धरान/धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइले ‘जर्नलको गुणस्तरीयतासम्बन्धी विमर्श’ लगायतका कार्यक्रम एकसाथ गरेको छ । 

क्याम्पस परिसरमा बिहीबार एकसाथ चारवटा जर्नल विमोचन गरिएका छन् । क्याम्पसको विभिन्न विभागले प्रकाशित गर्दै आएको जर्नल कार्यक्रममा उपस्थित अतिथिहरूले विमोचन गरे । क्याम्पसले दृष्टिकोण, जोडेम, ज्ञानज्योति र व्यवस्थापन जर्नल प्रकाशित गरेको छ । प्रकाशित जर्नलका सामग्री ‘एपिए र एमएलए’ मोडलमा रहेर लेखिएका छन् । एपिएका पछिल्ला संस्करणलाई आधार मानेर अङ्ग्रेजी विभागले लेख लेख्दै आएको डा. रामजि तिम्सिनाले जानकारी दिए । 

कार्यक्रमका विशेष अतिथि प्रा.डा. टङ्क न्यौपानेले अङ्ग्रेजीको अनुसन्धानमूलक लेख लेख्दा एपिए मोडल अतिउत्तम हुने भए पनि नेपालीको हकमा एपिए मोडल सतप्रतिशत नहुने बताए । उनले भने, ‘नेपालीमा अनुसन्धानमूलक लेख लेख्दा एडोप्टेड एपिए अपनाउँदा उत्तम हुन्छ ।’ उनले विमोचित जर्नलका केही लेखहरूमा फरक–फरक विधि अपनाइएकाले यसविषयमा छलफल गर्न आवश्यक रहेको औल्याए । कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले ‘एपिए र एमएलए’ मोडलमा लेख्दा जुन मोडलमा लेखिने हो त्यसमा एकरूपता अपनाउनुपर्ने बताए । 

त्यसक्रममा नेपाली विभागका सहप्राध्यापक सुभाषचन्द्र न्यौपाने र गोपीकृष्ण खतिवडाले ‘विश्वामित्र मेनका खण्डकाव्यमा रसविधान शीर्षकमा लघुअनुसन्धान प्रस्तुत गरे । सहप्राध्यापक न्यौपानेले लघुअनुसन्धान प्रस्तुत गर्दै भने, ‘हामीले विश्वामित्र मेनका खण्डकाव्यको रसको अवस्थाबारेमा चर्चा गरेका छौं, त्यसलाई पुष्टि गर्नका लागि केही सर्गहरू पनि समेटेका छौं ।’ लघुअनुसन्धानमा शृङ्गार, शान्त, वीर र अद्भूत रसको चर्चा गरेका छन् । शृङ्गार रस परिपाक अवस्थामा पुगेको भए पनि शान्त, वीर र अद्भूत रस परिपाक अवस्थामा पुग्न नसकेको आफूहरूले शोधका क्रममा फेला पारेको प्रस्तुतकर्ता न्यौपानेले बताए । 

त्यसमा टिप्पणी गर्दै प्रा.डा. भोलानाथ पोखरेलले यस खण्डकाव्य पौराणिक ग्रन्थमा आधारित रहे पनि कृतिकारले मौलिकता प्रस्तुत गर्न सफल भएको बताए । उनले लघुअनुसन्धानको निष्कर्षतर्फ सङ्केत गर्दै भने, ‘शोधार्थीहरूले योग र भोगको तादम्यताले मात्रै जीवन परिपूर्ण हुने कुरा उल्लेख गरे पनि त्यसको व्याख्या नभएको पाइयो, त्यसतर्फ ध्यान दिनुपथ्र्यो ।’

शोधार्थीहरूले वर्णविन्यासमा थुप्रै त्रुटिहरू गरेकाले त्यसलाई सुधार गर्नुपर्ने उनले बताए । ‘हामी विद्यार्थीहरूलाई चाहिँ वर्णविन्यासबारे पढाउँछौ, तर शोधार्थीले त्यस्ता कुरामा पनि मिस्टेक गरेका छन्’ उनले भने । त्यसक्रममा विभिन्न विषयमा जर्नलमा अनुसन्धानमूलक लेख लेख्ने प्राध्यापकहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।