इनरुवा । लकडाउन खुलेसँगै बढ्दै गएको अव्यवस्थित भीड र चहल–पहलले समुदायमा कोरोना सङ्क्रमणको जोखिम बढाएको छ ।
बन्द रहेका व्यापार–व्यवसाय सबै सञ्चालनमा आउँदा लामो तथा छोटो दूरीका सवारी साधन समेत गुड्न थालेका छन् । यद्यपि पर्याप्त मात्रामा स्वास्थ्य सावधानी भने नअपनाइँदा सुनसरीमा कोरोनाको जोखिम थप बढेको छ ।

सरकारले तत्काल सञ्चालन नगर्न भनेका सैलुन, ब्युटीपार्लर, जिमखाना, सभा सम्मेलन, गोष्ठी र भेला सुनसरीमा निर्वाध सञ्चालन भइरहेका छन् । अझ ग्रामीणभेगमा त जिल्ला र प्रदेश तहका नेताको उपस्थितिमै पार्टी प्रवेश तथा प्रशिक्षणजस्ता कार्यक्रम धमाधम भइरहेका छन् ।
पर्याप्त स्वास्थ्य सावधानी नअपनाइने त्यस्ता गतिविधिले समुदायमा कोरोनाको थप जोखिम बढाएको भन्दै स्वास्थ्यकर्मीहरूले सजगता बढाउन आग्रह गर्न थालेका छन् ।
यतिबेला सुनसरीका स्थानीय तहले समुदायस्तरमा गर्दै आएको कोरोना परीक्षणसमेत रोकेका छन् । यस्तोमा कहाँ, को र कति सङ्क्रमित भए त्यसको लेखाजोखा हुन छाडेको छ । जसले कन्ट्याक्ट ट्रेसिङ प्रभावित बन्दा कोरोना फैलने जोखिम बढेको सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीहरू बताउँछन् ।
इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवले भने, ‘समुदायस्तरमा हुँदै आएको परीक्षण सरकारी निर्देशन र नीति बमोजिम रोक्नुपरेको छ । किट अभावसँगै अन्य विविध कारणले समुदायस्तरमा हुँदै आएको परीक्षण रोकिँदा निजी अस्पतालमा चेकजाँच गराउन पुग्नेको सङ्ख्या बढेको छ ।’
आफूहरूले समेत परीक्षण गराउन चाहनेका लागि इजाजत प्राप्त स्वास्थ्यसंस्था वा अस्पतालमा गएर जाँच गराउन सल्लाह दिने गरेको उनले बताए । यद्यपि निजी अस्पतालहरूबाट स्थानीय तहमा रिपोर्ट नआउने हुँदा समुदायमा सङ्क्रमणको अवस्था र जोखिमबारे एकिन गर्न नसकिएको उनी बताउँछन् ।
पछिल्लो एकसाता यता मात्रै इनरुवामा ३० जना बढीमा कोरोना सङ्क्रमण देखापरिसकेको छ । उक्त सङ्ख्यात्मक जानकारी स्वयम् सङ्क्रमित, सङ्क्रमितका आफन्त वा छिमेकी र स्रोतबाट प्राप्त भएको हो ।
सङ्क्रमित हुनेमा नेतादेखि समाजका गन्यमान्य व्यक्तिसमेत छन् । स्थानीयवासी, कर्मचारी, व्यापारी, व्यवसायीसमेत सङ्क्रमित बनेका छन् । लक्षणसहितका बिरामीको सङ्ख्यासमेत थपिँदै गएको छ । कुनै रोग नभएका व्यक्तिसमेत सङ्क्रमित पाइन थालेका छन् । केही आइसोलेसन र भेण्टिलेटरमा उपचाररत छन् । जसमध्ये अधिकांशले पहिचान लुकाएका छन् । पछिल्लो समय पहिचान लुकाइँदा सङ्क्रमणको थप जोखिम बढेको स्थानीयको ठहर छ ।
शङ्का लागेकाहरू सरकारी अस्पतालको दाँजोमा निजी स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि पुग्ने गरेका छन् । स्वास्थ्य कार्यालय स्रोतका अनुसार पछिल्लो समय सङ्क्रमितले आफ्नो पहिचान लुकाउन समेत निजी अस्पताल सुरक्षित ठान्न थालेको देखिन्छ ।
समुदायस्तरमा परीक्षण रोकिएकाले सङ्क्रमितले सङ्क्रमण फैलनबाट रोक्नसमेत पहिचान खुलाउनु पर्ने माग स्थानीयस्तरमा बढ्न थालेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा आवश्यक परे सम्बन्धित स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङको लागि खबर गर्ने गरिएको छ ।
स्वास्थ्य प्रमुख सागर प्रसाईं सरकारी नीति अनुरूप लक्षण देखिएकाको हकमा मात्र परीक्षण गर्ने गरिएको बताउँछन् । उनले भने, ‘समुदायस्तरमा सङ्क्रमण फैलिइसकेको छ । स्वयम् सजग हुनु बाहेकको विकल्प छैन ।’
प्रसाईं सर्वसाधारणको भीड र चहल–पहल बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पालना गरेको देखिन छाडेको बताउँछन् । साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने, भौतिक दूरी कायम गर्नेदेखि अत्यावश्यक अवस्थामा मात्र हिँडडुल गर्नेजस्ता स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्नेको सङ्ख्या घट्दै गएको उनको भनाइ छ । प्रसाईंले सर्वसाधारणमा हेल्चेक्र्याइँको बढ्दो क्रमले समुदायमा कोरोनाको जोखिम बढेको बताए ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सिर्जना लिङ्थेपले सुरुवाती अवस्थामा जस्तो स्वाब सङ्कलन र कन्ट्याक्ट ट्रेसिङको अवस्था सहज नरहेको बताइन् । उनले मापदण्डअनुसार चल्नुपर्ने भएकाले समेत अत्यावश्यक अवस्था परेमात्रै परीक्षण र ट्रेसिङ गर्ने गरिएको बताइन् । उनले शङ्का लागेका व्यक्तिले शुल्क तिरेर इजाजतप्राप्त स्वास्थ्यसंस्थामा गई कोरोना परीक्षण गराउन सक्ने बताइन् ।

