण गरेर बीचमा पढाइ छोडी पुनः कक्षा ११ र १२ अध्ययन पूरा गर्दा पनि ‘एसएलसी’ नामधारी सर्टिफिकेट नै प्राप्त भएको छ । यसले एउटै तहमा धेरै चाँडो पाठ्यक्रमसहितको शैक्षिक संरचना परिवर्तन गर्दा दूरगामी असर पर्ने तथ्यलाई सङ्केत गर्दछ भने निश्चय पनि अन्तर्राष्ट्रिय स्तरमा समेत द्विविधा बढाइरहेको हुन्छ । देशको शिक्षा पद्धति र शैक्षिक संरचनाको द्रुतगामी परिवर्तन अलि अस्वभाविक नै हुने छर्लङ्ग छ ।

समयानुकूल निर्णयको आवश्यकता
यता, सरकारले शैक्षिक सत्र खेर जान नदिने बताए पनि कक्षा १२ को परीक्षाबारे कुनै ठोस निर्णय गर्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले पनि समयानुकूल ठोस निर्णय गरी सरकारसमक्ष प्रस्ताव पेस गर्न नसकेको अवस्था छ । अब भने अहिलेको विषम अवस्थामा सबै पक्षलाई आधार मानेर उत्तम विकल्प खोज्नुपर्दछ । यसका लागि सबै विकल्प खुला गरेर बोर्डले सरकारसमक्ष संशोधित र परिमार्जित प्रतिवेदन बुझाउनु उत्तम हुन्छ । यहाँ विकल्पको रूपमा प्रथमतः अनलाइन प्रणालीबाट परीक्षा लिने कुरा समेटिनु पर्दछ । कक्षा १२ का विद्यार्थीले घरबाटै ‘टाइम बाउण्ड सिस्टम’ मा अनलाइन परीक्षा दिने वातावरण बनाउनु पर्दछ । यसका लागि सम्बन्धित विद्यालय र अभिभावकको प्रमुख भूमिका हुन्छ । अहिले पूर्वाञ्चल, नेपाल खुला, सुदूरपश्चिमाञ्चलजस्ता विश्वविद्यालयहरूले पनि अवलम्बन गर्न थालेको यो परीक्षा प्रणालीलाई कक्षा १२ मा पनि लागू गर्न सकियो भने समस्याको सहजै निपटरा हुन्छ ।

यसैगरी अनलाइन परीक्षाको विकल्पमा विद्यालय तहमै आन्तरिक परीक्षा लिनु बेस हो । सम्बन्धित विद्यालय तहमै आन्तरिक मूल्याङ्कन गर्दा पनि तात्विक फरक पर्दैन । त्यसका लागि स्पष्ट निर्देशिका बनाएर बोर्ड र सरकारले मार्गप्रशस्त गर्नु पर्दछ । आन्तरिक मूल्याङ्कनको प्रामाणिकता र विश्वसनीयताका लागि बनाइएको निर्देशिकामा कक्षा ११ को वार्षिक परीक्षाको नतिजालाई पनि आधार मान्नु आवश्यक छ । कक्षा ११ को वार्षिक परीक्षाको प्राप्ताङ्कमा अधिकतम् २० वा ३० प्रतिशत मात्रै बढाउन पाउने गरी निर्देशिका बनाउने हो भने विश्वसनीयता गुम्ने खतरा कम हुन्छ । कक्षा ११ को वार्षिक परीक्षा त गत वर्ष बोर्ड आफैले लिएको परीक्षा हो । यसो हुँदा गत वर्षको कक्षा ११ को प्राप्ताङ्क र अब हुने कक्षा १२ को प्राप्ताङ्कमा धेरै फरक पर्दैन भने औसत प्राप्ताङ्क वा ग्रेड पनि स्वभाविक हुन्छ । तर, प्रत्यक्ष सम्पर्क हुने गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र बनाउँदै वा चरणबद्धरूपमा परीक्षा सञ्चालन गर्न खोज्नु भनेको घातकसिद्ध ठहर्छ ।

विश्वलाई नै आक्रान्त पारेको कोरोना कहरमा माथि भनिएजस्तै प्रकारलेवैकल्पिक तरिकाबाट कक्षा १२ को परीक्षा व्यवस्थापन गर्न सम्बन्धित पक्ष ज्यादै गम्भीर हुने बेला आएको छ । अब पनि बोर्डले नै लिने गरी परीक्षा सञ्चालन गर्ने तरिकाको विकल्प खोजेर मात्रै पनि हुँदैन । समयसीमा पार हुनै लाग्दा बोर्डले लिने परीक्षाको विकल्पमा अनलाइन प्रणाली वा आन्तरिक मूल्याङ्कन प्रणाली नै उत्तम सावित हुन्छ । किनकि, काबुबाहिरको समय र परिस्थिति आयो भने निश्चय पनि केही पक्षमा सम्झौता गर्नुपर्दछ । यस्तो नगर्ने हो भने तनाबकैबीच विद्यार्थीको शैक्षिक सत्र खेर जाने मात्रै होइन, उच्च शिक्षा (क्याम्पस) को शैक्षिक क्यालेण्डर पनि अझ एक वर्ष धकेलिने स्पष्ट छ ।
(लेखक निरौला स्वतन्त्र पत्रकार हुन् ।)