विजयपुर। धरान उपमहानगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विद्यालयहरू चन्दाबाट शिक्षक राख्न बाध्य छन् । धरान–१७ रेल्वेस्थित पञ्चकन्या माविमा जम्मा एकजना मात्रै मावि तहका शिक्षक छन् ।
दरबन्दीअनुसार ती शिक्षकले मात्रै कक्षा ९ र १० का एक सय ९१ विद्यार्थीलाई पढाउनुपर्छ । तर, एकजना शिक्षकबाट त्यो सम्भव नभएपछि मावि शिक्षक राख्न विद्यालयले चन्दा सङ्कलन गरेर शिक्षक राखेको प्रधानाध्यापक देवेन्द्र पौडेल बताउँछन् । उनका अनुसार वार्षिक पाँच लाख रुपैयाँ चन्दा सङ्कलन गरेर शिक्षक राखिएको छ । उनले विगत वर्षहरूमा नगरले अनुदान दिने गरेको बताए ।
तर, गत वर्षदेखि त्यो अनुदान पनि कटौती गरिदिएपछि चन्दा सङ्कलन गरेर मावि शिक्षक राख्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनले भने, ‘गत वर्षहरूमा ५ लाखसम्म चन्दा सङ्कलन गथ्र्यौं, यो वर्ष लकडाउनले गर्दा सो अनुपातमा गर्न सकेनौं, त्यसैले शिक्षक हटाउनु प¥यो ।’ धरान–१७ कै ज्वालामुखी मा.वि.को समस्या पनि उस्तै छ । मावि भए पनि मावि तहको एउटा पनि दरबन्दी छैन । राहतमा शिक्षक राखिएको छ ।
उक्त विद्यालयको कक्षा ९ र १० मा मात्र १ सय ११ जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक भरत खत्री हालसम्म उपमहानगरले मावि तहको दरबन्दी मिलान गर्न नसक्दा समस्या भएको बताउँछन् । प्रधानाध्यापक खत्री भन्छन्, ‘यो गाउँ क्षेत्रको विद्यालय हो, विद्यार्थी छन्, शिक्षक छैनन्, विद्यालय सञ्चालनमा कठिनाइ भयो ।’ उनी ५ वटामध्ये ३ वटासम्म दरबन्दी भए पनि सञ्चालनमा थोरै सहजता आउने बताउँछन् । उनले भने, ‘धरानकै केही विद्यालयमा विद्यार्थी छैनन्, दरबन्दी धेरै छन्, नगरले चासो राखे समाधान हुन्थ्यो ।’ त्यस्तै धरान–५ स्थित हिमाली माविमा पनि जम्मा एउटा मात्र मा.वि. तहको दरबन्दी छ । विद्यालयमा कक्षा ९ र १० मा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक यमकुमार खत्री विद्यालय सञ्चालनमा समस्या भइरहेको बताउँछन् । उनी भन्छन्, ‘निजी स्रोत पनि छैन ।’
यता धरान–१६ स्थित चन्द्र संस्कृत माविमा कक्षा १२ सम्म १ सय १० जना विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ९ र १० मा त जम्मा २० जना मात्र विद्यार्थी अध्ययनरत छन् । तर, शिक्षक दरबन्दी हेर्दा मावि तहमा नै ११ जना शिक्षक छन् । उक्त विद्यालयमा कुल विद्यार्थी १ सय ६५ जना मात्रै छन् । धरान–१० को पञ्चायत मा.वि.मा कक्षा ९ देखि १२ सम्म ९० जना मात्र विद्यार्थी अध्ययनरत छन् ।
तर, मावि तहको दरबन्दी भने ६ वटा छ । उक्त विद्यालयमा जम्मा विद्यार्थी नै २ सय १२ जनामात्र अध्ययनरत छन् । धरान–१४ को पञ्चायत दन्तकाली मा.वि. मा जम्मा विद्यार्थी नै २ सय ३८ जनामात्र रहेका छन् । उक्त विद्यालयमा भने मा.वि.तहको दरबन्दी ३ वटा रहेको छ । धरान–१३ को पब्लिक मा.वि. मा पनि जम्मा विद्यार्थी नै ४ सय ९७ जना रहेका छन् । उक्त विद्यालयमा मा.वि. तहको दरबन्दी मात्र ९ वटा छ ।
नेपालको संविधान २०७२ ले प्राथमिक शिक्षा (कक्षा १–८) र माध्यमिक शिक्षा (कक्षा ९–१२) सम्म सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको पनि साढे ३ वर्ष भइसकेको छ । यतिका समय बित्दा पनि एउटा शिक्षकको दरबन्दी सम्म मिलान गर्न नसक्नु भनेको असक्षमताभन्दा अरू केही हुन नसक्ने जानकारहरू बताउँछन् ।
जसका कारणले कुनै विद्यालयका शिक्षक हाजिर मात्र गरेर जागिर खान्छन् भने कुनै विद्यालयले चन्दा सङ्कलन गरेर शिक्षक पाल्नुपर्ने बाध्यता छ । यस विषयमा धरान उपमहानरका शिक्षा महाशाखा प्रमुख रत्न कट्वालले २०५३ सालभन्दा अगाडि स्थापना भएका विद्यालयलाई सरकारले दरबन्दी दियो । उनले २०५१ सालभन्दा पछि स्थापना भएका विद्यालयलाई दरबन्दी नदिएको बताए । उनले गत वर्षहरूमा शिक्षक दरबन्दी नभएका विद्यालयलाई अनुदान दिने गरेको बताए । उनले भने, ‘गत वर्षहरूमा दिँदै आएको अनुदान यो वर्षमा माथिबाट नै रोकेकाके निकासा गर्न सकिएको छैन ।’
उनले विद्यार्थी भएका तर, शिक्षक दरबन्दी नभएका विद्यालय नगरलाई जानकारी भएको बताए । जानकारी छ भने नगरले दरबन्दी मिलान गर्न सक्दैन त भन्ने जिज्ञासा राख्दा प्रमुख कट्वालले भने, ‘दरबन्दी मिलानको काम भइरहेको छ, आगामी शैक्षिक सत्रसम्ममा दरबन्दी मिलानको काम सक्छौँ ।’ उपमहानगरले दिएको तथ्याङ्कलाई केलाउँदा धरानको पनि केन्द्र क्षेत्रका विद्यालयहरूमा आवश्यकताभन्दा बढी शिक्षक दरबन्दी रहेको पाइएको छ । जहाँ विद्यार्थी न्यून र दरबन्दी धेरै छ । तर, धरानकै गाउँतिरका विद्यालयहरूमा विद्यार्थी धेरै छन् भने शिक्षक दरबन्दी छैन । उपमहानगरको कार्यदक्षता राम्रो नभएकाले यस्तो असमानता भएको प्रधानाध्यापकहरू बताउँछन् ।