विजयपुर/ सुनसरीको वराहक्षेत्र नगरपालिका–१ की १४ वर्षीया बालिकालाई वोखिले भनिने उत्तर राईले धम्की दिँदै पटक–पटक बलात्कार गरे । बलात्कृत बालिकाको पेटमा गर्भ रहेपछि घटना सार्वजनिक भयो ।

राईले बलात्कार गरेको पुष्टि भई कानूनी प्रक्रियामा अगाडि बढेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए । उनका अनुसार पीडित बालिका अहिले सेभ हाउसमा छिन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ मा साउन ९ गते नाबालिकामाथि बलात्कार गरेको अभियोगमा ४८ वर्र्षीय कृष्णप्रसाद ढकाल असोज ५ मा पक्राउ परे । उनको इलाका प्रहरी कार्यालय पकलीमा अनुसन्धान भइरहेको इन्स्पेक्टर कैलाश अधिकारीले जानकारी दिए ।

बालिका बलात्कार गरेको आरोपमा सङ्खुवासभाको मकालु गाउँपालिकाका २२ र ३४ वर्षीय दुई पुरुष असोज १३ र १४ गतेपक्राउ परे । २२ वर्षीय पुरूषले खाँदबारीकी १६ वर्षीया बालिकालाई भाद्र ३० गतेदेखि असोज ११ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको र ३४ वर्षीय पुरुषले सभापोखरी गाउँपालिकाकी १५ वर्षीया बालिकालाई भाद्र १८ गतेदेखि असोज ९ गतेसम्म पटक–पटक करणी गरेको पीडितहरूले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हेदाङ्नाका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले जानकारी दिए ।

असोज २० मा धरान–१६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरेपमा सोही वडाका ४२ वर्षीय विकास मण्डल पक्राउ परेको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मण्डलमाथि जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लोे पटक असोज २१ मा नाता पर्ने १७ वर्षीया बालिकालाई धम्काउँदै पटक–पटक बलात्कार गरेको आरोपमा धरान–४ का शेरबहादुर श्रेष्ठले पक्राउ परे । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी त प्रतिनिधि घटना मात्र हुन् । प्रदेश नं. १ प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असोज १८ गतेसम्म प्रदेश नं. १ का १४ जिल्लामा १ सय २० वटा बलात्कारसम्बन्धी घटना भएका छन् । यी त प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा मात्र हुन् ।

तराईका ३ जिल्लाका शहरी क्षेत्रमा बलात्कार घटना धेरै भएका छन् भने अन्य ११ जिल्लाका प्रायः गाउँमा भएका छन् । यो तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने पनि प्रदेश नं. १ मा दैनिक २ वटा बलात्कारसम्बन्धी घटना हुने गरेको छ ।

प्रदेश नं. १ कै १४ जिल्लामा कोरोना भाइरसबाट बच्न गरेको लकडाउनअघिका ५ महिना र लकडाउन शुरु भएपछिका ५ महिना गरेर जम्मा १० महिनाको अवधिमा मात्रै ४ सय ४४ वटा बलात्कारसम्बन्धी घटना भएका छन् । यो तथ्याङ्कअनुसार पनि प्रदेश नं. १ दैनिक १ देखि २ वटासम्म घटना भएको देखाउँछ ।

४ सय ४४ वटा बलात्कारका घटनामा बालिकाहरू धेरै रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार ८ वर्षे बालिकासमेत बलात्कृत भएक पाइएको छ । बलात्कृत हुनेहरूमा ८ वर्षदेखि ४२ वर्ष उमेर समूहका छन् । बलात्कृत हुनेहरूमा ८ वर्षदेखि २० वर्षका धेरै रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । बलात्कार गर्ने पुरुष १० देखि २० वर्षसम्मका कम र २० देखि ४० वर्षका बढी छन् ।

