कोरोना महामारी र लामो समयको लकडाउनका कारण यतिखेर दैनिक उपभोग्य वस्तुहरूको अभावका साथै मूल्य पनि चर्काे भएको छ । तरकारी तथा फलफूलको मूल्य त अझ आकाशिएको छ । बाहिरबाट आयात गरिएका तरकारी तथा फलफूलको बजारमा चर्काे मूल्यमा बिक्री–वितरण भइरहेको हुन्छ तर, स्थानीय उत्पादनलाई खासै बढावा दिइएको पाइँदैन ।

यतिखेर प्रायः सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौँला । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नुपर्दा त प्रायः मानिसले धिरौँला मन पराएको पाइँदैन ।

बालबालिकाको कुरा गर्नु पर्दा सोयाबिन र आलु अत्यन्तै मन पराउने तर घिरौँला त हेर्दा पनि नहेर्ने गरेको पाइएको छ । सञ्चार माध्यमहरूमा घिरौँला २ रुपैयाँ प्रतिकिलोमा पनि बिक्री नभएको, वस्तुभाउलाई खुवाउने गरेको वा सडकमा त्यसै फ्याँकिएको जस्ता समाचारहरू बाराम्बार आइरहन्छन् ।

हाल सामाजिक सञ्जालमा देखापरेका घिरौँलाबारे नकारात्मक कविता, गीत तथा भिडियोहरूले पनि यसको उपभोगलाई वृद्धि गर्नुको साटो बहिष्कार गर्न मद्दत पु‍¥याएको छ । घिरौँलाबारे जानकारी प्राप्त भएपछि यसको प्रयोगमा अवश्य वृद्धि हुनेछ भन्ने आशाका साथ यसका फाइदाहरूलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

घिरौँला गृष्म वर्षायामको लहरे तरकारी हो । यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेशादार पदार्थ तथा ‍औषधीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरूलाई फाइदा पुर्याउँछ ।

घिरौँला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्नलायक हुन्छ । यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियमलगायत शरीरलाई आवश्यक पर्ने महŒवपूर्ण सूक्ष्म तत्वहरू घिरौँलामा पाइन्छ ।

यस्ता छन् घिरौँलाका फाइदा
– शरीरमा रहेका विशाक्त वस्तुहरूलाई ‍हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।
– रगतका नलीहरू बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।
– जण्डिसजस्तो बिरमीको हकमा पनि यसले फाइदा गर्छ ।
– चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।
– पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।
– यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ ।
– यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।
– यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता सङ्क्रमण हुनबाट बचाउँछ ।
– यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।
– यसमा एण्टिबायोटिक एण्टिअक्सिडेण्ट तथा एण्टिफङ्गल गुणहरू पनि रहेको हुन्छ ।

कुनै पनि चिज लगातार एउटै स्वादमा बारम्बार खाइरहँदा त्यसको रुचि कम हुँदै जानु स्वभाविक हो । त्यसैले घिरौँलालाई पनि फरक–फरक किसिमले पकाउने, स्वाद अनुसारका मसलाको प्रयोग गर्ने हो भने रुचिमा अवश्य वृद्धि हुन्छ ।

भान्सामा उपलब्ध भएसम्म दैनिकजसो घिराँैलाको तरकारी पकाउने गरौं । बच्चाबच्चीले पनि मन पराएर खाने गरेको, हाल सामाजिक सञ्जालका कारणले घिरौँलाप्रति नकारात्मक सोच सिर्जना भएको हकमा घिरौँलालाई फरक–फरक किसिमले पकाउने र त्यसलाई अन्य नाम दिने गरेमा बच्चाबच्चीले मन पराउन थाल्नेछन् । उनीहरूलाई तरकारी मन नपरेको नभई सामाजिक सञ्जालमा देखापरेको घिरौँला पो मन नपरेको हुनसक्छ ।

आफ्नो करेसाबारी, खेत वा समुदायमा रहेको विषादीरहित ताजा, स्वच्छ तरकारीको रूपमा घिरौँलाको प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौं ।
साभारः स्वास्थ्यखबर