विजयपुर । सुनसरी जिल्लामा मोटरसाइकल तथा स्कुटर चोरीका घट्ना बढ्दै गएका छन् । तर प्रहरीले चोरी नियन्त्रण गर्न सकेको छैन ।
फागुन–१ गते इटहरी उपमहानगरको तरहराका देवराज थापाको प्रदेश नं. १–०२–प ०४३ प ५१४१ नम्बरको पल्सर मोटरसाइकल घरछेउमा पार्किङ गरी राखेको अवस्थामा दिनको दिउँसै चोरी भयो । चोरी भएको स्थान प्रहरी चौकीभन्दा १० मिटर मात्र टाढा थियो ।
त्यस्तै केही दिनअगाडि इटहरीकै विक्रम राईको मे ८ प ३४९५ नम्बरको मोटरसाइकलको चोरी भयो । केही दिनपछि दुहबीका असर्फि महतोको स. ५ प ४४७ नम्बरको स्प्लेन्डर मोटरसाइकल चोरी भयो । सुनसरी जिल्लामा फागुनमा चोरी भएका प्रतिनिधिमूलक घट्ना हुन् यी ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कअनुसार फागुन महिनाको १३ गतेसम्म मात्र सुनसरीमा ६ वटा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा निवेदन दर्ता भएका छन् । चालु आर्थिक वर्षको ८ महिनाका सुनसरीमा मोटरसाइकल र स्कुटर गरेर १ सय २ वटा चोरी भएको तथ्याङ्क छ ।

तर, प्रहरीले चोरी भएका १ सय २ वटामा अनुसन्धानबाट जम्मा ९ वटा मात्र मोटरसाइकल फेला पार्न सफल भएको छ । यसले पनि प्रहरीले चोरी भएका मोटरसाइकल अनुसन्धानबाट असफल भएको देखाउँछ । चोरीका भएका मोटरसाइकलको तथ्याङ्कलाई हेर्दा महिनामा औसत १३ मोटरसाइकल चोरी हुने गरेको छ ।
चोरी भएका १ सय २ मध्ये सबैभन्दा बढी मोटरसाइकल धरानबाट ५१ वटा चोरी भएका छन् । त्यसैगरी इटहरीमा ३१ मोटरसाइकल चोरी भएका छन् । अन्य दुहबी लगायत सुनसरीका विभिन्न स्थानबाट चोरी भएका छन् । चोरी भएका मोटरसाइकल फेला परेका ९ वटामध्ये धरानका ७ वटा छन् । इटहरी र दुहवीका एक एक वटा रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तथा स्कुटर चोरी हुनुमा धनी नै दोषी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी नरेन्द्र कार्की दाबी गर्छन् । ‘साधन धनी जहाँ पुग्छ त्यही स्थानमा पार्किङ गर्छ जसले गर्दा प्रहरी रेखदेख गर्न सक्दैन’ उनले भने ।
उनले यातायातका साधनको चाबी कमजोर हुनु र प्रविधिको विकासका कारणले पनि चोरी बढेको बताए । खुला नाका, धेरै वर्कसप हुनु र चोरी भएका साधन सडकमा ननिकालिने चलनले चोरी भएका साधन प्रहरीले सहजै पत्ता लगाउन नसकेको उनी बताउँछन् । उनले भने, ‘साधन चोरी गरेर धेरैले कुदाउँदैन, साधनका पार्टपुर्जा मात्र प्रयोग गर्छन्, कसरी फेला पार्नु ?’