mikail 1

भण्टाबारी। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ नेपाली राजनीतिको उर्वरभूमि मानिन्छ । ५ पटकसम्म देशको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्षपुरुष गिरिजाप्रसाद कोइराला लगातार तीनपटक निर्वाचित भए । स्वर्गीय कोइराला सुनसरी क्षेत्र नम्बर ४ बाट २०४८, ०५१ र ०५६ सालमा चुनाव जितेका थिए । २०५१ सालको उपचुनावमा भने उनी पराजित भएका थिए ।

२०६३/०६३ को जनआन्दोलनपश्चात् भने गिरिजाले आफ्नो विकल्पमा २०६४ भएको संविधानसभा निर्वाचनमा छोरी सुजाता कोइरालालाई अघि सारेका थिए तर, उनी तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवसँग पराजित भइन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत यादव नै निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएका गफार मियाँ अन्सारीलाई झिनो मतले पछि पार्दै उपेन्द्र यादव लगातार दोस्रोपटक निर्वाचित भएका थिए । गफार अहिले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालिकाका अध्यक्ष छन् । 

संविधान जारी भएपछि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पक्षमा जनसमर्थन नदेखेपछि लगातार दुईपटक जितेको क्षेत्र छाड्दै यादव सप्तरीबाट चुनाव लडेका थिए । तर, सुनसरी ४ मा देशकै प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू पाएको क्षेत्र भए पनि हालसम्म विकासमा भने पछि पर्दै आएको छ । अहिलेसम्म सुनसरी ४ का विकासे कार्यक्रम उम्मेदवारको घोषणा–पत्रमै सीमित बनेको छ । चुनावका बेला उम्मेदवारहरूले ठूल्ठूला प्रतिबद्धता जनाए पनि जितेर गएपछि फर्केरसमेत नआएको कोशी गाउँपालिका–८ भण्टाबारीका जाकिर मियाँ बताउँछन् ।

तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका गिरिजाप्रसाद कोइराला पटक–पटक प्रधानमन्त्री भए पनि वाचा पूरा नगरेको उनले बताए । ‘पक्की बाटोघाटो बनाइनेदेखि अस्पताल र क्याम्पस बनाइदिने भन्दै चुनावका बेला प्रतिबद्धता गर्थे तर, कुनै पूरा भएनन्, हामीले ग्राभेल सडकमै हिँड्नु परेको छ, नातिनातिना अध्ययन गर्न इनरुवा र विराटनगर जानुपर्ने बाध्यता यथावत् छ’ ७५ वर्षीय जाकिरले थपे, ‘झन् बिरामी प¥यो भने त धरान र विराटनगरबाहेक अरू कुनै विकल्प नै छैन ।’ नेपालमा राजनीतिक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरे पनि पटक–पटक निर्वाचित गराएका जनताका लागि स्वर्गीय कोइरालाले अपेक्षित कार्य गर्न नसकेको गुनासो मतदाताहरूले गर्दै आएका छन् । 

पहिलो संविधानसभा निर्वाचनमा सुजाता कोइरालालाई हराउँदै निर्वाचित भएका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादवले समेत यसक्षेत्रको विकासका निम्ति उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको गुनासो व्याप्त छ । उनी संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा लगातार तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । ‘उपेन्द्र यादव पटक–पटक मन्त्री बने पनि आफू निकटका सीमित व्यक्तिको उत्थान गर्नबाहेक अरू गरेनन्’ –कोशी गाउँपालिका–२ का सरोज मण्डलले भने । 

२०६२÷६३ को जनआन्दोलनबाट नेपाली राजनीतिमा उदय भएका यादवले जनताका विश्वास जित्न सकेनन् । पहिलो संविधानसभा निर्वाचनमा सुजाता कोइरालालाई फराकिलो मतले निर्वाचित भए पनि यादवलाई २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा गफार मियाँ अन्सारीलाई हराउन हम्मेहम्मे परेको थियो । दुईपटक जितेर जनतामाझ चुनावमाबाहेक अरू बेला अनुहारसमेत नदेखाएका यादव जनमत आफ्नो पक्षमा नआउने देखेपछि साविकको सुनसरी ५ र हालको ४ नम्बर क्षेत्र छाड्दै प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट चुनाव जितेका हुन् ।

