हँसिलो र गहुँगोरो अनुहार । इटहरीदेखि उत्तर तरहरा, धरानसम्म बिहानको चिसोमा दैनिक साइकल चलाउँदै आइपुग्छन् एकजना बालक । न जाडो, न घाम, न पानी । उनको दैनिकी साइकलको चक्कासँगै घुमिरहेको हुन्छ । उनी हुन् विराटनगर घर भएका इटहरी निवासी अमरत्र्य शर्मा । उमेरले दश वर्ष मात्रै पुगेका उनले दुई वर्षको उमेरदेखि नै साइकल चलाउन सुरु गरे ।

‘दुई वर्षको हुँदादेखि नै साइकल चलाउन थालेको हुँ’ उनले सुनाए, ‘मैले बा को फोटो हेरेर, बा सँगै साइक्लिङ गर्न थालेको हुँ ।’ उमेरले बालापन नै भए पनि उनमा साइक्लिङ गर्दाको अनुभव बूढापाकाको भन्दा कम छैन । कहिले इटहरीदेखि कान्छीचौक हुँदै चतरासम्म त कहिले धरानसम्म साइकलमा आफ्ना बा, आमासँग पुग्छन् । ‘आफैले साइक्लिङ गरेर मोरङको लेटाङ हुँदै धरानको पानमारासम्म पनि निस्किएको छु’ उनले भने, ‘मेरो सानैदेखिको सोख नै साइकल चलाउने थियो ।’ उनले दीर्घकालीन समयसम्म साइकल नै चलाउने बताए ।

कक्षा पाँचमा अध्ययन गर्दै गरेका अमरत्र्य दैनिक ४० किलोमिटरसम्म साइकल चलाउँछन् । उनी भन्छन्, ‘मलाई साइकल चलाउँदा जस्तो मजा अरू केहीमा पनि हुँदैन, म साइकलमा जहाँ पनि पुग्छु जस्तो लाग्छ ।’ उनले आफूलाई साइकल चलाउँदा जत्तिको रमाइलो अरू कुनै काम गर्दा पनि नहुने तर्क गरे ।

पछिल्लो समय प्रविधिले फड्को मार्दै गएको छ । यसै सन्दर्भमा कतिपय बालबालिकाहरूलाई प्रविधिले सकारात्मक बाटोमा लम्किन पनि उत्प्रेरित गरेको छ भने कतिपय अवस्थामा इन्टरनेटको दुरुपयोगका कारण धेरैजसो बालबालिका सानै उमेरदेखि डिप्रेसनमा पर्दै आएको कुरा पनि विद्यमान छ । तर, अमरत्र्य भने आफूलाई मोबाइलमा गेम खेल्न वा इन्टरनेट प्रयोगमा मात्रै केन्द्रित हुनुभन्दा अलिक पर रहेर साइक्लिङ गर्दै आएका छन् । साइक्लिङ गर्दा दैनिक कार्बनडाइअक्साइड पनि उत्पादन नहुने र शरीर पनि फूर्तिलो हुने गरेकाले पछिल्लो समय केटाकेटीदेखि वयस्क उमेरकाले पनि साइक्लिङ गर्दै आएका छन् ।

केही दिन अगाडिमात्रै पश्चिम महाकालीदेखि पूर्वी नेपालको इलामसम्म साइक्लिङमा आएका विश्व साइकलयात्री पुष्कर शाहसँग धरानदेखि विराटनगरसम्म अमरत्र्य सँगै साइक्लिङ गए । करिब ४५ किलोमिटर दूरी पार गरेका उनलाई अझै पनि साइकल चलाउन मन थियो, तर रात भइसकेकाले त्यसदिन उनले त्यतिमै आफ्नो दैनिकी बिट मारे । उनी दिउँसोको मध्य घाममा निरन्तर साइक्लिङ गर्दा महाकालीदेखि आएका साइकलयात्रीले उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कहिलेकाहीँ अन्य समयमा विराटनगरमा आफ्नो परिवारलाई भेट्न जानुपरेमा पनि साइकल नै प्रयोग गर्दै आएका छन् ।

‘हामीले हरेक दिन घरदेखि काममा जाँदा मात्रै पनि साइकल चलाउने हो भने हरेक कुरामा फाइदा हुन्छ’ विश्व साइकल यात्री पुष्कर शाहले भनेको कुरा सम्झँदै अमरत्र्य भन्छन्, ‘पुष्कर अङ्कलले भनेजस्तै हामी भोलिका दिनमा डाक्टरकोमा उपचार गर्न जान नपरोस् भन्नका लागि पनि साइक्लिङ गर्नु आवश्यक छ ।’

विश्व साइकलयात्री शाहले केही दिन अगाडि इटहरी आएर एक कार्यक्रमका बीच भनेका थिए, ‘दैनिक साइकल चलाउँदा पेट्रोल पनि आवश्यक नपर्ने भएका कारण कार्बनडाइअक्साइड उत्पादन हुँदैन, त्यसकारण पनि जीवन सहज हुन्छ ।’ उनले दैनिक साइकल चलाउँदा व्यायाम हुने भएकाले स्वास्थ्य ठीक हुने तर्क गरेका थिए । स्वास्थ्य ठीक भएको अवस्थामा दीर्घकालमा स्वास्थ्य चौकी पनि जान नपर्ने उनको भनाइ थियो ।

शाहको तर्कप्रति अमरत्र्य सकारात्मक रहँदै आफूले पनि कुनै दिन नेपाल भ्रमण साइकलबाटै गर्ने लक्ष्य लिएका छन् । अमरत्र्य जस्तै कलिलो उमेरका बालबालिकाहरू पछिल्लो समय इन्टरनेटमा मात्रै व्यस्त रहेका छन् । इन्टरनेटको सदुपयोगले भने आम मानिसलाई धेरै सकारात्मक बाटो पहिल्याउन सहज भएको छ । तर, यसको दुरुपयोगका कारण नकारात्मक कुरामा मात्रै केन्द्रित हुने गरेको पनि पाइन्छ । अमरत्र्य जस्तै अन्य अमरत्र्यहरूले दैनिक साइक्लिङ गरेमा स्वास्थ्य सहज हुनुका साथै सिर्जनशील हुने अनुमान गर्न सकिन्छ ।

amr1