शरद ऋतुको एउटा व्यस्त बिहानी । उत्तरी लण्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । ‘यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्’ –स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो ।

उनीहरूको मातृभाषामा क्रोएसियन, हिब्रु, कोरियन र डच पर्छन् । बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँः भाषा सानो छँदै सिक्नु नै उत्तम हो । तर, विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरि सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ ।

यसले ढिलो भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ । जीवनको फरक–फरक समयमा भाषा सिक्नुका भिन्न–भिन्न फाइदाहरू छन् ।

शिशुका रूपमा हामी फरक स्वरहरू सुन्न सक्छौं; त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लवज चकित पार्ने गतिमा सिक्न सक्छौँ । वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्वपूर्ण क्षमता हुन्छ, जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर्छ र उमेरबाहेक सामाजिक परिवेश, पढाउने तरिका एवम् प्रेम र मित्रता जस्ता कुराले पनि हामी कतिवटा भाषा कति राम्ररी बोल्न सक्छौँ भन्ने विषयलाई असर गर्न सक्छ ।

युनिभर्सिटी अफ एडिनबराकी बहुभाषासम्बन्धी केन्द्रकी निर्देशक एण्टोनेल्ला सोराचेले उमेरसँगै सबैकुरा ओरालो नलाग्ने बताइन् । उनले ‘व्याख्यासहितको स्पष्ट सिकाइ’ को उदाहरण दिइन्, जसमा कक्षाकोठामा शिक्षकले नियमसहित भाषा सिकाउँछन् ।

यस्तो सिकाइका लागि बालबालिकाभन्दा वयस्कहरू धेरै उत्तम हुन्छन् । इजरायलमा भएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले वयस्कहरूले कृत्रिम भाषाको नियम बुझेर त्यसलाई नयाँ शब्दहरूमा प्रयोग गर्नसक्ने पत्ता लगाए ।

स्पेनका दुईवटा भाषा सिकिरहेकाहरू २ हजार जनासँग गरिएको एउटा अध्ययनमा पनि कम उमेरका भन्दा उमेर पुगेका मानिसहरूले छिट्टै भाषा सिक्न सकेको देखायो । हामी प्राकृतिक रूपमै भाषा सिक्न सुरु गर्छौं । बाल्यावस्थामा हामीले विश्वका भाषाहरूमा हुने ६ सय व्यञ्जन र दुई सयवटा वर्ण सुन्न सक्छौँ ।

पहिलो वर्षभित्र हाम्रो दिमाग धेरै सुनिरहेको स्वरहरूमा पोख्त हुन थाल्छ । नवजात शिशु त आमाको कोखमा हुँदा सुनेकै लवजको नक्कल गरेर रुन थाल्छ । सोराचे भन्छिन्, ‘आफ्नै भाषा टिप्नका लागि बाल्यावस्था निकै महत्वपूर्ण हुन्छ ।’

एक्लिएका वा अनाथ बालबालिकामा गरिएको अध्ययनले समयमै भाषा नसिकेको अवस्थामा पछि त्यसलाई सजिलै टिप्न नसक्ने देखाएको छ । तर, आश्चर्य के छ भने विदेशी भाषा सिक्नका लागि भने त्यो नियम लागू हुँदैन ।

युनिभर्सिटी अफ योर्ककी मनोभाषाविद् ड्यानिएला ट्रेनकिकले नयाँ देश सर्न लागेको एउटा परिवारको उदाहरण दिइन् । बालबालिकाहरूले अभिभावकको दाँजोमा धेरै छिटो भाषा सिक्छन् ।

नयाँ भाषा सिक्नका लागि बालबालिकाले हतारो महसुस गर्छन् । साथी बनाउने र उनीहरूसँग घुलमिल हुने जस्ता सामाजिक कारणले उनीहरूले भाषा सिक्नु निकै महŒवपूर्ण हो भन्ने बुझ्छन् ।

उनीहरूका आमाबुबा भने आफूलाई बुझ्ने आफूहरूजस्तै आप्रवासीसँग घुलमिल हुने सम्भावना बढी हुन्छ । सन् २०१३ मा इटलीको भाषा सिकिरहेका ब्रिटिश वयस्कहरूसँग गरिएको अध्ययनमा भाषा सिक्न समस्या भएकाहरूलाई शिक्षक र अन्य विद्यार्थीसँग मिलाएर मद्दत गरिएको थियो । ‘सामाजिक उत्प्रेरणा भएन भने टिक्नै मुस्किल हुन्छ, भाषा सिक्नका लागि वर्षौं बिताउनु पर्छ ।’

यो वर्षको सुरुमा एमआइटीमा अनलाइन प्रश्नोत्तरमा आधारित भएर झण्डै ६ लाख ७० हजार मानिसहरूमा गरिएको एउटा अध्ययनमा स्थानीय मानिसको जस्तै अङ्ग्रेजी व्याकरणको ज्ञान हासिल गर्न १० वर्ष हुँदा सुरु गर्नु निकै उत्तम हुने पाइएको थियो ।

तर, उक्त अध्ययनले हामी आफ्नै भाषामा पनि राम्रो हुँदै जाने देखाएको थियो । उदाहरणका लागि हामी आफ्नो भाषामा पनि व्याकरणमा पारङ्गत ३० वर्षभित्र मात्रै हुन सक्छौँ । एउटा छुट्टै अनलाइन अध्ययनले भने रैथाने मानिसहरूले पनि आफ्नो आधा उमेर नपुग्दासम्म प्रत्येक दिन नयाँ शब्द सिक्ने देखाएको थियो ।

भाषा किन पढ्ने ?

‘मानिसहरूले कहिलेकाहीँ सोध्छन्, विदेशी भाषा सिक्नुको ठूलो फाइदा के छ ?’ ट्रेनकिक भन्छिन्, ‘के मैले थप पैसा कमाउँछु ? म थप बाठो हुन्छु ? म स्वस्थ रहन्छु ?’

‘तर, खासमा विदेशी भाषा जान्नुको सबैभन्दा ठूलो फाइदा भनेको धेरै मानिससँग संवाद गर्न सक्नु हो’ –उनी भन्छिन् । स्पेनिस नर्सरीकी निर्देशक आफैले पनि दोस्रो भाषा ढिला सिक्न थालेकी हुन् । रामप्रेसाद रोमानियाँमा हुर्किइन् र उनले अङ्ग्रेजीमा पकड जमाउन थालेकी २० वर्षको उमेरपछि मात्रै हो ।