विजयपुर। धरानका केही सामुदायिक विद्यालय यस्ता छन्, जहाँ विद्यार्थी कम भए पनि विषयगत शिक्षकहरू प्रशस्तै छन् । अर्कोतिर केही सामुदायिक विद्यालय यस्ता छन् जो वर्षौंदेखि शिक्षक मिलान हुनेमा आशा पालेर बसेका छन् ।
माध्यमिक तहसम्म शिक्षाको अधिकार स्थानीय सरकार आए पनि शिक्षक दरबन्दी मिलानको अवस्था पुरातन नै छ । स्थानीय तहमा अधिकार आएपछि शिक्षक मिलान होला भनेर आशामा भानुचौकदेखि साढे तीनकिलोमिटर पश्चिम–दक्षिणको पञ्चकन्या मावि बसेको वर्षौं बितिसकेको छ । अर्कोतिर धरानकै केही विद्यालय छन्, जहाँ आवश्यकभन्दा बढी शिक्षक छन् । उनीहरू घाम तापेर दैनिकी कटाउँछन् । नेपालको संविधान २०७२ पछि मावि तहसम्मको अधिकार स्थानीय तहलाई दिएको छ । दरबन्दी मिलान नहुँदा अनावश्यक व्ययभार बेहोरिरहेको प्रधानाध्यापकहरू बताउँछन् । पञ्चकन्या माविका प्रधानाध्यापक देवेन्द्र पौडेलले वार्षिक १२ लाख ७० हजार आर्थिकभार विद्यालयलाई परेको बताए । उनले भने, ‘हामीले शिक्षा महाशाखामा बारम्बार माग ग¥यौं, तर सुनुवाइ भएन ।’ उनले चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब खुवाइरहेको बताए ।
धरानका केही विद्यालयहरूमा भने मावि तहको पनि एउटै दरबन्दी छैनन् । केही विद्यालयमा भने विद्यार्थी छैनन् तर, शिक्षक दरबन्दी धेरै छ । उपमहानगर शिक्षा महाशाखाका अनुसार श्री मावि घोपामा कक्षा ९ र १० मा जम्मा ६२ जना विद्यार्थी रहेका छन् । तर, शिक्षक दरबन्दी भने एउटा पनि छैन । त्यस्तै ज्वालामुखी मावि धरान–१७ पट्नालीमा कक्षा ९ र १० मा १ सय ९ जना विद्यार्थी अध्ययनरत छन् । तर, मावि तहमा अनुदान र राहत कोटाका मात्रै शिक्षक छन् । एउटा पनि दरबन्दी छैन, एकजना राहत र एकजना अनुदानमा रहेका छन् । हिमाली मावि धरान–५ देउरालीमा कक्षा ९ र १० मा १ सय ४७ जना विद्यार्थी छन् भने शिक्षक दरबन्दी एउटा मात्र छ । यी विद्यालयहरूका प्रधानाध्यापकहरूले शिक्षक नहुँदा विद्यालय सञ्चालनमा समस्या भएको बताए ।
यता केही विद्यालयमा विद्यार्थी नहुँदा शिक्षकहरू हाजिरीको भरमा तलब थाप्छन् । पञ्चायत मावि धरान–१० मा कक्षा ९ र १० मा ६० जना र कक्षा ११ र १२ मा ३७ जना विद्यार्थी रहेका छन् । तर, शिक्षक दरबन्दी भने ६ वटा रहेका छन् । पब्लिक मावि फुस्रे धरान–१३ मा कक्षा ९ र १० मा १ सय ५२ जना र ११ र १२ मा ८५ जना विद्यार्थी रहेका छन् । तर, मावि दरबन्दी भने ९ वटा रहेको छ । धरान–१६ को चन्द्र संस्कृत माविको कक्षा ९ र १० मा ३७ जना र कक्षा ११ र १२ मा १ सय २ जना विद्यार्थी रहेका छन् । तर, मावि तहको शिक्षक दरबन्दी भने ११ वटा रहेको छ । उक्त विद्यालयका ४ वटा भने संस्कृत भाषाको दरबन्दी भएको विद्यालयले जनाएको छ । यी उदाहरण मात्र हुन्, अन्य पनि यस्ता विद्यार्थी कम शिक्षक धेरै भएका विद्यालयहरू छन् ।
शिक्षा नियमावली, २०५९ (मिति २०७७ जेठ मसान्तसम्म भएका संशोधनसमेत) को नियम ९२ सँग सम्बन्धित अनुसूची–१२ को (घ) अनुसार माध्यमिक विद्यालयमा १–९ कक्षादेखि १२ कक्षासम्म सञ्चालन भएको विद्यालयमा ८ जना शिक्षक हुनुपर्ने व्यवस्था रहेको छ । तर, (१) खण्ड (ग) को उपखण्ड २ को क्रमसङ्ख्या (१) देखि (४) सम्ममा कम्तीमा एक–एकजना शिक्षक नियुक्ति नभएसम्म एउटै विषयमा एकभन्दा बढी शिक्षक नियुक्ति गरिने छैन भनी उल्लेख गरेको छ ।
तर, धरानको मावि तहको हकमा भने विषयगत शिक्षक दरबन्दी कमी भए तापनि समानुपातिक रूपमा वितरण नहुँदा विद्यार्थी हुने विद्यालयलाई दरबन्दी नहुँदा समस्या भएको प्रधानाध्यापकहरूले बताएका छन् । धरान उपमहानगरका प्रमुख तिलक राईले शिक्षक दरबन्दी मिलानका लागि अध्ययन समिति बनाएको र समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने बताए । उनले कार्यविधि बनाउने विषयमा माथिल्लो ऐन, नियमले गर्दा रोकिएको बताए । उनले पहिले बनेको नगर शिक्षा कार्यविधि मुद्दा परेर खारेज भएको बताउँदै शिक्षा कार्यविधि बारे कुनै जानकारी नभएको बताए ।
यस विषयमा धरान उपमहानगरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालका अनुसार दरबन्दी मिलानसम्बन्धी कार्यको दोस्रो चरण सकिएर तेस्रो चरणको काम सुरु हुन लागेको छ । उनले भने, ‘नगरले कार्यविधि सङ्घीय ऐनलाई टेकेर बनाउने हो, त्यो नीति नबनाई कार्य अगाडि बढाउन समस्या छ ।’ उनले दरबन्दी मिलान गर्दा मावि तहको दरबन्दीमा खासै तलमाथि हुँदैन तर, प्राविको हकमा केही हेरफेर हुने बताए । हाल धरानमा मावि तहको ६३ वटा दरबन्दी अपुग रहेको छ । प्रावि तहमा भने ६७ वटा दरबन्दी बढी रहेको छ । उनले थपे, ‘सङ्घीय सरकारले पनि प्रावि तहको दरबन्दीबाट मिलान गर्न भनेको छ, चाँडै मिलान गर्छौं ।’ उनले नगरको कार्यविधि ड्राफ्ट बनाएको बताउँदै नगरले कार्यविधि पास गरिदिए काम गर्न सहज हुने बताए ।