धरान। भारतले अदुवा निर्यात खुलै गरे पनि नेपाली अदुवाको मूल्य गतवर्षको तुलनामा अत्यधिक कम भएपछि निर्यात ठप्प जस्तै भएको छ । नेपाली अदुवाको मूल्य भारतीय बजारमा निर्भर हुँदा निर्यात हुन नसकेको हो ।

विष्णुपादुकास्थित सानो खैरेनीका पदम राईका अनुसार गतवर्ष थोकमूल्यमा प्रतिकिलो १ सय २० रुपैयाँको दरले बिक्री गरेका थिए । तर, यो वर्ष २५ रुपैयाँका दरले बिक्री गर्नुपर्दा करिब ७ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको राईले बताए ।

उनले भने, ‘गतवर्षकै मूल्य सम्झेर अदुवाको व्यावसायिक खेती गरेको थिएँ । ४० मन अदुवा करिब ३ बिघामा रोपेको थिएँ । अदुवा उत्पादन त भयो । तर, मूल्य भने नपाएपछि घाटा व्यहोर्नु प¥यो ।’ उनले गतवर्ष अदुवा बिक्री गरेर ७ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

राई जस्तै झापा, सुनसरी, मोरङ, उदयपुर, खोटाङ, पाँचथर, तेह्रथुम, इलाम, सिन्धुलीका हजारौं व्यावसायिक किसानले यसपालि अदुवा खेतीबाट ठूलो घाटा व्यहोर्नु परेको छ । गतवर्ष मात्र नेपालको पूर्वीक्षेत्रबाट करिब १ अर्ब ३२ करोड रुपैयाँको अदुवा भारतीय बजारमा निर्यात भएको थियो । तर, यसपालि भारतमै बढी उत्पादन भएको वा कोरोना महामारीका कारण ढुवानी समस्याले नेपाली अदुवाको माग नभएपछि मूल्यमा ह्रास आएको हुनसक्ने बताइएको छ ।

धरान–१३ स्थित कृषिउपज बजार व्यवस्थापन समितिका अनुसार मूल्य घटाइएपछि निर्यात पनि हुन सकेको छैन । बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘तीन वर्षअघि भारतसरकारले क्वारेण्टाइनको बहाना निकालेर नेपाली अदुवा निर्यातमा रोक लगाएको भन्दा बढी घाटा यसपालि किसानहरूले व्यहोर्नु परेको छ ।’

उनले भारतीय बजारको विकल्पमा नेपाली अदुवाको बजार, मार्केटिङ, प्रशोधन केन्द्र, ब्राण्डिङ, लेवलिङ गरेर क्याण्डी, सुठो, सुगन्धित तेल उत्पादन गर्ने व्यवस्था नगर्दा यो वर्ष ठूलो आर्थिक घाटा व्यहोर्नु परेको बताए । फागुन दोस्रो सातासम्ममा ५ हजार ४ सय मेट्रिक टन मात्र अदुवाको कारोबार भएको उनले बताए ।

गतवर्षको उत्पादन र मूल्यको आधारमा यो आर्थिक वर्षमा  करिब ११ हजार मेट्रिक टन अदुवा निर्यात हुने अनुमान गरिएको थियो । तर, अनुमान विपरीत भएपछि मुस्किलले ६ हजार मेट्रिक टनको मात्र कारोबार हुने सङ्केत देखिएको भट्टराईले बताए । आर्थिक वर्ष ०७५/७६ मा कृषिउपज बजारमा ८ हजार ५ सय ४२ मेट्रिक टन कारोबार भएको थियो ।

त्यसबेला मूल्य ८० रूपैयाँ कायम रहेको थियो । आर्थिक वर्ष ०७६/७७ मूल्य बढेर प्रतिकेजी १ सय २० पुग्दा कारोबार बढेर १० हजार ५ सय ८९ मेट्रिक टन अदुवाको कारोबार हुदा कृषक हौसिएका थिए । उनले भने, ‘नेपाली अदुवा भारतमा निर्यात हुन नसक्दा यतिबेला गाउँमा कृषकको बारीमा अदुवा कुहिने अवस्था छ । कसले बुझ्ने उनीहरूको पीडा ?’