इटहरी/ गत चैत महिनादेखि तलब नपाएका शिक्षकहरूको यो वर्षको दशैं खल्लो हुने भएको छ । इटहरीमा नाम कहलिएका स्कुल तथा कलेजहरूले पनि शिक्षकहरूलाई तलब दिएका छैनन् । दशैंको मुखमा पनि तलब नपाएका शिक्षकहरू सञ्चालकहरूसँग रुष्ट भएका छन् ।
सात महिनादेखि तलब नपाएर जीवन चलाउन मुस्किल परेका निजी विद्यालयका शिक्षकहरूको यो वर्षको दशैं अरू पेशा गर्नेको भन्दा खल्लो हुने भएको छ । चैतदेखि बन्द विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा पनि तलब नदिएको आरोप शिक्षकहरूको रहेको छ । अभिभावकले शुल्क नदिएका कारण विद्यालय सञ्चालन गर्न मुस्किल परेको विद्यालय सञ्चालकले जिकिर गरिरहेका छन् ।
निजी विद्यालयका शिक्षक राम गौतमले विद्यालयले तलब नदिँदा आफूहरूको बिजोक भएको बताए । ‘मैले वैशाखदेखि तलब पाएको छैन, घरखर्च पनि चलाउन धौ–धौ भयो’ गौतमले भने, ‘इटहरीका मात्र करिब ३ हजार शिक्षकहरूले अहिलेसम्म तलब नपाएर समस्यामा परेका छन् ।’
दशैंको मुखमा पनि तलब नदिए इटहरीमा करिब ३ हजार शिक्षक कर्मचारीको मात्र होइन, उनीहरूको परिवारको समेत बिचल्ली हुने गौतम बताउँछन् । अहिलेसम्म तलब नपाउँदा आफूहरू समस्यामा पर्दै गएको उनको गुनासो छ । गौतम भन्छन्, ‘हामीहरू सबैभन्दा पीडित भयौं ।’
इटहरीमा नाम चलेका र करोडौं कमाएका विद्यालयहरूले समेत शिक्षकहरूलाई तलब दिएका छैनन् । इटहरीका एक शिक्षकले नाम नखुलाउने शर्तमा भने, ‘दशैंको मुखमा पनि हामीले तलब पाएनौं ।’ उनले थपे, ‘वैशाखदेखिको तलब नपाउनु दुःखद् हो ।’ अनलाइन कक्षाको नाममा सञ्चालकहरूले विद्यार्थीहरूबाट शुल्क उठाइरहे पनि आफूहरूलाई तलब नदिएको उनी बताउँछन् ।
दशैंमा शिक्षकले कालोमुख लगाउनुपरे दशैंपछि विद्यालयमा अनलाइन कक्षा गर्ने वा नगर्ने विषयमा सोच्नुपर्ने अवस्था आउने चेतावनी शिक्षकहरूले दिएका छन् । दशैंअगाडि थोरै तलब दिने आश्वासन पाए पनि तलब नपाउँदा आफूहरूलाई समस्या भइरहेको ती शिक्षकको गुनासो छ । ठूला विद्यालयले मनपरी शुल्क उठाए पनि शिक्षक कर्मचारीलाई तलब नदिएको बताउँदै इटहरीका नाम चलेका एक शिक्षकले भने, ‘त्यस्ता स्कुललाई अनुगमन गरी स्थानीय तहले नै कारबाही गर्नुपर्छ ।’
प्याब्सन इटहरीका कार्यवाहक अध्यक्ष राजकुमार सापकोटाले अनलाइन पढाउने शिक्षकहरूलाई तलब दिइरहेको बताए । ‘अनलाइन पनि नपढाउने अनि तलब माग्ने शिक्षकहरूलाई तलब कसरी दिनु ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘कामै नगरी राजनीति गर्नेलाई तलब स्कुलले कसरी दिनसक्छ ?’ ‘पढाइरहेका शिक्षकहरूले तलब नपाएको भए तत्काल तलब दिलाउने विषयमा हामी कुरा गर्छौं’ –अध्यक्ष सापकोटाले भने ।
इटहरीमा बग्रेल्ती रूपमा निजी स्कुल, मण्टेश्वरीहरू खोल्ने क्रम बढेको छ । इटहरी उपमहानगरमा १ सय २५ वटा स्कुल दर्ता भएका छन् ।