सहरी क्षेत्रका अधिकांश निजी विद्यालयहरूले सञ्चालन गरिरहेको अनलाइन क्लासले विद्यालय सञ्चालकहरू र अभिभावकहरूबीच शुल्कको विषयमा असहज स्थिति सिर्जना गरेको छ । शुल्क लिने र दिने दुवै पक्ष राज खुसी सहमतिमा आउने वातावरण पनि बन्नको लागि यस सम्बन्धमा सरोकारवालाहरूबीच बृहत् छलफलको आवश्यकता टड्कारो देखिन्छ । सरसर्ती हेर्दा सञ्चालकहरूलाई अनलाइन क्लासकै भरमा सबै विद्यार्थीहरूबाट राजी खुसी फि कसरी उठाउने भन्ने कुराले व्यग्र तुल्याएको छ भने अभिभावकहरूलाई कोरोना महामारीको मारमा परेको बेला आफ्ना छोराछोरीको अनलाइन क्लासको लागि सबैथोक त आफूले गर्नु परिरहेको छ भने फेरि शुल्क किन तिर्ने भन्ने परेको देखिन्छ ।
एउटा विद्यालयको सञ्चालनसँगै शिक्षकको तलब लगायतका विद्यालयको अन्य आर्थिक दायित्वहरू जोडिएर आउने हुँदा विद्यालयको त्यो आर्थिक भारलाई सम्बोधन त पक्कै पनि हुन ुपर्ने देखिन्छ तर, यसो भन्दैमा सबै विद्यालयहरूलाई एउटै बास्केटमा हालेर एकै प्रकारले अनलाइन क्लासको शुल्क लिन पाउने छुट दिन चाहिँ उचित देखिँदैन । यस कुरालाई अझ प्रष्टसँग बुझ्नको लागि हाल विद्यालयहरूले के कस्तो प्रकारले अनलाइन क्लास चलाइरहेका छन्, त्यसतर्फ विचार गरौँ । अधिकांश निजी विद्यालयहरूले सञ्चालन गरिरहेको अनलाइन क्लास अहिले भिडियो कन्फ्रेन्सिङ एप्लिकेशन ‘जुम’ बाट सञ्चालन भइरहेको छ ।
जुमले शैक्षिक कार्यक्रमको लागि भनेर निःशुल्क रूपमा ४० मिनेटको भिडियो कन्फ्रेसिङ सुविधा उपलब्ध गराउँदछ । केही विद्यालयहरूले फेसबुक ग्रुपमा गृहकार्य पोष्ट गरेर, केहीले फेसबुक मेसेञ्जर ग्रुप बनाएर त्यसमा स–साना भिडियो क्लिपहरू राखेर होमवर्क दिएर काम चलाइरहेका छन् । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने फेसबुक शैक्षिक प्रयोजनको लागि बनाइएको वेब एप्लिकेसन हुँदै होइन । यद्यपि सञ्चार माध्यमको रूपमा यसको प्रयोग गर्न सकियो । के यसो भन्दैमा फेसबुकबाट कुनै पनि विषयमा उपलब्ध गराइएको शैक्षिक लक्ष्य पूरा हुन्छ त ? कोरोनाको महामारीमा विद्ययालयहरू बन्द भएको अवस्थामा माइक्रोसफ्टले शैक्षिक प्रयोजनको लागि माइक्रोसफ्ट टिम्क भन्ने सफ्टवेयर प्रयोगमा त ल्याएको छ तर, मोफसलमा यसको प्रयोग उल्लेखनीय देखिँदैन ।
सरसर्ती हेर्दा अधिकांश निजी विद्यालयहरूको अनलाइन क्लास भिडियो कन्फेन्सिङ सफ्टवेयर जुमले दिने ४० मिनेटको भिडियोभन्दा माथि उठ्न सकेको देखिँदैन । हुन त सामान्य अवस्थामा एउटा विषयको कक्षा ४० र ४५ मिनेट नै सञ्चालन हुने हो तर, अनलाइनमा त्यो ४० बाट ४१ मिनेटको हुन नसक्ने क्लास, शिक्षक विद्यार्थीहरूलाई जुम मिटिङमा सहभागी हुन पाउने अनुमति, अडियो म्युट, भिडियो अन र अफमै धेरै समय बित्ने गरेको देखिन्छ । यसो हुनुमा यस प्रकारका भिडियो कन्फ्रेन्सिङ एपहरूप्रति अभिभावक तथा शिक्षकहरूको ज्ञानको कमी एउटा कारण हुन सक्दछ ।