‘मधेसको ‘मसिहा’ भन्दै यादव आफूलाई प्रस्तुत गर्ने गर्थे’ भोक्राहा नरसिंह गाउँपालिका–४ का चन्दन यादवले भने, ‘त्यति बेलाको माहोलमा उहाँलाई पत्याउनुबाहेक अन्य विकल्पसमेत थिएन, त्यसैले हामीले भोट दिई निर्वाचित गरायौं ।’ ‘नेपाली राजनीतिमा नयाँ भएकाले पहिलो पटक निर्वाचित भएर पनि अपेक्षा गरिएअनुसार काम गर्न सकेनन्, त्यसैले नयाँ व्यक्तिलाई निर्वाचित गराउनुभन्दा उपेन्द्र यादवलाई नै भोट दिने हामीले निक्र्यौल ग¥यौं’–चन्दनले अगाडि भने । तर, दोस्रोपटक निर्वाचित भएरसमेत जनभावना र चाहनाअनुसार उनले काम नगरेपछि जनता निराश भए । चुनाव नजित्ने चाल पाएपछि यादव सप्तरीबाट चुनाव लडेको उनको बुझाइ छ ।

सुनसरी ४ बाट उदाएका कार्की को हुन् ?

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका ज्ञानेन्द्रबहादुर कार्की २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाका रमेश श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कार्कीको जन्म २०१३ सालमा भोजपुरको साविक देउराली गाविस–४ गैरीगाउँ हाल षडानन्द नगरपालिका–११ मा भएको हो । कृष्णमोहन कार्कीका पाँच भाइ छोरामध्ये ज्ञानेन्द्र जेठा छोरा हुन् । प्रारम्भिक शिक्षा गाउँबाटै लिएका कार्कीले भोजपुर क्याम्पसबाट प्रमाण–पत्र तह अध्ययन गरेका थिए । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । आरआर क्याम्पसलगायतमा शिक्षणसमेत गरेका कार्की समानुपातिक तर्फबाट सांसद्हुँदै अर्थमन्त्रीसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी २६ वर्षकै उमेरमा २०३९ सालमा नेविसङ्घको केन्द्रीय सभापति भएका थिए । 

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले विश्वास गरेका पात्र हुन् कार्की । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रहेका उनी कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीकालमा स्वकीय सचिव भएका थिए । २०६३ सालमा जलस्रोत राज्यमन्त्री हुँदै जलस्रोत मन्त्री बनेका कार्की पछिल्लोपटक शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । २०५६ सालको संसदीय चुनाव र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भोजपुरबाट चुनाव लडेका कार्की दुवैपटक पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी प्रत्यक्षतर्फ चुनाव उठेनन्, समानुपातिकमा बसे ।

अर्थमन्त्री हुँदा भोजपुरबाट चुनाव लड्न सुनसरी झरेका कार्की नेकपाका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतले हराउँदै चुनाव जितेका हुन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा वराह नगरपालिका–६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् ।

यो निर्वाचन क्षेत्रमा जम्मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने गरेका नेता कार्कीले दिएका आश्वासन पूरा गर्ने जनताको विश्वास छ । शालीन स्वभावका कार्कीले निर्वाचन क्षेत्रका प्रत्येक वडा–वडामा पुग्दै जनताका समस्या बुझ्दै आएका छन् ।

आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकताअनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने कार्कीको भनाइ छ । ‘अरूले के के गरे वा गरेनन्, त्यो मेरो सरोकारको विषय होइन’ उनले भने, ‘सुनसरी क्षेत्र नम्बर ४ का जनताले मलाई विश्वास गर्नुभएको छ । म उहाँहरूको विश्वास कायम राख्दै काम गरिरहनेछु ।’ भोट दिएर निर्वाचित गराउने जनताका सुख–दुःखको भागीदार आफू भएको वचन व्यक्त गर्दै उनले भने, ‘सदा तपाईंहरूको सुख–दुःखमा भागीदार बन्नु मेरो दायित्व हो ।’ भोट दिएका वा न दिएका मात्र नभई सबै पक्षलाई समेटेर विकास कार्य गर्दै आएको नेता कार्कीको भनाइ छ ।