ताप्लेजुङ/ सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरू सञ्चालनमा आएका छन् ।

कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकूल सञ्चालन गरी सिकाइलाई निरन्तरता दिन सकिने सरकारले जनाएपछि यहाँका निजी तथा सामुदायिक विद्यालयले विद्यालय खोलेर पठन–पाठन सुरु गरेका हुन् ।

अन्य जिल्लाहरूको तुलनामा ताप्लेजुङ सङ्क्रमणका हिसाबले केही सुरक्षित रहेको र सबै विद्यार्थी तथा अभिभावक रेडियो, टिभी साथै अनलाइन सिकाइको पहुँचमा नभएको निष्कर्षसहित यहाँका विद्यालयले विगत एक हप्तादेखि शैक्षिक संस्था खोलेर पठन–पाठन गरिरहेका छन् । तर, विद्यालयमा आउने विद्यार्थीको सङ्ख्या भने अत्यन्तै न्यून देखिएको छ ।

पछिल्लो समय सदरमुकामस्थित प्राइम बैङ्कका एक कर्मचारी र फक्ताङलुङ गाउँपालिकाका अर्का एक वृद्धमा सङ्क्रमण पुष्टि भएपछि अविभावकसमेत आफ्ना बालबालिकालाई स्कुल पठाउन डराइरहेका छन् । ‘अभिभावकको इच्छाअनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्दै विद्यालय खोल्यौँ तर, विद्यार्थीको सङ्ख्या भने न्यून छ’–भानुजन माविका प्रधानाध्यापक किशोर राईले भने ।

सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा रेडियो, टिभी र अनलाइनबाट भइरहेको सिकाइका गतिविधिमा विद्यार्थीले चासो नदिने गरेको पाइएकाले पनि विद्यालय खोलेर सञ्चालनमा ल्याइएको बताउँदै सङ्क्रमणकै कारण परिस्थिति जटिल बने अरू उपाय अवलम्बन गरेर भए पनि सिकाइलाई निरन्तरता दिने तयारी भएको उनको भनाइ छ ।

फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाका अधिकांश विद्यालय खुलेका छन् । तर, अन्य क्षेत्रका विद्यालय भने प्रायः बन्द नै छन् । खोल्ने तयारी हुँदाहुँदै जिल्लामा सङ्क्रमित थपिएपछि अन्योल भएको ती विद्यालयले जनाएका छन् । स्थानीय सरकारले समेत विद्यालय लगाऊ भन्न सकिरहेका छैनन् । ‘सङ्क्रमणको दर बढ्दो छ, गाउँपालिकाले नै निर्णय गरेर विद्यालय लगाऊ भन्न सकिरहेको छैन तर, स्वास्थ्य सुरक्षा र परिस्थितिलाई मध्यनजर गरी विद्यालय आफैले सञ्चालन गर्दा रोक्ने कुरा हुँदैन, सिकाइलाई वैकल्पिक माध्यमबाट निरन्तरता दिनेलगायतका कार्यलाई सघाइरहेका छौँ’ – सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले भने ।

यातायात खुलेसँगै सदरमुकामका बजारदेखि गाउँ–गाउँमा समेत मानिसको चहल–पहल बढ्दै गइरहेको र स्थानीयमा समेत सङ्क्रमण देखिएपछि सर्वसाधारणमा समेत त्रास छ । हिमाली जिल्ला भएकाले एकातिर सबै नागरिक रेडियो, टिभी र अनलाइनबाट हुने सिकाइको पहुँचमा छैनन् भने अर्कातिर सङ्क्रमण बढ्दै जाँदा खुलेका विद्यालयमा समेत आफ्ना बालबच्चालाई पठाउन सकिरहेका छैनन् । यसले विद्यार्थीको पढाइ प्रभावित हुने स्थानीय बताउँछन् ।