धरान । धरान उपमहानगरपालिकाले बिहिबारदेखि धरानका विद्यालयहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार भएको निर्णय अनुसार स्वास्थ्य मापदन्ड पुरा गरेका निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

निजी विद्यालयहरुले मावि तह सञ्चालन भएका स्कुलमा ८, ९ र १० कक्षा आधारभुत तहका विद्यालयहरुमा ८ सम्म कक्षा भएकामा कक्षा ७ र ८ शुरु गर्ने र कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्ने जनाएका छन् ।

उपमहानगरको निर्णय अनुसार कक्षा कोठामा एउटा बेञ्चमा बढीमा २ जना मात्र विद्यार्थी राख्नु पर्ने, एउटा कोठामा बढीमा २५ जना मात्र राख्नु पर्ने छ । कक्षा सुरुहुनुअघि दैनिक कक्षा कोठा सेनिटाइज गर्नुपर्ने, विद्यालयको प्रवेशद्धारमा सबैको तापक्रम नाप्नुपर्ने, विद्यालयमासेनिटाइज वा साबुन पानीले हात धुने व्यवस्था गर्नुपर्ने, खाजा समयलाई सकेसम्म छोट्याउनु पर्ने र शिक्षक, कर्मचारी तथा विद्यार्थीले मास्क लगाउनु पर्ने निर्णय भएको छ ।

शुल्क पनि निर्धारण
उपमहानगरपालिकाले धरानका निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजारदेखि अधिकतम ७ हजार रुपैयासम्म निर्धारण गरेको छ ।

बुधबारको निर्णय अनुसार असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने व्यवस्था गरिएको छ । विद्यालय सञ्चालक र अभिभावकहरुबीच आपसी सहमति वा समझदारी भएको खण्डमा सोही वमोजिम मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको हो ।

असोज महिना भन्दा अघि अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्कको आधा मात्र लिन पाउने निर्णय गरिएको छ ।

अभिभावक भन्छन्,‘बच्चा पठाउँदैनौं’
उपमहानगरपालिकाले गरेको निर्णयप्रति अभिभावकहरु भने असन्तुष्ट छन् । धरानमा अहिलेपनि कोरोना संक्रमणको जोखिम कम नभएको अवश्थामा बालबालिका विद्यालय पठाउन नसकिने अभिभावकहरुको भनाई छ ।

निजी विद्यालयहरुले अभिभावकसँग शुल्क असुल्न उपमहानगरपालिकालाई प्रभावमा पारेर विद्यालय खुलाउने निर्णय गराएको अभिभावकहरुको आरोप छ । निजी विद्यालयहरुले अनलाईन कक्षाको नाममा आफुखुसी शुल्क असुल्न थालेपछि गत असारदेखि आन्दोलनमा उत्रिएका अभिभावकहरुले शुल्क निर्धारणको माग गर्दै उपमहानगरपालिकामा पटक पटक ज्ञापनपत्र बुझाएपनि वेवस्ता भएको तर निजी विद्यालय सञ्चालकहरुले विद्यालय खुलाउन माग गर्ने वित्तिकै उपमहानगरपालिकाले निर्णय गरेको अभिभावकहरुको भनाई छ ।

निजी विद्यालयहरुको मनोमानी विरुद्ध आन्दोलनरत समूह ‘धरान अभिभावक विद्यार्थी परिवार’मा आवद्ध अभिभावक विनोद तिम्सिना उपमहानगरपालिकासँग यो निर्णयप्रति असहमति जनाईसकेको बताउँछन् । ‘गलत निर्णय लिईयो । धरानको अहिलेको अवश्थामा हाम्रा बालबच्चा विद्यालय पठाउँदैनौं, "यो शैक्षिक सत्रको ८ महिना बितिसकेको अवस्थामा अब बाँकि ४ महिना विद्यालय संचालन गर्नुको अौचित्य छैन" भन्छन्, ‘यो शैक्षिक सत्र वैकल्पिक माध्यमबाट नै सक्नुपर्छ, खोप नआउन्जेल विद्यालय सञ्चालन गर्नु गम्भीर स्वास्थ्य समस्या निम्त्याउनु हो ।’