विजयपुर। सुनचाँदीको गुणस्तरीयता (शुद्धता) मापन गर्ने उपकरण ‘टच मेसिन’ बाट श्रमिकदेखि उपभोक्तासम्म ठगिँदै आएको तथ्य खुलेको छ ।

धरानमा सुनचाँदी व्यवसायीले राखेका हालसम्मका टच मेसिनबाट फरक–फरक परिणाम देखाउने गरेको छ । धरानमा सात वर्षअघि व्यापारिक संस्था वराह ग्रुपले टच मेसिन प्रयोगमा ल्याउँदै आएको छ भने हालसालै अन्य व्यवसायीले पनि टच मेसिन प्रयोगमा ल्याएका छन् । तर, ती टच मेसिनमा सुनको शुद्धता मापन गर्दा फरक–फरक परिणाम आउने गरेको छ । जसका कारण भरपर्दो र विश्वासिलो कुन हो भन्नेमा श्रमिकदेखि सेवाग्राही दुविधामा परेका छन् ।

कतिपय व्यवसायी नै झुक्किँदै आएका छन् । व्यवसायीहरूले नै सुनचाँदीको शुद्धता मापन गर्ने उपकरणमाथि  विश्वसनीयताको प्रश्न उठाउँदै आएको बताएका छन् । नाम नखुलाउने शर्तमा एक व्यवसायीले भने, ‘कम मूल्यमा खरिद गरिएका गुणस्तरहीन उपकरणले सुनचाँदीको शुद्धता राम्ररी देखाउन सक्दैनन् ।’ उनले गुणस्तरीय उपकरण नभएकाले नै शुद्धता फरक–फरक देखाउने गरेको बताए । 

बजारमा सुनचाँदीको शुद्धता मापन गर्ने विभिन्न ब्राण्ड र कम्पनीका डिजिटल मेसिन डेढलाख रुपैयाँदेखि ६० लाख रुपैयाँसम्मका पाइन्छन् । ती मेसिनले सुनचाँदीमा अरू केके धातुहरू कति कति प्रतिशत मिश्रण भएका छन् भनेर देखाउने गरेका छन् ।

तर, धरान लगायत पूर्वका विभिन्न सहरी क्षेत्रका सुनचादी व्यवसायीहरूले छिटफुटरूपमा प्रयोगमा ल्याएका यस्ता मेसिनको विश्वसनीयता अझै स्थापित हुन नसक्दा उपभोक्तामात्र नठगिएर स्वयम् व्यवसायीहरू नै ठगिएका छन् । धरान–२ स्थित रत्नरोडका एक सुनचाँदी व्यवसायीले फागुन १८ गते एक टुक्रा सुनलाई २ वटा टुक्रा पारेर फरक–फरक मेसिनमा परीक्षण गर्दा सुनको शुद्धताको नतिजा पनि फरक–फरक देखिएको थियो । 

एउटै गुणस्तर भएको सुनलार्ई धरान–२ स्थित रत्नरोडका विश्वजित मान्नाले बूढासुब्बा डाइस कटिङ सेण्टरले प्रयोगमा ल्याएको ‘टच मेसिन’ मा र पुरानो बजारस्थित गीता मन्दिर नजिकका अक्षय मिसालले प्रयोगमा ल्याएको ‘टच मेसिन’ मा मापन गरिएको थियो । मान्ना र मिसालले प्रयोगमा ल्याएको टच मेसिनले एउटै सुनको फरक–फरक शुद्धताको नतिजा देखाएपछि त्यस्ता मेसिन भरपर्दो नरहेको सुनचाँदी व्यवसायीहरूले बताए ।

एउटै सुनको टुक्रा २ वटा उपकरणमा परीक्षण गर्दा शुद्धताको मात्रामा १ प्रतिशत फरक देखिएको थियो । विश्वजित मान्नाको मेसिनले ४६ दशमलव ४७ प्रतिशत सुनको मात्रा देखाएको थियो भने विजय मिसालको मेसिनले ४७ दशमलव ४६ प्रतिशत सुनको मात्रा देखाएको थियो ।

