भण्टाबारी/ भारतबाट नेपालतर्फ चौपाया तस्करी गरेर ल्याउने गरेको पाइएको छ भने नेपालबाट पुनः भारत हुँदै बङ्गलादेशसम्म तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।
सीमा नाका सुरक्षार्थ खटिएका प्रहरीले निगरानी बढाएको दाबी गर्दै आए पनि तस्करी हुने क्रम रोकिएको छैन । प्रहरी, पशु क्वारेण्टाइन र भन्सारका कर्मचारीकै मिलेमतोमा भारतबाट नेपाल हुँदै बङ्गलादेशसम्म तस्करी गराउने गिरोह सक्रिय रहेको स्रोतको दाबी छ । भारतबाट सुनसरीको घुस्की, वसन्तपुर, विक्रमपुर, देवानगञ्ज, भुटाहासहितका नाका हुँदै दिनहुँजसो भैंसी र राँगा नेपाल भिœयाउने गरिएको छ ।
तस्करहरूले चराउने बहानामा हिँडाउँदै भारतबाट भैंसी र राँगा नेपाल भिœयाउने गरेका छन् भने व्यापारीहरूले झापाको विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मुलुकसम्म तस्करी गराउँदै आएका छन् । नेपालबाट दोस्रो मुलुक गाई, गोरु निकासी गर्न नपाउने प्रावधान छ । गाई, गोरु पालेर गाईको दूध खान, बेच्न वा गोरुलाई जोत्न र गाडा चलाउन मुलुकभित्रै ओसार–पसार गर्न पाइने प्रावधान भए पनि कानून कार्यान्वयन भएको पाइँदैन । वर्षौंदेखि तस्कर र सीमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतोमा चौपाया तस्करी गर्ने गिरोह सक्रिय रहँदै आएको स्रोत बताउँछ ।
ट्रकसहित राँगा बरामद
भारतबाट तस्करी गरी ल्याइएका दुई दर्जनबढी राँगासहित ट्रक सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भारतबाट ल्याइएका राँगा पूर्वतर्फ लाँदै गर्दा चेकजाँचको क्रममा इनरुवाबाट नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । भारतबाट अवैधरूपमा ल्याई पश्चिा कुशाहा क्षेत्रमा स्टक गरी प्रदेश १–०२००१ ख ८१५६ नं. को ट्रकमा लोड गरेर झापातर्फ लाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले राँगासहित उक्त ट्रक शनिबार नियन्त्रणमा लिएको हो ।

नेपाल र भारतको कानूनी व्यवस्थाअनुसार एक देशबाट अर्को देशमा चौपाया तस्करी गर्न रोक लगाएको छ । कानूनले तस्करी गर्न नपाइने भने पनि तस्करहरूले चराउने बहानामा भारतबाट चौपाया नेपाल भिœयाउने र पुनः भारत हुँदै तेस्रो मुलुकसम्म पठाउने गरेका छन् । भारतबाट तेस्रो मुलुकसम्म सिधै चौपाया तस्करी गराउन सहज नभएकोले नेपालको बाटो हुँदै तस्करी गराउँदै आएको छ । पशु ढुवानी मापदण्ड विपरीत व्यापारिक प्रयोजनका लागि भन्दै ट्रकमा चौपाया कोचेर लैजाने र सीमामा पु¥याउने तस्करले त्यस्ता चौपायालाई मौका हेरी सीमा कटाउने गरेका छन् । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले चौपाया तस्करी रोक्न सक्रिय रहेको दाबी गर्दै आएको छ् । तर, खुला सीमा नाकाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण रहँदै आएको छ ।
संरक्षणमै चौपाया तस्करी भएको आरोप
नेपाल–भारतबीच रहेको खुला सीमा नाका कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिल रहेको समयमा सुरक्षाकर्मीकै संरक्षणमा चौपाया तस्करी हुँदै आएको स्थानीयको आरोप छ । सुरक्षाकर्मीको संरक्षण बिना तस्करी गराउन सम्भव नरहेको नाम उल्लेख नगर्ने शर्तमा एकजना व्यापारीले बताए । ‘सीमामा तैनाथ रहेकादेखि माथिसम्म मिलेका हुन्छन्’ ती व्यापारीले भने, ‘नत्र, त्यसरी भारतबाट चौपाया ल्याउन सम्भव छैन, प्रहरीलाई पनि काम देखाउनुपर्ने हुन्छ, त्यसैले कहिलेकाहीँ पक्राउ गरेजस्तो गर्छन् ।’ भारत वा अन्य कुनै मुलुकबाट भैंसी, राँगालगायतका पशुजन्य वस्तु नेपाली पशु क्वारेण्टाइनले निरोगी भएको प्रमाणित गरेको खण्डमा मात्र नेपाल भित्रिन दिने कानूनी व्यवस्था रहेको छ ।
तर, पशु क्वारेण्टाइन र भन्सारका कर्मचारीसँगै प्रहरीकै संरक्षणमा चौपाया तस्करी गराउने गिरोह सक्रिय रहेको स्थानीयको आरोप छ । यता सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा सबै प्रकारका चोरीपैठारी नियन्त्रण गर्न नेपाल प्रहरी लागिपरेको दाबी गर्छन् । ‘चौपाया तस्करी बेला–बेला चोरबाटोबाट हुँदै आएको छ’ उनले भने, ‘जसलाई नियन्त्रण गर्न हामी २४ सै घण्टा ड्युटी गर्दै आएका छौँ ।’ तस्करीमा प्रहरीको संलग्नता अस्वीकार गर्दै एसपी थापाले भने, ‘त्यस्तो कुनै प्रहरीले गरेको प्रमाण उपलब्ध गराएको खण्डमा तत्काल कारबाही गरिनेछ ।’