अहिले अभिभावकहरूलाई सानो कक्षामा अध्ययन गर्ने आफ्ना छोराछोरीहरूको अनलाइन क्लासको चाँजोपाँजो मिलाइदिनुपर्ने अतिरिक्त कामको चटारो छ । बल्लतल्ल क्लास ज्वाइन गराइदियो, उताबाट शिक्षक बोलेको नबुझिने, भिडियो उल्टो हुने क्यामरा गलत ठाउँमा फोकस भएर पढाइ र लेखाइरहेको कुरामा विद्यार्थीहरूको ध्यान भङ्ग हुने, बीच–बीचमा आफै डिस्कनेक्ट हुने समस्या देखिएको छ । यसो हुनुमा विद्यालयले शिक्षकहरूलाई यस प्रकारको प्रविधिको सही र उचित प्रयोग गर्नभन्दा पनि झारा टार्ने हिसाबले क्यामरा अगाडि बसेर एकोहोरो भट्याउने कुरामा अभिप्रेरित गरेकोले पनि यस प्रकारको समस्या देखिएको हुन सक्दछ । यसो भन्दैमा सबै विद्यालयहरूले सञ्चालन गरेको अनलाइन क्लास ठीक छैन, यसले अभिभावकहरूलाई सताइ रहेको छ भन्ने पनि होइन ।
धरानमै पनि केही विद्यालयहरूले अनलाइन क्लासको लागि छुट्टै कक्षाकोठाको स्थापना गरेर राम्रोसँग अनलाइन क्लास सञ्चालन गरिरहेका छन् । अचानक आइपरेको यो महामारीमा बिना भौतिक पूर्वाधार त्यति हुनु राम्रो कुरा हो । लेखकले आफ्नै छोराहरूले अध्ययन गरिरहेको विद्यालयमा पुग्दा शिक्षक शिक्षिकाहरू टिकटक बनाउने स्ट्याण्डमा मोबाइल राखेर अनलाइन क्लास लिइरहेको देखेको हो ।
तपाईं आफै विचार गर्नुहोस्, तराईको गर्मीमा सिलिङ फ्यान खोलेर कक्षा लिइरहेको शिक्षिकाको आवाज त्यो फ्यानको हल्लाले कति बुझिँदो हो र विद्यार्थीले कति बुझ्दा हुन् । अनलाइन क्लासको शुल्क तिर्ने र नतिर्नेको लडाइँमा अतिरिक्त लगानी गरी पूर्वाधारसहितको अनलाइन क्लास चलाउने विद्यालय र बिना पूर्वाधार फेसबुक च्याटबाट होमवर्क दिई अनलाइन क्लास चलाउनेलाई एकै हिसाबले विद्यालयको शुल्क उठाउन पाउने छुट दिनु हँुदैन । यसले शैक्षिक विकृति निम्त्याउने त छँदै छ, साथसाथै प्रविधिमा फड्को मारेर नयाँ पुस्तालाई दिनुपर्ने शिक्षालाई पनि असर गर्दछ ।
अनलाइन शुल्क निर्धारण गर्दा विद्यालयले त्यसमा गरेको भौतिक लगानी, अनलाइन क्लास लिने शिक्षकहरूलाई उपलब्ध गराएको तालिम, जुनसुकै बेला विद्युत् तथा इन्टरनेट जाने आउने भइरहने हुनाले अफलाइन क्लासको उपलब्धता, त्यसको प्राविधिक गुणस्तर आदि कुरालाई ध्यान दिनुपर्ने देखिन्छ । अहिले जुमले उपलब्ध गराउने ४० मिनेटको सेसनको क्लासको भिडियो रेकर्ड फेरि कहीँ कतै उपलब्ध गराउनु पर्ने बाध्यता नभएको हुनाले यसको गुणस्तर, यसको जवाफदेहिताप्रति प्रशस्त शङ्का गर्ने ठाउँ देखिन्छ । शुल्क निर्धारण गर्दा अनलाइन क्लासको एउटा मापदण्ड बनाउन जरुरी छ ।
कोरोनाको महामारी कहिले सकिने र हामीले हाम्रा छोराछोरी कहिलेदेखि विद्यालय पठाउन पाउने हो ? पठाइहालेमा पनि त्यसको निरन्तरता के हुने हो भन्ने निश्चित नभएको अवस्थामा तत्काल स्थानीय निकायहरूले अनलाइन क्लासको एउटा मापदण्ड बनाई त्यसको अनुगमन, आइटी पढाइ हुने कलेजहरूसँग सहकार्य गरी शिक्षकहरूलाई तालिम तथा प्राविधिक सहयोग दिनुपर्ने देखिन्छ । यसो गर्नसके अनलाइन क्लासको गुणस्तर त सुधार हुनुका साथै प्रविधिमैत्री शिक्षामा फड्को मार्न पनि सकिन्छ ।