विश्वजित मान्नाले प्रयोगमा ल्याएको मेसिनले उक्त सुनको टुक्रामा चाँदीको मात्रा ४१ दशमलव ९० प्रतिशत, तामाको मात्रा ९ दशमलव २११ र जस्ता (जिङ्क) को मात्रा २  दशमलव ४१० प्रतिशत मिश्रण भएको देखाएको थियो । सोही सुनको टुक्रालाई अक्षय मिसालले प्रयोगमा ल्याएको मेसिनले भने चाँदीको मात्रा ४२ दशमलव ४२ प्रतिशत, तामाको ९ दशमलव ६९३, जस्ता (जिङ्क) को मात्रा शून्य दशमलव ४३१ प्रतिशत मिश्रण भएको देखाएको थियो । 

उक्त दुई मेसिनमा यसअघि अर्का सुनचाँदी व्यवसायीले गरेको परीक्षणमा पनि फरक फरक नतिजा आएको थियो । नाम नखुलाउने शर्तमा एक व्यवसायीले भने, ‘विश्वजित मान्नाको उपकरणमा एउटै सुन २ पटक परीक्षण गर्दा २ प्रतिशत फरक आएको थियो । पहिलो पटक मापन गर्दा ५९ प्रतिशत शुद्धता देखायो । त्यही सुन दोस्रो पटक मापन गर्दा ५७ प्रतिशतमात्र शुद्धता देखायो । यस्तो पनि हुन्छ कतै ?’ कतिपय उपभोक्ताले त्यस्ता मेसिनमा शुद्धता मापन गरेपछि सुनचाँदी खरिद गर्ने र केही समयपछि फेरि बिक्री गर्दा शुद्धतामा फरक देखाउँदा सोही अनुसारको मूल्य पाउने भएकाले उपभोक्ताहरू पनि ठगिने गरेका छन् ।

मेसिन सञ्चालक र प्रयोगमा ल्याउने विश्वजित मान्नाले नेपालभरि यसरी नै सञ्चालन गरेकाले आफूले पनि सञ्चालन गरेको बताए । उनले मेसिनमा शून्य दशमलव ३० प्रतिशतदेखि शून्य दशमलव ५० प्रतिशतसम्म फरक आउन सक्ने बताए । मान्नाले उनले सञ्चालन गरेको र विजय मिसालले सञ्चालन गरेको मेसिनबाट परीक्षण गर्दा शून्य दशमलव ९९ प्रतिशत फरक देखिएकोले कुन गुणस्तर मान्ने भन्ने जिज्ञासा राख्दा उनले आफूहरू नै अन्योलमा रहेको स्वीकारे ।

यस विषयमा विजय मसालले आफ्नो उपकरणमा परीक्षण गरेको जिम्मा लिने र अरूको बारे आफूलाई जानकारी नहुने बताए । नेपाल सुनचाँदी व्यवसायी सङ्घ धरानका अध्यक्ष राजेश अग्रवालले सङ्घको समन्वयमा ती मेसिनहरू ल्याइएको बताए । उनले सुनको शुद्धता मापन गर्दा फरक–फरक शुद्धता आएको बारे आफूलाई जानकारी नभएको बताए । शुद्धताको फरक–फरक मात्रा आएको बारे उनले तत्काल समन्वय गरेर छलफल गर्ने बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले समस्याबारे बुझ्ने र भेटिएमा कारबाही अगाडि बढाउने बताए । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंका महानिर्देशक विश्वबाबु पुडासैनीले सुनचाँदीको शुद्धता मापन मेसिनबारे स्पष्ट कानून नभएको बताए । उनले भने, ‘स्पष्ट कानून नभए पनि व्यक्तिगत प्रयोजनका लागि राख्न सकिने तर, उपभोक्ता, व्यवसायी वा कसैको प्रयोग गर्न मिल्दैन ।

गुणस्तर मापन गर्ने साधनमा कानूनी बन्देज छैन र सरकारी मान्यता पनि छैन ।’ उनले कानूनी मान्यताका लागि सरकारले ‘हल मार्किङ’ गर्न सक्ने बताए । पुडासैनीले भने, ‘उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही हुन्छ ।’ जिल्ला प्रशासन कार्यालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही गर्न सक्छ ।’  जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नापतौल विभाग र सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गर्ने बताए । उनले भने, ‘समस्याबारे बुझ्न प्राविधिकसहित समूह लिएर आउँछौँ, समस्या भेटे तत्काल कारबाही गर्छौं ।’