बिजयपुर/ धरान उपमहानगरपालिकाभित्र सञ्चालित धेरै विद्यालयहरू अनुमति नलिई कक्षा थप गर्दै सञ्चालन हुँदा पनि उपमहानगरले अनुगमन र नियमन गरेको छैन । धरानका विभिन्न वडामा सञ्चालित विद्यालयहरूले अनुमति लिएको कक्षाभन्दा माथिल्लो कक्षा सञ्चालन गरेको ब्लाष्टकर्मीको स्थलगत सर्भेक्षणमा पाइएको हो ।
धरान–५ काे देउराली चिल्ड्रेेन एकेडेमी स्कुललाइ कक्षा–८ सम्म मात्र पढाउन पाउने अनुमती छ । तर स्कुलले २ वर्ष पहिलेदेखि नै कक्षा ९ सञ्चालन गर्दै आइरहेको छ । सो स्कुललका अभिभावकका अनुसार कक्षा–१० चलाउने तयारी भईरहेको छ । उक्त स्कुलले गोरखा एकेडेमीबाट परीक्षा दिलाउँदै आएको स्कुलका प्रिन्सिपल पृथ्वी राईका मगरले जानकारी दिएका छन् । यसरी अबैधानिक रुपमा सञ्चालन गर्न मिल्छ ? भन्ने प्रश्नमा उनले सबैले सञ्चालन गरेकोले आफुले पनि गरेको बताउँदै भने,– हामीले मात्र हाेइन धेरै यसरी पढाएका छन्, तपाइहरूलाइ के के मन लाग्छ लेख्नुहाेस् ।
धरान–५ मा रहेको राइजिङ इङ्लिस बोर्डिङ स्कुलमा २ वर्ष अघिदेखि नै ६ कक्षा सञ्चालन भइरहेको छ । तर, उक्त स्कुलले अनुमति भने ४ कक्षासम्मको मात्र लिएको छ । ‘धरान उपमहानगरमा कक्षा ५ थप गर्न माग गरेर निवेदन दिएका छौं’ स्कुलका प्रिन्सिपल सुवास लिम्बूले भने । एक वर्ष पहिलेदेखि नै कक्षा ६ सञ्चालन गरेको उनले स्वीकार गरे । उनले यो आफ्नो बाध्यता भएको पनि बताए । उनले भने, ‘कक्षा थपको अनुमति पाउने बित्तिकै विद्यार्थी नहुने भएकाले अनुमति नलिई सञ्चालन गर्नुपरेको हो ।’ उनले होलील्याण्ड स्कुलदेखि परीक्षा दिलाएको बताए ।
यस्तै धरान–१५ स्थित धरान स्कलर्स एकेडेमीमा पनि बिना अनुमति कक्षा १० सञ्चालन भइरहेको छ । एकेडेमीले कक्षा ९ सम्मको मात्र अनुमति पाएको छ । स्कुलका प्रिन्सिपल रुद्र अधिकारीले यो वर्ष थपका लागि माग गरेको बताए ।
धरान–६ पानवारीमा सञ्चालित हेब्रोन इङ्लिस बोर्डिङ स्कलले कक्षा ५ सम्म मात्र अनुमति लिएको छ । उपमहानगरपालिकामा कक्षा ६ सञ्चालनका लागि माग गरेको सो स्कुलले पढाइ भने कक्षा ७ सम्म सञ्चालन गरिरहेको छ । स्कुल सञ्चालक समितिका अध्यक्ष बिन्दा राई गतवर्ष नै माग गरेपनि स्वीकृति नपाएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले ७ कक्षा सञ्चालन गर्ने तयारी गरेका छौं । माग गरेको समयमा नपाएकाले कक्षा थप हुँदै गएको हो ।’
देउराली पञ्चकन्या विलिभर्स इङ्लिस स्कुलले कक्षा ५ को मात्र अनुमति लिएको छ भने कक्षा ६ का लागि माग गरिरहेको छ । तर, उक्त स्कुलमा कक्षा ८ सम्म सञ्चालित छ । स्कुलका प्रिन्सिपल हेमराज गुरुङले शुल्क न्यून र अभिभावकहरूलाई सहुलियत भएकाले अभिभावककै मागअनुसार कक्षा थपेर सञ्चालन गरेको बताए । उनले धरान–१७ रेल्वेमा रहेकोे एक्वा इङ्लिस बोर्डिङ स्कुलबाट परीक्षा दिलाएको बताए ।