लकडाउनमा बढ्यो बलात्कार
१ नं. प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार लकडाउन हुुनुभन्दा अगाडिका ५ महिनामा भन्दा लकडाउन शुरु भएपछिका ५ महिनाको समयावधिमा बलात्कार घटना धेरै भएका छन् । लकडाउनअघिमा ५ महिनामा २ सय १४ बलात्कारसम्बन्धी घटना भएका छन् । लकडाउन शुरु भएपछिका ५ महिनामा २ सय ३० वटा बलात्कार भएको प्रदेश प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार लकडाउनअघिका १ सय ८५ वटा फस्र्यौट भइसकेका छन् भने २९ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन् । लकडाउनपछिका २ सय १ वटा फस्र्यौट भए भने २९ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये तराईका ३ जिल्ला सुनसरी, झापा र मोरङमा धेरै बलात्कारका घटना हुने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । लकडाउनअघि सुनसरीमा ४१, झापामा ४० र मोरङमा ३६ वटा घटना भएका थिए । यी जिल्लामध्ये सबैभन्दा बढी सुनसरीमा ४१ वटा घटना भएका छन् । लकडाउनअघिका ५ महिनामा सबैभन्दा कम बलात्कार घटना तेह्रथुममा ४ वटा भएका थिए ।

लकडाउन शुरु भएपछिका ५ महिनामा पनि सुनसरीमा नै धेरै घटना भएको छ । ती ५ महिनामा सुनसरी ४५, मोरङ ४३ र झापामा ३७ वटा घटना भएका छन् । लकडाउनपछि सबैभन्दा कम घटना खोटाङमा ५ वटा बलात्कारका घटना भएका हुन् ।

आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका ४ सय ८८ वडा मुद्दा फस्र्याैट भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा पनि ५ सय ५४ वटा मुद्दा फस्र्यौट भएका छन् । तर, कति मुद्दा आएका थिए भन्ने तथ्याङ्क प्रहरी कार्यालयले दिन मानेन ।

अपराध संहिता २०७४ ले १० वर्षभन्दा कम उमेरका बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका र ७० वर्षमाथिका महिला भए जन्मकैद हुने व्यवस्था रहेको छ भने १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म, १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म र १८ वर्ष वा १८ भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयका उप–प्राध्यापक विशाल श्रेष्ठले विश्वव्यापीरूपमा नै बलात्कार घटना भए पनि नेपालमा धेरै हुन थालेको बताए । उनले बालबिझ्याइँका विषयमा गरेको अध्ययनअनुसार तुलनात्मकरूपमा शहरमाभन्दा पनि शहरका गाउँ क्षेत्रमा बढी बलात्कारका घटना हुने गरेको बताउँछन् । अभिभावक नभएका बालबालिकामा धेरै घटना भएको उनले बताए । उनले भने, ‘शिक्षाको कमी, सामाजिकीकरणको अभाव, प्रविधिको प्रयोगले घटना धेरै भएका हुन् ।’

त्यस्तै समाजशास्त्री विज्ञान शर्मा लुइटेल नेपालको पितृसत्तात्मक समाजले महिलालाई उपभोग्य वस्तुको रूपमा लिएकाले समस्या बढेको बताउँछन् । उनी भन्छन्, ‘सामाजिकीकरण गराउने शिक्षाको प्रमाण–पत्रमा ‘ए’ ल्याउन प्रयास गर्यौं आचरण ‘डी’ भयो ।’

समाजले नियन्त्रण गर्न नसक्नु, कानूनीरूपमा दण्डसजाय कम हुनु, राज्य सञ्चालकदेखि अपराधीलाई संरक्षण गरिनु, प्रहरी कार्यालयले नियन्त्रण गर्न नसक्नुले धेरै घटना भएको उनको भनाइ छ । ‘सबैभन्दा अपराधको राजनीतीकरण र सामााजिक मनोरोगका कारणले बलात्कारका घट्ना वृद्धि भए’ –उनी भन्छन् ।

नेपाल बार एसोसिएसन मोरङका पूर्वअध्यक्ष कानूनविद् देवेन्द्र कोइराला प्रहरी प्रशासनको अनुसन्धान फितलो रहेकाले धेरै मुद्दामा समस्या भएको बताउँछन् । उनले भने, ‘शारीरिक परीक्षणमा ढिलो र लापरबाही धेरै छ ।’ कुनै राजनीतिक नेताका आफन्त कार्यकर्ता भएमा दबाव दिएर छुटाउनाले पनि घटना धेरै हुन थालेको उनको बुझाइ छ । उनी भन्छन्, ‘कानूनी संयन्त्रबाट प्रमाण पुग्यो भने कानून पर्याप्त छ । समाज, राजनीति, जातीय, आर्थिकलगायतका कारणले बढी घटना भएका छन् ।’