उता स्थानीय तहहरू भने समुदायस्तरमा कोरोना परीक्षण रोकिएकाले समाजमा जोखिम बढेको निष्कर्षमा पुगेका छन् । इनरुवा नगरपालिका प्रमुख राजन मेहता स्वयम् परीक्षण गर्न जानुपर्ने अवस्थाले सङ्क्रमितको पहिचान र ट्रेसिङमा समस्या हुन थालेको बताउँछन् ।

उनीमात्र नभएर अन्य जनप्रतिनिधि समेतको भनाइ त्यस्तै छ । समाजमा कोरोना भित्रभित्रै भुसको आगोसरह फैलिइरहेको अधिकांश जनप्रतिनिधिको भनाइ छ । उनीहरूले आफूपायक क्षेत्रमा स्वास्थ्य सचेतनाका कार्यक्रम र सार्वजनिक सूचना प्रवाह गरिरहेको बताएका छन् । सबैले स्वयम् नागरिक सचेत र सतर्क रहन आवश्यक रहेकोमा जोड दिएका छन् ।

भित्रभित्रै फैलिएको कोरोनाकै कारण इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयको सेवा एक साताको लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारी मात्र नभएर बिरामी भएर थलिएका लेखापढी व्यवसायीको सङ्ख्या इनरुवामा निकै छ ।

धरान उपमहानगरका केही शाखासहित वडा कार्यालयहरूले समेत कोरोनाका कारण सेवा बन्द गरेका छन् । सो क्रम बढ्दो अवस्थामा छ । त्यसैगरी इटहरी उपमहानगरपालिकासहित वडाकार्यालयहरू कोरोनाकै कारण बन्द छन् । अन्य स्थानीय तहलेसमेत सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै सेवा प्रवाह रोक्न थालेका छन् । उनीहरूले अवस्था भयावह बन्दै गए आ–आफ्नो क्षेत्रमा पुनः लकडाउन गर्न सकिने सङ्केत गरेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल लकडाउन खुलेपछि हेल्चेक्र्याइँ बढेको बताउँछन् ।

स्वास्थ्य मापदण्ड पालना नगर्नेले समाजमा कोरोनाको जोखिम बढाइरहेको उनको बुझाइ छ । पोखरेलले आफूमा समस्या परेपछि मात्र चेत्ने प्रवृत्तिले समाजमा भयावह अवस्था निम्त्याउन सक्ने तर्फ इङ्गित गरे । उनले त्यसतर्फ बेलैमा सबै सजग हुन आवश्यक रहेकोमा जोड दिए ।

प्रजिअ पोखरेलले प्रहरी प्रशासन र सरकारले मात्रै कोरोनाको जोखिम रोक्न नसक्ने भएकाले स्वयम् नागरिक सजग र सचेत बन्न आवश्यक रहेको बताए । उनले सरकारी निर्देशन र स्वास्थ्य मापदण्ड पालना गर्न जिल्लावासी सबैमा आग्रह गरे । उता सर्वसाधारण भने निर्देशन मात्र जारी गर्ने सरकारी संयन्त्र अनुगमनको पाटोमा फितलो देखिएको बताउँछन् । अनुगमनको पाटोमा ढिलाइ गर्न नहुने बताउने स्थानीयले कडाइका साथ अनुगमन र कारबाहीलाई सँगसँगै अघि लैजानुपर्नेमा जोड दिएका छन् ।