धरान । सत्तारुढ दल नेकपामा देखिएको विभाजनले नेपाली काङ्ग्रेस एकाएक निर्णायक शक्ति बन्न पुगेको छ । 

२०७४ मङ्सिर १४ मा सम्पन्न चुनावपछि झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गएको वैशाखदेखि सुरु भएको मतभिन्नता आजको अवस्थासम्म आइपुग्दा दुई समूहमा विभक्त भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस निर्णायक तहमा पुगेको हो ।

चुनावपछि हालका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाली काङ्ग्रेसले अब १५ वर्ष सरकारमा आउँछु भन्ने सपना नदेखे हुन्छ’ भन्ने अभिव्यक्ति दिएको तीन वर्ष पूरा नहुँदै काङ्ग्रेस निर्णायक शक्ति बनेको हो ।

तत्कालीन समयमा ओलीको अभिव्यक्तिलाई लिएर काङ्ग्रेस नेता कार्यकर्ता रुष्ट बनेका थिए । तर, आजको अवस्थामा नेपाली काङ्ग्रेस निर्णायक शक्ति बनेर उभिएको हो । यस्तो अवस्थामा काङ्ग्रेसकै सरकार बन्नसक्ने सम्भावना पनि अगाडि आएको छ ।  

‘नेकपा करिब करिब दुईवटा भएको छ । यस्तो अवस्थामा सरकार बनाउँदा नेपाली काङग्रेस निर्णायक हो, उसले जसलाई सपोर्ट गर्छ उसको सरकार बन्छ’ अग्रज पत्रकार हर्ष सुब्बा विश्लेषण गर्दै भन्छन् । अहिले नेकपाको दुईवटै समूह नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई रिझाउनमा व्यस्त छन् ।

दाहाल–नेपाल समूहले देउवालाई भेटेरै सहयोग गर्न आग्रह गरिरहेको अवस्था छ । यता काङ्ग्रेसले दुवै पक्षसँग गठबन्धन गर्ने सम्भावनालाई खुल्ला राखेको छ । सरकार बनाउने पक्षमा ओलीभन्दा पनि अहिले दाहाल–नेपाल पक्ष बढी खुलेर लागेका छन् किनकि दाहाल–नेपाल समूह संसद् पुनःस्र्थापनाको पक्ष आन्दोलित थिए ।

यता ओली भने संसद् पुनःस्थापना नगरी चुनावको पक्षमा थिए भने अहिले पनि त्यही लाइनमा छन् । ओलीको पहिलो सर्त आफ्नै सरकारलाई निरन्तरता दिनेछ भने आफू सरकारमा नरहे दाहाल–नेपाल पक्षलाई नदिई काङ्ग्रेसलाई प्रधानमन्त्री बनाउने पक्षमा छन् । यस्तो अवस्थामा काङ्ग्रेसले ओली पक्षलाई साथ दिएर जाने अवस्था पनि निकै जटिल रहेको विश्लेषकहरू बताउँछन् । 

‘नेपाली काङ्ग्रेस एउटै भए पनि भावनात्मक रूपमा दुईवटा छ । एउटा शेरबहादुर देउवा पक्ष र अर्को गिरिजाप्रसाद कोइराला पक्षका’ प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘शेरबहादुर पक्षले ओलीलाई सघाउने अवस्था भएमा अर्को पक्षले रोडक्रस गर्ने सम्भावना छ ।’

अविश्वासको प्रस्तावमा समर्थन गर्ने या तठस्थ बस्ने भन्ने अन्यौल काङ्ग्रेसमा जीवित रहे पनि प्रतिगमनको विरुद्धमा कृष्ण सिटौला, गगन थापाहरू लाग्ने अवस्था रहेको डा. शर्माको भनाइ छ । ओली समूह र दाहाल(नेपाल समूह दुवैले काङ्ग्रेसलाई साथमा लिएर जाने सङ्केत देखाएका कारण पनि काङ्ग्रेस महत्त्वपूर्ण शक्ति बनेको हो ।

हाल नेपाली काङ्ग्रेसको ६३ सांसद् छन् । यता मधेशवादी दलको पनि समर्थन लिन ओली र दाहाल–नेपाल समूह नै दौडाहामा छ । तर, नेपाली काङ्ग्रेसले समर्थन गरेको अवस्थामा मात्रै ओलीलाई हटाउने या राख्ने भन्ने निश्चित गर्नेछ ।

काङ्ग्रेस केन्द्रीय समितिको ज्येष्ठ सभाका केन्द्रीय सदस्य तथा अग्रज पत्रकार गिरिराज आचार्य भन्छन्, ‘संसद् पुनःस्र्थापना भएकाले कुन समूहलाई समर्थन गर्नेभन्दा पनि बीचको भूमिकामा नेपाली काङ्ग्रेस उभिनुपर्छ । हाम्रो लागि दुइटै बराबर हो ।’

उनले राष्ट्रिय रक्षाका लागि सत्तामा जानुपर्ने अवस्था आयो भने जानु पनि पर्ने र विपक्षमा बस्नुपर्ने अवस्था रहे विपक्षमा पनि बस्नुपर्ने बताए । नेपाली काङ्ग्रेस अहिले पर्ख र हेरको नीतिमा अगाडि बढेको छ ।

‘राष्ट्र जोगाउनु पर्ने अवस्था सिर्जना भयो भने मूकदर्शक बन्नुहुँदैन’ उनले भने । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेलगत्तै दाहाल–नेपाल समूह स्पष्ट रूपमा विभाजित बनेका थिए । 

दाहाल–नेपाल समूह सुरुदेखि नै संसद् पुनःस्थापना हुनुपर्छ भन्ने अडान राखेका कारणले पनि ऊ सरकार बनाउन तल्लिन छ । यता ओली समूह सरकार गठन नगरी संसद्लाई त्यसै लम्ब्याउँदै पुनः संसद् विघटन गरेर चुनावी मैदानका लागि अग्रसर हुनेछन् ।

लामो समय सरकार गठन हुने अवस्था सिर्जना नभएमा संविधानको धारा ७६ (७) प्रयोग गरेर संसद् विघटन गर्ने ध्याउन्नमा ओली सरकार रहेको डा. शर्माको तर्क छ ।