विराटनगर । विराटनगर– ११ स्थित नयाँ सब्जी, फलफूल तथा गुद्री बजारमा एनएमबी बैंकले ‘क्युआर कोड’ सेवा सुचारू गरेको छ ।
देशका धेरै शहरका सब्जी मण्डिमा क्युआर कोड सेवा सुरु गरिसकेको एनएमबीले विराटनगरमा शुक्रबारदेखि उक्त सेवा सुरू गरेको हो ।
क्यूआर कोड सेवाको शुभराम्भ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । उनले एनएमबीको क्युआर कोड सेवा सब्जी, फलफूट तथा गुद्री बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले विद्युतिय माध्यपको प्रयोगले सुशासन कायममा ठूलो सहयोग पुग्ने बताए । डिजिटल माध्यमको सहयोगले पारदर्शितामा सहज पुग्ने उनले बताए । व्यापारीसँगै सेवाग्राहीलाई नगदरहित कारोबारमा बानि पार्नसक्दा पारदर्शितासँगै नोट छपाईमा राज्यको ढुकुटी खर्च गर्नुनपर्ने उनको भनाई छ ।
‘क्यासलेस गर्न नसकिएपनि लेस क्यास गर्न सकिन्छ’ गभर्नर अधिकारीले भने, ‘देशभरका तरकारी बजारमा यो सुविधा चालु आर्थिक वर्ष भित्र पु¥याउने लक्ष्य राखिएको छ ।’
क्युआर भुक्तानी गर्दा विदेशमा कुनैपनि पैसा नजाने अर्थात् भिसा र मास्टरकार्डको प्रयोग गर्दा विदेश जाने रकम देशभित्रै सुरक्षित गर्न सकिने भएकोले सबैले सचेततापूर्वक क्युआर कोडको सेवा विस्तार र सुविधा उपयोग गर्नुपर्ने सुझाव गभर्नर खतिवडाको छ ।
एनएमबी बैंकले विराटनगरको गुद्री बजारमा क्युआर कोड सेवा विस्तार गरेसँगै सब्जी, फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिले इन्टरनेटको प्रवन्धका लागि समेत सहकार्य गरिदिन माग गरेको छ । समितिका सचिव अहमद गुडुले सेवा प्रभावकारी नभएको अवस्थामा व्यापारी र सेवाग्राहीले झन्झट मान्ने भएकोले आवश्यक इन्टरनेटको प्रवन्ध समेत बैंकले नै गरिदिनुपर्ने माग गरे ।
यो सेवा शुभारम्भ भएसँगै विराटनगरको गुद्री बजारमा पुग्ने सेवाग्राहीले डिजिटल रकम भुक्तानी गरेर तरकारी खरिद गर्नसक्नेछन् । एनएमबी बैंक विराटनगर शाखाका प्रमुख प्रकाश घिमिरेले नगदरहित कारोबारतर्फ नागरिकलाई आकर्षित गराउने र डिजिटल नेपाल स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकको नीति अनुरुप एनएमबी बैंकले सेवा सुरु गरेको बताए ।
बैंकका कार्यकारी अधिकृत सुनिल केसीले देशभरीका १ सय ८० शाखाहरूमा डिजिटल अभियान सुरू भएको जानकारी दिए ।
शुक्रबार नै बैंकले साना तथा मझौला उद्यमी लक्षित ऋण प्रवाह अन्तर्गत महिला उद्यमी सन्तोषी भगतलाई वार्षिक ३.४ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा समेत उपलब्ध गराएको घिमिरेले जानकारी दिए ।
नगद कारोबार गर्दा पर्ने असजिलाहरुलाई क्युआर कोडले सहज बनाउने भएकोले सबै व्यापारी तथा सेवाग्राहीले लाभ लिनसक्ने गरि बैंकले नै सेवा प्रयोगको विषयमा तालिम आयोजना गर्ने भएको छ ।
क्युआर कोडबाट कारोबार गर्दा समयको बचत, नगद हराउने तथा लेनदेनमा हुने समस्याको अन्त्य हुने भएकोले तरकारी बजार भित्रका सबै व्यापारीलाई सेवा कार्यन्वयनमा ल्याउन लगाउने व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले जानकारी दिए । अधिक खुद्रा कारोबार हुने क्षेत्र भएकोले सिधैं बैंकमा रकम जम्मा हुँदा व्यापारीले समेत आर्थिक प्रणालीको झन्झट बेहोर्नु नपर्ने अध्यक्ष भगतको भनाई थियो ।
तीन बिघा क्षेत्रफलमा फैलिएको विराटनगर–११ को नयाँ गुद्री बजारमा तरकारीका २४ र फलफूलका १३ थोक बिक्रेता छन् । यहाँ खुद्रा व्यापारको लागि स्टल लिनेको संख्या ७० भएपनि त्यसमा व्यापार गर्नेको संख्या ५०० को हाराहारीमा रहेको व्यवस्थापन समितिका सचिव गुडुले जानकारी दिए । बजार विस्तारका लागि निर्माणको काम भईरहेकोले पूर्ण क्षमतामा सञ्चालनमा आउँदा २०० सय स्टलबाट तरकारीको थोक तथा खुद्रा कारोबार हुनेछ ।