धरान–५ को धरान इङ्लिस बोर्डिङ स्कुलको अनुमति कक्षा २ सम्म मात्र छ । केही वर्ष पहिलेदेखि नै ५ कक्षासम्म सञ्चालन गर्दै आएको सो स्कुलले हाल उपमहानगरपालिकामा भने कक्षा ३ का लागि अनुमति मागेको छ । विद्यालयका एक अभिभावकले भने ६ कक्षा सञ्चालनको तयारी भइरहेको बताएका छन् । स्कुलका अध्यक्ष दिनेश जिमी याक्खाले भने ५ कक्षा सञ्चालनको तयारी रहेको बताए । उनले भने, ‘भौतिक संरचनालगायत सबैकुरा पूरा गरेर सञ्चालन गरेको हो र अनुमति लिन मात्र बाँकी रहेको छ ।’ अनुमति नलिई सञ्चालन गरेको बारे जिज्ञासा राख्दा उनले ‘गाउँको स्कुल भएकाले शिक्षक, कर्मचारी पाल्न गाह्रो हुने र सबै विद्यालयहरूले यस्तै गर्ने भएकोले आफूले पनि गरेको’ ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा भने । उनले उपमहानगरपालिकाबाट अनुगमन गर्दा पनि व्यवस्थापनमा उत्कृष्ट भएकोे दाबी गरे । उनको स्कुलका विद्यार्थीहरूलाई धरान–१५ स्थित हिविस्कस स्कुलबाट परीक्षा दिलाउने गरेको बताएका छन् ।
नेपाल सरकारले संविधान बमोजिम स्थानीय तहलाई प्राथमिक र माध्यमिक विद्यालय सञ्चालन गर्ने अधिकार दिएको छ । नेपालको संविधान २०७२ को धारा २२१, २२६ अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्य सम्पादन नियमावली, २०७४ मा भएको व्यवस्था बमोजिम ‘धरान उपहानगरपालिका शिक्षा नियमावली, २०७४’ को नियम १९ ले विद्यालयको कक्षा थप गर्नका लागि उपनियम १ अनुसार कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा दुई महिनाअगावै नगरकार्यपालिका समक्ष निवेदन दिनु पर्दछ । उपनियम (१) बमोजिम निवेदन परेमा नगरपालिकाले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको जाँचबुझ गरी सञ्चालन गर्नका लागि मापदण्ड पूरा भएको भए कार्यपालिकाले शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै अनुमति दिएपछि मात्र कक्षा थप गर्ने व्यवस्था रहेको छ ।
विद्यार्थीको बिचल्ली
यसरी नियम विपरित अनुमती लिएको भन्दा माथि कक्षा सञ्चालन गर्दा ‘शिक्षा व्यवस्थापन सूचना प्रणाली’ (ई.एम.आई.एस) विद्यार्थीहरुको विवरण भर्न नपाउने अवस्था रहन्छ । ईएमआईएस भनेको शिक्षा मन्त्रालयले विद्यार्थीहरुको विवरण अद्यावधिक गराउने सफ्टवेयर हो । त्यसैको आधारमा नेपाल सरकारले बालबालिका सम्बन्धि नीति नियम बनाउने गर्दछ । यसमा छुट्न गएका विद्यार्थीहरुको बारेमा नेपाल सरकारले जिम्मा लिने नसक्ने विज्ञहरुको भनाइ छ । कतिपय विद्यार्थीहरुको यस्तै कारण समस्यामा पनि पर्दै आएका छन ।
धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालले पहिलेका वर्षमा अनुगमन भएको बताए । उनले भने,‘अहिले विषम परिस्थिति भएकाले अनुगमन हुन नसकेको हो ।’ उनले थपे, ‘पालिकाको ऐन बनेको छैन । संघिय शिक्षा ऐनले अवैधानिक रुपमा सञ्चालन गरेका विद्यालयलाई खारेज गर्ने र सञ्चालकलाई जेलसम्म लगाउने कारबाहीको व्यवस्था छ ।’
धरान उपमहानगरमा सञ्चालित ९६ वटा निजी तथा संस्थागत विद्यालयहरु मध्ये चालु शैक्षिक शत्रमा ३७ वटा विद्यालयहरुले कक्षा थपको माग गरेका छन । माग भएका विद्यालयहरु मध्ये केहि विद्यालयहरुले केहि वर्ष पहिलेदेखि नै कक्षा माग गरेको पनि भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएका छन । यि माग गरेका विद्यालयहरु प्रायः माथिल्लो कक्षा सञ्चालन गरिरहेकै पाइएको छ ।